भरतपुर, २० असार ।
हवाइ इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाइ भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले हवाइ भाडा दर घटाएको हो ।
नयाँ भाडादरअनुसार अब काठमाडौंबाट भरतपुरका लागि ३ हजार ३ सय ५३ रुपैयाँ तोकेको छ । पहिले रु तीन हजार ५ सय थियो । निगमले हवाइ इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । निगमले हवाइ इन्धनको मूल्य प्रतिलिटर रु. चार घटाएर रु. ८२ बनाएको थियो । यही असार २१ गते बुधबारदेखि लागू हुनेगरी हवाई भाडादर घटाइएको बुद्धएयरका बजार व्यवस्थापक विनिता थापाले जानकारी दिइन् ।
नयाँ भाडादरअनुसार अब काठमाडौँबाट विराटनगर जाँदा रु. सात हजार १ सय ४ तिर्नुपर्छ । यसअघि विराटनगरको भाडा रु सात हजार २ सय थियो । त्यस्तै भद्रपुरको भाडा रु आठ हजार ६ सय ७६, भैरहवाको रु पाँच हजार ९ सय १३, धनगढीको रु १२ हजार १९ र नेपालगञ्जको रु आठ हजार ३ सय ६५ पर्छ । यसअघि भद्रपुरको रु आठ हजार ७ सय, भैरहवाको रु. छ हजार, धनगढीको रु १२ हजार २ सय र नेपालगन्जको रु नौ हजार ५ सय थियो ।
त्यसैगरी पोखरा जान पहिला रु चार हजार ७ सय तिर्नुपथ्यो भने अब रु.चार हजार ६ सय ३४ लाग्ने भएको छ । काठमाडौँबाट जनकपुर जान रु तीन हजार ९ सय ४८ लाग्नेछ । पहिला यही रुटमा रु. चार हजार लाग्थ्यो ।
सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने रु. ४० मात्र घटेको छ । सिमरा जान पहिला रु तीन हजार ४५ लाग्थ्यो भने अब रु. तीन हजार पाँच तिरे पुग्छ ।
तुम्लिङ्टारको भाडा रु पाँच हजार ७ सयबाट घटाएर रु पाँच हजार ६ सय २३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि रु ११ हजारबाट घटाएर रु १० हजार ८ सय ६२ कायम गरिएको छ । रासस
भरतपुर–काठमाडौं हवाइ भाडा घट्यो
भरतपुर–काठमाडौं हवाइ भाडा घट्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस