विप्लव काफ्ले/कायाकैरन
शारदानगर,२२ असार।
चितवनकी सांसद् विष्णुमाया परियारले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत मठमन्दिर तथा गुम्बा बनाउन रकम खर्च गरेकी छन् । नेपाली कांग्रेसबाट समानुपातिक सांसद् बनेकी परियारले ५० लाखमध्ये झण्डै आधा रकम धार्मिक क्षेत्रमा खर्च गर्दैछिन् । नेपालकै पहिलो सहकारी बखानपुर नजिकैको भरतपुर–१९ मा रहेको कालिका मन्दिरमा नारायण र विष्णुको मन्दिर निर्माणमा ११ लाखको योजना पारेकी थिइन् ।
माघ १९ मा शिलान्यास गरिएको सो मन्दिरमा बुढानिलकण्ठको विशाल मूर्ति राखिएको छ । बुधबार एक विशेष कार्यक्रम गरी मूर्तिमा प्राणप्रतिष्ठा गरिएको छ । “बुढानिलकण्ठको दर्शन गर्न काठमाडौं नै पुग्नुपर्ने अवस्था अन्त्य भएको छ”, मन्दिर उद्घाटन कार्यक्रममा सांसद् विष्णुमाया परियारले भनिन्, “सबैको साझा मन्दिरका रुपमा यो क्षेत्र विकास हुनेछ ।” उनले आर्थिक प्रलोभनमा धर्म परिवर्तन गराउने क्रम बढेको बताउँदै भनिन्, “धार्मिक सहिष्णुता कायम गर्नुपर्छ, समाजका विकृति हटाउनुपर्छ, संस्कृति भुल्नुहँुदैन ।”
काठमाडांैको बुढानिलकण्ठमा रहेको मूर्तिजस्तै मूर्ति राखिएको छ । साढे तीन फिट लम्बाइ तथा ३ फिट चौडाइ रहेको सो मूर्ति ढुंगा कुँदेर बनाइएको हो । ४ बाहु भएको हातमा शंख, चक्र भएको, नागहरुबाट सुसज्जित बुढानिलकण्ठको मूर्ति नागमाथि सयन अवस्थामा छ । झण्डै डेढ कट्टठा क्षेत्रफलमा फैलिएको कालिका मन्दिरमा २०२३ सालदेखि चन्दा उठाएर पूजाआजा हुने गर्दथ्यो । विस्तारै सो क्षेत्रमा कालिका मन्दिर, गणेश मन्दिर, शिव मन्दिर निर्माण भएका थिए । शारदा मावि शारदानगर, शहिदस्मारक कलेज नजिकैको खुल्ला चौरको पश्चिमतर्फ मन्दिर अवस्थित छ । “यो क्षेत्र धार्मिक पर्यटकीय स्थल बन्न सक्छ”, सांसद् परियारले भनिन्, “हिन्दू धर्म संस्कृति जगेर्ना गर्न सबैले सहकार्य गर्नुपर्छ ।” सो मन्दिरमा यो वर्षमात्रै झण्डै ९ लाख स्थानीयले खर्च गरेका छन् । प्रवेशद्वार, खानेपानी ट्याङ्की, पर्खाल, सभाहल निर्माण गरिएको छ । रंगरोगन गरिएको छ ।
कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सिंहराज तामाङले मन्दिरमा नियमित पूजापाठ सञ्चालन गर्ने तयारीमा रहेको बताउँछन् । “पुरानो मन्दिरले काँचुली फेरेको छ”, उनले भने, “आर्थिक स्रोत पहिचान गरेर नियमित पूजापाठ सञ्चालन गर्नेछौँ, मन्दिर परिसरलाई अझै आकर्षक बनाउने छौँ ।” कालिका मन्दिरमा शिवरात्रि, ठूलो दशैं तथा चैते दशैंमा बढी भीड लाग्ने गर्छ । कार्यक्रममा भरतपुर–१९ का कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेद्वार कर्णबहादुर गुरुङ, क्षेत्र नम्बर ४ का निवर्तमान सभापति बलराम पौडेल, भरतपुर महानगरपालिका कांग्रेस नगरसभापति भरतप्रसाद अधिकारी, कांग्रेस महासमिति सदस्य दिनेश कोइराला, भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेणु दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सांसद् परियारले एक दर्जन मन्दिरलाई मर्मत तथा स्तरोन्नति गर्न आर्थिक सहयोग गरेकी छन् । सांसद् परियारको निर्वाचन क्षेत्र विकास कार्यक्रमका प्रतिनिधि अनुज परियारले निर्वाचन क्षेत्रका मन्दिर तथा गुम्बामा ५० हजारदेखि ११ लाखसम्म सहयोग भएको बताए । शिवनगरमा दुई मन्दिरलाई साढे दुई लाख, भरतपुर–१७ को नवदुर्गा मन्दिर, मनकामना मन्दिर र गुम्बालाई ५०–५० हजार, क्षेत्रपुरको शेषलक्ष्मीनारायण मन्दिरलाई २ लाख, नयाँबजारको पशुपतिनाथ मन्दिर, गुम्बालाई २÷२ लाख, गीतानगरको गणेश मन्दिरलाई ५० हजार आर्थिक सहयोग गरेकी छन् ।
“१ लाख तलका योजना राख्न मिल्न नभएपछि समायोजन गरेर केहि अन्य मन्दिरलाई बजेट पारिएको छ”, उनले भने, “गेट निर्माण, मर्मत सम्भार तथा बन्दै गरेका मन्दिरलाई सहयोग गरिएको छ ।” दलित समुदायलाई सहज रुपमा मन्दिरभित्र पूजा गर्न नदिने विकृति कायमै रहेका बेला उनले धार्मिक क्षेत्रमा गरेको लगानीले असल सन्देश दिएको स्थानीय बताउँछन् । भरतपुर–१९ का स्थानीय विष्णु ढकालले जातीय विभेद हटाउन सांसद्ले गरेको सहयोग महत्वपूर्ण रहेको बताए ।