भरतपुर, २१ साउन
भरतपुर महानगरपालिका वडा नं ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवनको पुनःनिर्माण थालिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालय व्यवस्थापन समितिमार्फत विद्यालय पुनर्निर्माणको कार्यक्रम राखेकामा लक्ष्मी मा.वि. छनौट हुन पुगेको हो ।
प्राधिकरणको कार्यक्रम अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) चितवनले विद्यालयलाई चार कोठे भवन पुनर्निर्माण गर्दा लाग्ने खर्च प्रदान गर्न लागेको हो । सोही क्रममा बुधबार विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । भवनको शिलान्यास भरतपुर महानगरपालिका प्रमुख रेणु दाहलले गरेकी हुन् ।
विद्यालयले गत वर्ष मात्रै सिटिइभिटी अन्तर्गत जियोमेटिक्स इञ्जिनियरिङ विषयको कार्यक्रम थालेको थियो । विषयको अध्ययन अध्यापनका लागि चाहिने प्रयोगशालाका लागि कोठा अपुग भएको र पुरानो भवनको जीर्णाेद्धार आवश्यक भएको भनी विद्यालयले भवन पुनर्निर्माणका लागि इकाईमा प्रस्ताव पेस गरेको विद्यालयका प्रधानाध्यापक रेशमबाबु ढकाले बताए । “जियोमेटिक्सको पढाइका लागि फिजिक्स, केमेस्ट्री, जियो लगायतका प्रयोगशाला सञ्चालन गर्नु अपरिहार्य थियो तर पर्याप्त कोठा भने थिएनन् । त्यसैका लागि ४ कोठे भवनको कार्यक्रम स्वीकृत गरिदिन भनी इकाईमा प्रस्ताव पेस गरेका थियौं”, ढकालले बताए ।
भवनको शिलान्यास गरेपछि बोल्दै मेयर दाहालले महानगरपालिकाभरि रहेका १२३ ओटा सामुदायिक विद्यालयको भौतिक तथा गुणस्तर विकासका लागि करिब १८ करोड रुपैयाँको योजना चालू अवस्थामा रहेको बताइन् । “चार कोठे भवन पुनर्निर्माणको योजना पनि महानगरपालिकाभित्रको योजना हो । महानगरपालिकाले सिफारीस गरेका विद्यालयका लागि छनौट भएर कार्यक्रम आएको हो र त्यसको भरपुर उपयोग गर्नुहुनेछ भन्ने आशा राखेकी छु”, मेयर दाहालले भनिन् ।
कोरोना महामारीका कारण विद्यालयमा श्रोत शिक्षकले तलब बुझ्न नपाएको समस्यासँग आफू अवगत रहेको जनाउँदै उनले विद्यालयका लागि राहत वा अनुदानको व्यवस्था गरिने समेत जानकारी गराइन् । लक्ष्मी माध्यमिक विद्यालयको माध्यमिक तहमा ७ जना निजी श्रोतका शिक्षकशिक्षिका कार्यरत छन् भने प्राविधिक धारको शिक्षातर्फ ४ जनालाई निजी श्रोतमा राखिएको छ । शहिद चोक – कचपचे चोक सडक खण्डको निर्माणका क्रममा विद्यालयको पर्खाल भत्कन जाने भनी शिक्षकहरूले गरेको प्रश्नमा मेयरले त्यस्ता संरचनालाई लथालिङ्ग रूपमा नछाडिने प्रतिबद्धता जनाइन् ।
लक्ष्मी माविमा हाल १ हजार २६ विद्यार्थी अध्ययनरत रहेको विद्यालय श्रोतले जनाएको छ । त्यहाँ हाल राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको शिक्षा तथा व्यवस्थापन संकायमा कक्षा ११ र १२ को पढाइ पनि हुँदै आएको छ ।