
(Photo Getty Images)
श्रावण २१ ।
आयरल्याण्ड विरुद्धको तीन खेलको एकदिवसीय शृंखला इंगल्याण्डले २–१ ले कब्जा गरेको छ । मंगरबार राति सम्पन्न तेश्रो एकदिवसीयमा आयरल्याण्डले ७ विकेटको रोमाञ्चक जीत हासिल गरेको भएपनि सुरुका दुई खेल जित्दै इंगल्याण्डले शृंखला आफ्नो पक्षमा पारिसकेको थियो । शृंखलामा सान्त्वना जित हात पार्ने क्रममा आयरल्याण्डले २०११ को एकदिवसीय विश्वकपमा इंगल्याण्ड विरुद्ध नै हासिल गरेको जीतको झल्को दिलाएको थियो । इंगल्याण्डले पेश गरेको ३२९ रनको लक्ष्य आयरल्याण्डले ५०औँ ओभरको पाँचौँ बलमा तीन विकेट गुमाएर भेट्टायो । उसका लागि पाउल स्टर्लिङले सर्वाधिक १४२ रनको शतकीय पारी खेले । उनले सो क्रममा १२८ बलको सामना गर्दै ९ चौका र ६ छक्का प्रहार गरे । उनका अलावा कप्तान एण्डी बालबिर्नले ११३ रन बनाए । म्यान अफ दि म्याच समेत घोषित भएका उनले कूल १२ वटा चौका प्रहार गरेका थिए । यस्तै विनिङ रन बटुलेका केभिन ओ ब्रायन २१ रनमा नट आउट रहे भने ह्यारी टेक्टरले पनि अविजित २९ रन जोडे । इंगल्याण्डका लागि अदिल रसिद र डेविड विलीले समान १–१ विकेट लिए ।
यस अघि साउथाम्पटनको रोज वाउल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्लिस टोलीले ४९.५ ओभरमा अलआउट हुँदै ३२८ रनको विशाल योगफल तयार पारेको थियो । उसका लागि कप्तान इयोन मोर्गनले १०६ रनको योगदान दिए । आयरल्याण्डमा जन्मिएका मोर्गनले आफ्नो पारीमा १५ चौका र चार छक्का प्रहार गरेका थिए । यस्तै टम ब्यान्टनले ५१ तथा डेविड विलीले ५९ रनको स्कोर बनाएर आउट भए । यस्तै टम कुरान भने ३७ रनमा अविजित रहे ।
तीन खेलको शृंखलामा कूल १२७ रन तथा ८ विकेट लिन सफल भएका अलराउण्डर डेविड विली म्यान अफ दि सिरीज घोषित भए । सिरीजमा दुई खेल जितेको इंगल्याण्डले आइसीसी वल्र्ड कप सुपर लिगमा २० अंक प्राप्त गर्दै पहिलो स्थानमा रहँदा एक खेल जितेको आयरल्याण्ड १० अंकसहित दोश्रो स्थानमा कायम रहेको छ ।