भरतपुर, २४ साउन
चितवनमा प्रहरी, थुनुवा र बालकमासमेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरमा गरिएको परीक्षणका क्रममा चितवनका ६ जनासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालाले दिएको जानकारीअनुसार संक्रमितहरु प्रहरी र थुनुवा पनि छन् । साथै होम क्वारेन्टिनमा रहेको ६ वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ । बालक भरतपुर–१ का हुन् ।
चितवनका ५ पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको हो । चितवन मेडिकल कलेजमा उपचाररत ३६ वर्षीय पुरुष र भरतपुर अस्प्तालबाट स्वाब लिइएकी ३१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, सुर्खेतको चिठगाउँ–२ का २२ वर्षीय प्रहरी र नवलपुरको गैँडाकोट–१५ का ३६ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले बताइन् ।
यसअघि चितवनको नारायणगढका एकै घरका तीनजनामा कोरोना संक्रमण देखिएको थियो । लगत्तै उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन सुरु गरिएको थियो ।
एकै परिवारको तीन जनामा कोरोना देखिएपछि शुक्रबार साँझदेखि नारायणगढको पुतली बजार क्षेत्रको भिमसेन मन्दिरदेखि मिनिसो मार्ग चोक हुँदै मेनरोडसम्म क्षेत्रलाई शिल गरिएको छ । त्यहाँ झण्डै एक सय घर छन् ।
अर्को आदेश नभएसम्मका लागि त्यस क्षेत्र शिल गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।