वर्षायाम सुरु भएसँगै विभिन्न रोगको जोखिम पनि बढेको छ । विशेषगरी दूषित पानीबाट लाग्ने विभिन्न खाले रोगबाट बच्न यो मौसममा विशेष सावधानी अपनाउन जरुरी हुन्छ । टाइफाइड, हैजा, लामखुट्टेका कारण लाग्ने डेंगे ज्वरो र सदाबहारजस्तो देखिने झाडापखाला यही मौसममा बढी देखिन्छ । वर्षा मौसमले देशका विभिन्न जिल्लामा एकैसाथ यस्ता रोग देखा पर्छन् । यो मौसममा एकैसाथ विभिन्न सरुवा रोगको महामारी फैलने भएकाले स्वास्थ्य मन्त्रालयले यो मौसमलाई सरुवा रोगको महामारी फैलने मौसमका रूपमा लिएको छ । गर्मीबाट राहत मिले पनि सरुवा रोगको संक्रमण भने अत्यधिक बढी हुने कारणले गर्दा यो बेला सजगता अपनाउनुपर्छ ।
एक वर्षको अवधिमा देशभरमा देखिने सरुवा रोगको संख्या ८० प्रतिशतभन्दा बढी यही मौसममा हुने गरेको छ । चिकित्सकका अनुसार वर्षाको मौसममा पानी तथा खानेकुरा फोहर हुने र हावामा ओस बढ्नुका साथै विभिन्न स्थानमा जम्ने फोहर पानीका कारण झिंगा वा लामखुट्टे मौलाउँछन् र रोग छिट्टै फैलने गर्छ । बढी मात्रामा झाडापखला, हैजा, टाइफाइड, भाइरल, जण्डिस, आँउ, निमोनिया, औलो, डेंगे, कालाजार, रुघा, खोकी, पेटमा इन्फेक्सन, छालामा फंगस, आँखा पाक्नेजस्ता रोग लागेका बिरामीहरु अस्पतालमा अक्सर भेटिन्छन् । यो समयमा भाइरस, झिँगा, लामखुट्टे, कीरा–फट्यांग्रा र भुसुना बढी सक्रिय हुने गर्छन् र रोग लाग्ने गर्छ । पानी धेरै पर्ने हुनाले खानेपानीका मुहानदेखि वरिपरिका वातवरण नै दूषित हुन्छ । त्यही दूषित पानी र वातावरणका कारण कुनै न कुनै एक रोगले समातिहाल्छ । यो समयमा अधिकांश रोग सरसफाइको कमी, दूषित पानी र दूषित खानाकै कारण देखिन्छ । बासी, सडेगलेका, झिँगा भन्केका खाना एवं कुनैपनि कारणले दिसा–पिसाबको जीवाणु मिसिएका पानी पिउनले वा राम्रोसँग हात सफा नगरी खाना खाँदा यी रोग लाग्छन् । दूषित पानीमा पौडिँदा, काम गर्दा पनि विभिन्न किसिमका परजीवी तथा ब्याक्टेरिया शरीरमा प्रवेश गर्न सक्छन् । जसले ज्वरो, जन्डिस, मेनिन्जाइटिसजस्ता रोगहरु ल्याउन सक्छ।
यो मौसममा अस्पतालमा बिरामीको भीड लागेको देख्न सकिन्छ । तिनीहरु सबै मौसमी रोगकै कारण आएका भेटिन्छन् । यस्ता रोगहरुबाट बच्न विशेष सजगता अपनाउन जरुरी छ । पानी राम्रोसँग उमालेर पिउने, सधैँ खाना बनाउनुअघि, खाना खानुअघि, दिसा–पिसाब तथा बाहिर काम गरिसकेपछि साबुनपानीले हात धुने, पानीको मुहान वरिपरि तारजाली लगाउने, पानी दूषित हुनबाट रोक्न खुल्ला दिसापिसाब नगर्ने तथा गाईवस्तुलाई पानीको मुहान विरिपरि आउन नदिने गर्नुपर्छ । सडेगलेको, बासी तथा काँचो खाने कुरा खानु हुँदैन। बजारमा झिँगा भन्किएको, क्यानमा राखेको खानारमाछा तथा राम्ररी स्टोर नभएको खाना खानु हुँदैन । खानेकुरा पकाएर मात्र खाने गर्नुपर्छ । यति गरियो भने वर्षाको मौसममा हुनसक्ने स्वास्थ्य खतराबाट मुक्त हुन सकिन्छ ।
मौसमी रोगबाट बचौं
मौसमी रोगबाट बचौं
तपाईको प्रतिक्रिया