२३ असार ।
भरतपुर महानगरपालिका–१९को मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज हुने भएको छ ।
मतपत्र च्यातिएपछि पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले च्यातिएका मतपत्रको पोको मगाएको थियो । सोही बमोजिम असार १३ गते सर्वाेच्चमा च्यातिएको मतपत्रसहित सबै कागज बुझाएपछि यस मुद्दाको सुनुवाइ आजलाइ तोकिएको थियो।
मालेको तर्फबाट भरतपुर वडा नम्बर १९ का खुला सदस्य उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणना सुरु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए । त्यसपछि आयोगले मतगणनास्थल अनाधिकृत कब्जा भएको भन्दै स्थानीय तह निर्वाचन ऐनअनुसार सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।