विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२३असार ।
प्रशासनले निर्माणाधीन नारायणगढ–मुग्लिङ सडक खण्डमा राति सवारी सञ्चालनमा रोक लगाएको छ । व्यवस्थापिका संसद् विकास समितिले स्थलगत निरीक्षण गरेपछि पहिरोको उच्च जोखिम रहेकाले राति सवारी सञ्चालनमा रोक लगाउन निर्देशन दिएको थियो ।
भरतपुरमा बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकले असार २५ गतेदेखि सो सडकखण्डमा राति सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दासढुंगाबाट साँझ ६ बजे र मुग्लिङबाट राति ७ बजे सवारी प्रवेशमा रोक लगाइने जानकारी दिए । अत्याावश्यक सवारीसमेत राति सञ्चालन गर्न नसकिने बताए । “वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्नेछौँ”, उनले भने, “वर्षाभरि राति सवारी बन्द गर्नेछौँ, हामी सुरक्षित यात्रा गराउन प्रतिबद्ध छौँ ।” बिहान ४ बजेपछि मात्रै सो सडक हुँदै सवारी चल्न पाउने छन् ।
“निर्माणाधीन सडकखण्डको २९ ठाउँ पहिरोको उच्च जोखिममा छन्”, उनले भने, “लगातार पानी पर्न थालेको छ, पहिरो कतिबेला झर्छ थाहै छैन, त्यसैले सवारी सञ्चालनमा रोक लगाएका छौँ ।” उनले सो सडकखण्डमा अनावश्यक सवारी रोक्ने चालकलाई कडा कारबाही गरिने जानकारी दिए । “खाना खाने वा आराम गर्ने बहानामा सवारी लाइनमा राखेर बस्ने वा ओभरटेक गर्ने चालकलाई जरिवाना होइन थुनामै राख्छौँ”, उनले भने, “लाइफलाइन बाटो हो, अनावश्यक सवारी रोक्दा लामो जाममा पर्ने गरेका छन् ।”
विश्व बैंकको २ अर्ब ८८ करोड ७० लाख आर्थिक सहयोगमा दुई वर्ष अघिदेखि निर्माण सुरु भएको हो । भूकम्प, नाकाबन्दी र निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माण सुस्त गतिमा छ । आँपटारीदेखि दासढुंगासम्म करिब १४ किमि सडक निर्माणको काम बीएलए एससीसी जेभीले, दासढुंगादेखि सिमलतालसम्म करिब ११ किमि सडकको निर्माण उडहिल लामा जेभीले र सिमलतालदेखि मुग्लिङसम्मको करिब १२ किमि सडकको निर्माण सुप्रिम जेभीले गरेका छन् ।
सो सडक खण्डमा रहेका ४४ घरलाई तत्काल स्थानान्तरण गर्न जग्गा खोजी कार्य गरिने भएको छ । “पहिरोको उच्च जोखिममा रहेका ४४ घरलाई एक हप्ताभित्रै अस्थायीरुपमा स्थानान्तरण गरिने छ”, उनले भने, “इच्छाकामना गाउँपालिका, भरतपुर महानगरपालिका १ र २९ वडाका जनप्रतिनिधिसँग समन्वय गरी सडक आयोजनाले उपयुक्त योजना बनाउने छ, पछि मुआब्जा दिएर स्थाई रुपमै स्थानान्तरण गरिने छ ।” ४ किलोदेखि मुग्लिङसम्म पहिरोको उच्च जोखिम रहेको छ । मौवाखोलादेखि आँपटारीसम्म जग्गा खोजेर अस्थायी पार्किङको व्यवस्था मिलाइने जनाइएको छ । सवारी जाम गर्न अस्थायी पार्किङ स्थलको खोजी भइरहेको उनले बताए ।
सो सडकखण्डको अवस्थाबारे यात्रुलाई जानकारी गराउन तत्काल सूचना प्रणालीको व्यवस्थापन गर्न आयोजनाका पदाधिकारीलाई प्रमुख जिल्ला अधिकारीले निर्देशन दिए । “पहिरोको अवस्था के छ, सडक अवस्था के छ सबै सूचना सर्वसाधारणलाई दिने गरी तत्काल काम बढाउनुस्”, उनले भने, “जिल्ला आपतकालीन सञ्चालन केन्द्रसँग समन्वय गरी सूचना प्रवाह गर्नुस् ।”
