भरतपुर, १ भदौ
चितवनका सडकमा गुड्ने यात्रुवाहक सवारीसाधनलाई सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका निषेधाज्ञा जारी भएका क्षेत्रमा सबैखाले सवारीसाधन सञ्चालन गर्न पूर्णरूपमा निषेध गरेपछि चेकजाँचलाई कडाइ गरिएको हो ।
सोमबार एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा भएको ठाउँमा बिहान बेलुका खाद्य सामग्री किन्नैपर्ने भए सवारीसाधनको प्रयोग नगरी हिँडेर मात्रै जान भनेको छ । सोहीअनुसार सडकमा गुडेका सवारीसाधनलाई सञ्चालन नगर्न अनुरोध गर्दै नियन्त्रणमा लिन थालेको छ ।
गैंडाकोटबाट नारायणगढ आउने सवारीसाधनलाई सुरक्षाकर्मीले पुल्चोकमा चेकजाँच गरेका छन् । कामविशेषको प्रमाण पु¥याउन नसक्ने सवारीलाई सुरक्षाकर्मीले गैंडाकोटतर्फै फर्काइएका छन् । नारायणगढको शहीददचोक, लायन्स चोक, क्याम्पस गेट, चौबिसकोठी, हाकिमचोक तथा भित्री सडकमा पनि चेकजाँचलाई निरन्तरता दिइएको छ ।
अस्पताल आएका बिरामी कुरुवालाई चौबीसकोठीमा रोकेर साइकल र मोटरसाइकल पार्किङ गर्न लगाइ सुरक्षाकर्मीले हिँडेर अस्पताल जान आग्रह गरेका छन् । चनौली बजारबाट बिरामीलाई खाना लिएर आएका एकजना अभिभावकले प्रशासनले ठाडो नियम लाद्न खोजेको तर व्यवहारिक हुन नजानेको दुखेसो पोखे । हावा खान सडकमा निस्कने र अत्यावश्यक कामले हिँडेकालाई एकै प्रकारको कार्वाही गर्न नहुने उनले बताए ।
प्रशासनले अत्यावश्यक खाद्य सामग्री तथा तरकारी खरिद गर्नको लागि बिहान र साँझ ५ देखि ८ बजेसम्म पैदल हिँडडुल गर्न पाउने व्यवस्था गरेको छ । खाद्यान्न किन्ने बहानामा अनावश्यक सवारीसाधन चलाउने क्रम बढेपछि प्रशासनले यसोमबार सूचना निकालेर सवारी साधनलाई नियन्त्रणमा लिन निर्देशन दिएको हो ।
आगामी भदौ ५ गते शुक्रबारसम्म चितवनका माडीबाहेक सबै पालिकामा निषेधाज्ञा जारी गरेको छ ।