भरतपुर,२२ असार।
स्थानीय तह निर्वाचनको दोस्रो चरणको मतपरिणाम अन्तिम समयमा पुगिसक्यो । तर, भरतपुर–१९ ले पहिलो चरणको मतदानको नतिजा नै पाएको छैन । एकपछि अर्को गरी दोस्रो चरणको नतिजा सुन्दै आएका यहाँका मतदाता महानगरको अन्तिम मतपरिणामको व्यग्र प्रतीक्षामा छन् । तर, यसको टुंगो कहिले लाग्ने अझै निधो छैन ।
“अहिलेको दुःखको सामाना गरेपनि यो वडाले व्याज सहितको क्षतीपूर्ति पाउने छ । विकासको सुरुवात यही वडाबाट गरिने छ ।”- दाहाल
भरतपुर–१९ का उदयराज पराजुली मतगणना वा मतदानको निर्णय लिनुपर्ने बताउँछन् । “जेठ १४ गतेको घटना नहुनु थियो, दुर्घटना भयो”, उनले भने, “यही कारणमा यति समय लम्बाउनु दुःखद छ ।” भरतपुर–१९ को मतगणनाका क्रममा मतपत्र च्यातिएपछि जेठ १४ पछि मतगणना कार्य रोकिएको थियो । निर्वाचन आयोगले भरतपुर–१९ मा पुनःमतदान गर्ने भनी गरेको निर्णयविरुद्ध रिट परेपछि सर्वोच्च अदालतमा यो मुद्दा विचाराधीन छ । असार २३ गते सर्वोच्चले अन्तिम निर्णय गर्ला भन्ने धेरैको अनुमान छ । “मुख्य प्रतिस्पर्धी दोस्रोपटक घरदैलो गरेर पनि फर्किए”, उनले भने, “दोस्रो चरणको नतिजा धमाधम आइरहेका छन्, हामी भने अझै निर्णयको पखाईमा छौँ ।”
भरतपुर–१९ कै जयभद्र सापकोटा जनतामा निराशा छाएको बताउँछन् । “सबैतिर चुनावी नतिजाको उमंग छ”, उनले भने, “हामी सर्वोच्चको निर्णय कुरेर बसिरहेका छौँ, अब त सारै ढिलो हुन लाग्यो ।” अर्का स्थानीय बेलकुमार विक भरतपुर–१९ मा जनप्रतिनिधि नपाइने चिन्ता बढेको बताउँछन् । “मुद्दा चलेको छ, राम्रै उम्मेद्वार छानेर गरेको मतदान खेर गयो कि गएन थाहै भएन”, उनी भन्छन्, “जे निर्णय भएपनि छिटो हुनुप¥यो ।”
“जनताको पर्खाइ लामो भयो, ढिलो भयो, अब अन्तिम निर्णय दिन ढिलाइ नहोस् । गल्ती गर्नेलाई पुरस्कार नदिइयोस् ।”- ज्ञवाली
निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेलगत्तै सर्वोच्चमा रिट निवेदनमा परेको थियो । तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । तर, मुख्य प्रतिस्पर्धी दलहरु फेरि जनताको घरदैलो पुगेर फर्किसकेका छन् । सो वडाका माओवादी वडाध्यक्ष र सदस्य पदका उम्मेद्वारले नेपाली कांग्रेसका उम्मेद्वारको पक्षमा मत माग्ने गरेका छन् । एमालेले मतपत्र च्यातिएको घटनाबारे बुझाउँदै हिडेको छ । महानगरको २९ वडामध्ये २ वडाको मात्रै नतिजा बाँकी छ । भरतपुर–१९ को करिब १ हजार ८ सय मत गणना भइसकेको थियो । तर, भरतपुर–२० को मत गन्नै बाँकी छ । च्यातिएका मतपत्र सर्वोच्च अदालतमै पु¥याइएपनि मतदान वा मतगणनाबारेको निर्णय आएन ।
यसैबीच भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेणु दाहालले भरतपुर–१९ को अन्यौलता चाँडै हटाइनुपर्ने बताएकी छन् । शारदानगरमा आयोजित मन्दिर उद्घाटन कार्यक्रममा उनले भनिन्, “झट्ट सुन्दा अप्ठ्यारो परिस्थिति सामाना गर्नुप¥यो, चाँडै निर्णय भएर सुखद अवस्था सृजना होस् ।” भरतपुर–१९ मा पुनःमतदान वा पुनः मतगणना गर्ने भन्नेबारे मुद्दा सर्वोच्चमा विचराधीन छ । “यो वडाले भोग्नुपरेको पीडा हामीले बुझेका छौँ”, उनले भनिन्, “सर्वोच्चको निर्णय पछि जित÷हार जे भएपनि यो वडा नमूना वडा बनाउन लाग्ने छु ।” उनले जनताको पर्खाइ लम्बिएकाले चाँडो निर्णय आउनुपर्नेमा जोड दिइन् । “अहिलेको दुःखको सामाना गरेपनि यो वडाले व्याज सहितको क्षतीपूर्ति पाउने छ”, उनले भनिन्, “विकासको सुरुवात यही वडाबाट गरिने छ ।”
अर्का उम्मेद्वार देवी ज्ञवालीले सर्वोच्च अदालतले उच्च प्रथामिकता दिदै भरतपुर–१९ को विवाद टुंगो लगाउनुपर्ने बताएका छन् । कायाकैरनसँग सक्षिप्त कुराकानी गर्दै उनले भने, “जनताको पर्खाइ लामो भयो, ढिलो भयो, अब अन्तिम निर्णय दिन ढिलाइ नहोस् ।” उनले गल्ती गर्नेलाई पुरस्कार दिने गरी सर्वोच्चले फैसला नगर्नेमा विश्वस्त रहेको बताए । दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिमतर्फ उन्मुख रहँदा पहिलो चरणमा निर्वाचन भएको भरतपुरको नतिजा आउन साह्रै ढिला हुन लागेको बताए । अन्तर्राष्ट्रिय मान्यता, भविष्यमा पर्न सक्ने गलत नजिरलाई मध्यनजर गर्दै ऐन नियमसँगत जनताको पक्षमा फैसला हुने उनको भनाइ छ । सर्वोच्च अदालतको फैसला मानिने बताउँदै उनले भने, “मध्यवर्षाको अवस्था आइपुग्यो, अझै लम्बाउनु हुँदैन, जनप्रतिनिधि चयन हुने अवसर रोक्नु हुँदैन ।”