भरतपुर, ३१ साउन
दिनदिनै नयाँ संक्रमित फेला पर्न थालेपछि चितवनको सदरमुकाम भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार अपराह्न सूचना निकालेर गएराति १२ बजेदेखि लागू हुने गरी एक सातासम्म निषेधाज्ञा जारी रहने जनाएको हो ।
निषेधाज्ञाले नारायणगढ–भुरतपुरको सार्वजनिक जनजीवन ठप्प छ । बजार पूरै बन्द छ भने कोही पनि आफ्नो घरबाट बाहिर निस्किएका छैनन् । सडक सुनसान छ । सडकमा सुरक्षाकर्मीको उपस्थिति देखिन्छ । सुरक्षाकर्मीहरु तीन तहकै देखिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली सडकमा देखिन्छन् ।
उनीहरुले अत्यावश्यक सेवाका व्यक्तिहरुलाई उचित पहिचान भएपछि मात्रै छोडेका छन् । चेकजाँच पनि कडा देखिन्छ । स्वास्थ्यकर्मी र सञ्चारकर्मी छिटफुट देखिन्छन् । त्यसबाहेक अत्यावश्यक परेर हस्पिटल हिँडेकाहरु केही देखिए ।
सवारीसाधन पूरै ठप्प छन् । अत्यावश्यक सेवाका व्यक्तिहरुले चलाएका छिटफुट सवारीसाधन मात्रै गुडेका छन् ।
हिजोसम्म बेसरी चहलपहल भएको नारायणगढ बजार एकाएक पूरै खाली छ । सबै सटर बन्द देखिन्छन् ।
निषेधाज्ञा भरतपुर महानगरपालिकाको २९ वटा वडामा लागू गरिएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने निषेधाज्ञा भदौ ५ गते राति १२ बजेसम्म कायम रहनेछ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा यो अवधिमा महानगरपालिकाभित्र के गर्न पाउने र के नपाउने भन्ने तोकिएका छन् ।
स्थानीय प्रशासन ऐन, २०२८ को परिच्छेद ३, दफा ६ (क)को उपदफा (३) बमोजिम यहाँ निषेधाज्ञा जारी गरिएको हो । आदेशको अवज्ञा गरिएमा कानुनानुसार कारबाही गरिन्छ । निषेधाज्ञा उल्लंघन गरिए एक महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्नेछ ।
उक्त ऐनको परिच्छेद ३, दफा ६ (क)को उपदफा (३) मा भनिएको छ–‘कफ्र्यूको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले गिरफ्तार गर्नेछ र त्यसरी गिरफ्तार गरिएका व्यक्तिलाई तुरून्त प्रहरीले प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नु पर्नेछ । त्यसरी गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले उपयुक्त सम्झेको संक्षित कार्यविधि अपनाई एक महिनासम्म कैद वा एक हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्नेछ र उक्त सजायको आदेश उपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।’