विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२१ असार ।
बन्यजन्तुलाई मानववस्ती प्रवेश गर्नबाट रोक्न मध्यवर्ती सामुदायिक वनमा आरसीसी वालसहितको मेसजाली राख्न थालिएको छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका वेलशहर मध्यवर्ती सामुदायिक वन, वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनको मानव बस्ती जोडिएका क्षेत्रमा पर्खाल बनाउने काम भइरहेको छ ।
तत्कालीन प्रधानमन्त्री दाहालले घोषणा गरेको ‘चितवन प्याकेज’ अन्तर्गतको बजेटमा सम्बोधन गरिएको योजनाअनुसार १ करोड ७० लाख बजेटमा फाउण्डेसनसहितको मेसजाली लगाउने काम भइरहेको छ । जेठबाट सुरु भएको काम अन्तिम चरणमा पुगेको छ । डेढ फुट गहिराइबाट उठाइने आरसीसी पर्खाल ४ फिट अग्लो हुनेछ । त्यसमाथि ५ फिट अग्लो मेसजाली लगाइने छ ।
पटिहानीको सीतामाइदेखि वीरेन्द्रनगर सामुदायिक वन क्षेत्रसम्म मेसजाली राखिदैछ । वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष देवीलाल पौडेलले १ हजार २ सय मीटर दूरीमा आरसीसी वालसहितको मेस जाली राख्ने काम भइरहेको बताए । जसमध्ये ४ सय मिटर दूरी बेलबहर मध्यवर्ती सामुदायिक वनतर्फ छ भने वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनतर्फ ८ सय मिटर पर्खाल बन्दैछ । “सामुदायिक वनको १९ सय मीटर दुरी मानववस्तीसँग जोडीएको छ”, उनले भने, “यो वर्ष ८ सय मिटर सरकारमार्फत र ४ सय मिटर निजी लगानीमा व्यवसायीले पर्खाल बनाउँदैछन् ।”
गतवर्ष दुवै सामुदायिक वनले ४–४ सय मिटर दूरीमा मेसजाली राखेका थिए । “वन्यजन्तु सामुदायिक वन हुँदै बस्ती प्रवेश गर्ने जोखिम थियो”, उनले भने, “मानवीय क्षति पनि भएका थिए, अब पर्खाल बनेपछि यो जोखिम हट्नेछ ।”
बेलबहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष टेकनाथ तिमिल्सिनाले जंगल किनारमा पर्खाल बनाउने काममा बजेट अपुग भएको बताए । “गतवर्ष ४ सय मीटर मेसजाली राखियो, यो वर्ष ४ सय मीटर राखिदै छ”, उनले भने, “करिव १५ सय मीटर दुरीमा मेसजाली राख्नुपर्ने अवस्था छ, बजेट छैन ।” जंगल किनारका वस्ती वन्यजन्तु आक्रमणमा वर्सेनि पर्ने गरेका छन् । “जंगल किनारका सबै क्षेत्रमा पर्खाल लगाउनुपर्छ”, उनले भने, “सरकार तथा निकुञ्जले पर्खाल बनाउन पर्याप्त बजेट छुट्याउनुपर्छ ।” सामुदायिक वनको आम्दानी स्रोत धेरै नभएकाले आफैँ पर्खाल बनाउने काममा लगानी गर्न नसकेको उनी बताउँछन् । मध्यवर्ती क्षेत्रमा विगतमा विद्युतीय तारबार, काँडे तार, मेसजाली जस्ता पूर्वाधार नगण्य मात्रामा हुने गरेका थिए । यो वर्षदेखि आरसीसी वालसहितको मेसजाली राख्ने काम सुरु भएको हो ।
पर्यटक तान्न हम्मे
मध्यवर्ती सामुदायिक वन क्षेत्रमा दुर्लभ वन्यजन्तुको चहलपहल सजिलै देख्न सकिन्छ । चितवनको सौराहा र मेघौलीपछि पर्यटनको गन्तव्यका लागि पटिहानी विकासको क्रममा छ । पटिहानी क्षेत्रमा रहेका वेलशहर र वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वन पर्यटकको रोजाइँमा पर्न थालेका छन् । तर, आवश्यक पूर्वाधार नहुदा सोचेजस्तो पर्यटक चहलपहल बढ्न सकेको छैन ।
वेलशहर सामुदायिक वन क्षेत्रभित्र सीतामाई धार्मिक क्षेत्र, श्रमिक ताल, बेलशहर तालजस्ता पर्यटक लोभ्याउने क्षेत्र छन् । वेलशहर सामुदायिक वनका अध्यक्ष टेकनाथ तिमिल्सिना असोजबाट जीप सफारी सञ्चालन गर्ने तयारीमा रहेको बताउँछन् । “सौराहा हात्ती प्रजनन् केन्द्र खोरसोरसम्म जान मिल्ने गरी वनभित्र बाटो बनाएका छौँ, काठेपुल राखेका छौँ”, उनले भने, “निकुञ्जले असोज १ गतेबाट जीप सफारीका लागि स्वीकृति दिदै छ, हामी कार्यविधि तयार गर्न लागेका छौँ ।” सो सामुदायिक वनमा झण्डै तीन घण्टाको प्याकेज बनाउन सकिने उनको भनाइ छ ।
वीरेन्द्रनगर सामुदायिक वनका अध्यक्ष देवीलाल पौडेल वनभित्रका ताल संरक्षण अभियानमा लागिने बताउँछन् । “वनभित्र दुई वटा प्राकृतिक ताल छन्”, उनले भने, “ती ताललाई आकर्षक गन्तव्य बनाउन बजेट विनियोजन गर्ने सोच बनाएका छौँ, नजिकै मचानहरु पनि बनाइने छ ।” गैंडा आहाल खेल्ने ताल भएपनि लगानी गर्न नसक्दा पर्यटकलाई आकर्षित गर्न नसकिएको उनी बताउँछन् । सामुदायिक वनभित्र पदमार्ग बनाउने कार्ययोजना बनाइएको उनले जानकारी दिए ।
यी सामुदायिक वन नजिकै सुविधासम्पन्न ४ ठुला होटल सञ्चालनमा आएका छन् । आसपासका बस्तीमा झण्डै ७० वटा साना होटल सञ्चालनमा छन् । “सौराहा पुगेर घुम्ने प्याकेजभन्दा पटिहानीमा घुम्ने प्याकेज सस्तो पर्छ”, अध्यक्ष पौडेलले भने, “तर, पर्याप्त हात्ती व्यवस्थापन गर्न नसक्दा पर्यटक धेरै ल्याउन सकिएको छैन ।” वेलशहर सामुदायिक वनका अध्यक्ष तिमिल्सिना सरकारी हात्ती व्यवस्थापन गरिदिन पटक–पटक निकुञ्जलाई आग्रह गरिएपनि सुनुवाइ नभएको गुनासो पोख्छन् । “धेरै पर्यटक हात्ती चढेर जंगल घुम्न चाहन्छन्”, उनले भने, “हात्ती सञ्चालन गर्ने व्यवसायी तथा सहकारी नहुँदा कम पर्यटक मात्रै पटिहानी आइपुग्छन् ।” निजी होटलमार्फत सञ्चालन भएका थोरै हात्तीमा जंगल सफारी गराउँदा धेरै कठिन भएको उनीहरुको बुझाइ छ । पटिहानी पर्यापर्यटन दृष्टिले महत्वपूर्ण गन्तव्यका रुपमा चिनिन थालेको छ ।