सर्वपक्षीय बैठकले सो सडकखण्डमा रहेका खाल्डाखुल्डी तत्काल मर्मत गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । “राति सहज भएका जोखिमरहित ठाउँमा निर्माण काम पनि गर्नुस्”, उनले भने, “हाल देखिएका खाल्डाखुल्डी तत्काल मर्मत नभए कारबाही प्रक्रिया थालिने छ ।” उनले सडक विस्तारका क्रममा अवरोध गरेका अत्यावश्यकीय पूर्वाधार वन, विद्युत् तथा खानेपानी कार्यालयलाई निर्देशन गरेर सारिने बताए । निर्माण सामग्रीको अभाव हुन नदिन अनुगमन समितिको बैठकले आवश्यक निर्णय गरेर तत्काल सहजरुपमा निर्माण सामग्री आपूर्ति गर्ने व्यवस्था मिलाइने बताए ।
नारायणगढ–मुग्लिङ सडक आयोजनका सीडीई गोविन्दप्रसाद खनालले राति सवारी बन्द गरेर मर्मत तथा निर्माणको काम थालनी गर्न सहयोग पुग्ने बताए । उनले सडक विभाग वैदेशिक विभागलाई प्राप्त विकास समितिको निर्देशनअनुसार सडकको ईष्टिमेट, डिजाइनमा भविष्यमा सडकको सुरक्षाका लागि गर्न सकिने कामबारेको प्रतिवेदन तयारको काम शुक्रबारबाट सुरु हुने बताए । आयोजनका आवसीय ईञ्जिनियर पुष्कर रेग्मीले राति मर्मत गर्ने काम गर्न सकिए पनि पर्याप्त उज्यालोविना निर्माणको काम कठिन हुने बताए । उनले लगातार पानी पर्दा सडक निर्माणको काम सहज नहुने बताए ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले प्रहरीको ३ टोली परिचालन गरिने बताए । “जाम खुलाउन तथा उद्धार गर्न प्रहरीको ३ टोली परिचालन हुनेछन्”, उनले भने, “जुगेडी, सिमलताल र मुग्लिङमा ट्राफिक र प्रहरी ३२ जना थप गरिएको छ ।” तत्काल उद्धार तथा सडक अवस्था बुझ्न खटिएको प्रत्येक टोलीले ७ किमि सडकमा परिचालन हुने जानकारी दिए ।
रासत सवारी सञ्चालन गरेपनि सडक निर्माणको काम गर्न नसकिने निर्माण व्यवसायी बताउँछन् । कन्ट्र्याक्ट म्यानेजर रवीन्द्र श्रेष्ठले लगातार पानी पर्दा राति काम गर्न नसकिने बताउँछन् । “सुरक्षाको दृष्टिले राति सवारी रोकिनु राम्रो हो”, उनले भने, “लगातार पानी पर्दा राति निर्माण काम सम्भव छैन, मर्मत गर्ने काम भने रोक्दैनौँ ।” अर्का निर्माण व्यवसायी प्रभु जोशीले लगातार पानी पर्दा कालोपत्रे गर्ने काम गर्न नसकिने बताए । “२ घण्टामात्रै पानी प¥यो भने कुनै काम गर्न सकिदैन”, उनले भने, “बनेका बेस, सवबेस समेत पहिरोले बिग्रन पुगेका छन्, मर्मतमै ध्यान दिनुपरेको छ ।”
अर्का निर्माण व्यवसायी रञ्जन चौधरी निर्माणाधीन सडकमा हेभी लोडसहितका सवारी चल्दा सडक बिग्रिन पुगेको बताउँछन् । सडकको पहिरो हटाउन निर्माण व्यवसायीले पर्याप्त मेसिन तयारी अवस्थामा राखेको बताउँछन् । सडक निर्माणको काम करिब तीन महिना गर्न नसकिने उनीहरुको भनाइ छ ।
mmmmmmmmmmmmmmm
महिला आत्मनिर्भरता बनाउन सहकारी
धु्रवराज खनाल÷कायाकैरन
रत्ननगर÷महिलालाई आत्मनिर्भर बनाउन रत्ननगर–१, बकुलहरस्थित उज्ज्वल महिला विकास बचत तथा ऋण सहकारी संस्थाले ठूलो रकम ऋण लगानी गरेको छ । २०५८ सालमा स्थापना भएको सो संस्थाले अहिलेसम्म २ करोड २५ लाख रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।
