भरतपु, २८ साउन
चितवनकाे भरतपुरस्थित वणिज्य बैंक शाखा कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गरिएका पछिल्ला सबै नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएका छन् ।
ती कार्यालयहरूमा केही कर्मचारीकाे काेराेना परीक्षण रिपोर्ट पाेजिटिभ देखिएपछि बाँकी कर्मचारीको पनि काेराेना परीक्षण गरिएका थिए । तर, मंगलबार अबेर राति आएकाेे रिपोर्टमा सबै नेगेटिभ आएकाे भरतपुर काेभिड ल्याबले जनाएकाे छ ।
वाणिज्य बैंकका एक कर्मचारीमा कोरोना पाेजिटिभ देखिएपछि गरिएको नमुना परीक्षणमा अन्य कर्मचारीको नतिजा नेगेटिभ आएको छ । शाखा प्रबन्धक ईश्वरी न्यौपानेका अनुसार त्यहाँ कार्यरत अन्य २४ जना कर्मचारीको नमुना परीक्षणमा नतिजा नेगेटिभ आएको हो ।
शनिबार गरिएको परिक्षणमा त्यहाँ हाजिर गरेर आन्तरिक राजस्व कार्यालय भरतपुरको काउण्टरमा कार्यरत एक कर्मचारीको नतिजा पोजिटिभ आएको थियो । त्यसलगत्तै त्यहाँका सबै कर्मचारी घरकै क्वारेन्टिनमा बसिरहेका छन् ।
त्यस्तै १२ जना ट्राफिक प्रहरीकाे नमुना परीक्षण रिपाेर्ट पनि नेगेटिभ आएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयका नायब निरीक्षक कृष्णज्यू ठकुरीले जानकारी दिए । त्यहाँ पनि गत शनिबारकाे परीक्षणमा १ जना ट्राफिक प्रहरीकाे नतिजा पाेजिटिभ आएकाे थियाे । जिल्लाका बाँकी ट्राफिक प्रहरीकाे पनि क्रमैसँग परीक्षण गर्दै जाने ठकुरीले जानकारी दिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा पनि रिपोर्ट नेगेटिभ आएकाे छ । त्यहाँ रहेका १० जना थुनुवा र ४ प्रहरी सबैकाे रिपोर्ट नेगेटिभ आएकाे काेभिड ल्याबले जनाएकाे छ ।