रत्ननगर नगरपालिकाका निर्वाचित जनप्रतिनिधीसँगको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा संस्थाकी अध्यक्ष ऋतु गिरीले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सो रकम ऋणका रुपमा लगानी गरेको बताइन् । “महिलालाई सीप प्रदान गरेर आत्मनिर्भर बनाउँदै व्यवसायिक बनाउने संस्थाको लक्ष्य हो”, अध्यक्ष गिरीले भनिन्, “यसबाट प्रतिफल आइरहेको छ, महिला सक्षम भइरहेका छन् ।” उनका अनुसार संस्थाले व्यापार, कृषि, पशुपालन, वैदेशिक रोजगारी, शिक्षालगायत क्षेत्रमा ऋण लगानी गरेको छ ।
कार्यक्रममा संस्थाकी व्यवस्थापक हेमा अधिकारीले १६ वर्षको अवधिमा २ करोड ७७ लाख करोडको कारोबार गरेको जानकारी दिइन् । संस्थाको रु. ५८ लाख शेयर पुँजी, रु. १५ लाख जगेडा कोष, रु. १ करोड ३५ लाख बचत भएको व्यवस्थापक अधिकारीले बताइन् । संस्थामा हाल मासिक रु. २०० देखि ५०० सम्म बचत गर्ने गरिएको छ । देउसीभैलो खेल्दै जग्गा किनेर आफ्नै भवन निर्माण गरेको सो संस्था १०८ जना महिला सदस्यबाट सुरुआत भएको थियो । हाल सो संस्थाको ७ सय ५० जना शेयर सदस्य छन् ।
सो अवसरमा संस्थापक अध्यक्ष लक्ष्मी गौलीले संस्थाले गरेका गतिविधिबारे नगर प्रमुख, उपप्रमुख र वडा सदस्यहरुलाई जानकारी गराएकी थिइन् । कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले समुन्नत नगर विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । “सहकारीले विपन्नलाई आत्मनिर्भरसमेत बनाउँछ”, नगर प्रमुख वनले भने, “सहकारीकै माध्यमबाट नगरले लिएको समृद्ध नगरको परिकल्पनालाई टेवा पुग्छ ।” शेयर सदस्यलाई तालिम मात्रै दिएर नहुने भन्दै नगर प्रमुख वनले स–साना उद्योग स्थापना गर्न सके आर्थिक विकास हुने धारणा व्यक्त गरे । “नगरमा सहकारी धेरै छन् । तर, व्यावसायिक बनाउन सकिएको छैन”, नगर प्रमुख वनले भने, “उद्यमशीलता बनाएर स–साना उद्योग स्थापना गरी आर्थिक विकास गर्न जरुरी छ ।” सहकारीले अर्बौंको रुपैयाँ कारोबार गर्ने भएकाले सहकारी–सहकारी मिलेर बैंक स्थापना गर्नुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा नगर उपप्रमुख विमला दुवाडीले महिलाले गरेका काम छिट्टै सफल हुने भएकाले नगरपालिकाले यहाँका महिलाका लागि आवश्यक सहयोग गर्न तयार गरेको बताइन् । सो अवसरमा संस्थाका पदाधिकारी तथा सदस्यहरुले नगरपालिका नजिकै संस्था रहेपनि बत्तीमुनिको अँध्यारोजस्तो भएको गुनासो गरे । संस्थाकी सल्लाहकार चन्द्रकुमारी चौधरीले संस्थाले नेतृत्व तथा व्यक्तित्व विकास, आयआर्जन कार्यक्रम, स्वास्थ्य शिविरलगायत कार्यक्रम गर्दै आइरहेको उल्लेख गर्दै नगरपालिकाले यस सहकारीलाई आफ्नो कार्ययोजनामा पार्न आग्रह गरिन् ।
संस्थाकी अध्यक्ष ऋतु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सेवा केन्द्र बकुलहरका प्रमुख शंकर गिरी, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकार, वडा सदस्य भरथी चौधरी, शालिग्राम पराजुली, बाबुराम गौतम, समाजसेवी विकना चौधरी, संस्थाकी सल्लाहकार सरला रेग्मी, सचिव देवकला भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा निर्वाचित जनप्रतिनिधिलाई दोसल्ला ओढार सम्मान गरिएको थियो ।