चितवन, २१ साउन
भरतपुर महानगरपालिका–२ का ७९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको स्वाव परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।
परिवारले दिएको जानकारी अनुसार उनी घरमा छुट्टै कोठामा बस्ने गरेका थिए । छोराले उनको स्याहार गर्दथे । भरतपुर अस्पतालकाअनुसार उनले सुगर र रक्तचापको औषधी सेवन गर्ने गरेका छन् । अहिले उनले घरबाटै चिकित्सकहरुसँग परामर्ष लिइरहेको भन्दै भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले उमेर र स्वास्थ्यावस्थाका कारण अस्पतालमै राखेर उपचार गराउने तयारी भएको बताए ।
चिकित्सकहरुले उनमा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमण समुदायमा पुगेको आशंका गरेका छन् ।
ट्रभल हिस्ट्री हेर्दा उनी केही समय अघि घर नजिकैको एक स्वास्थ्य संस्थामा थेरापीका लागि जाने गरेका थिए । तर केही दिनदेखि भने उनी घरमै रहेको परिवारले बताएको सूचना अधिकारी पौडेलले बताए ।
ती वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार भरतपुर अस्पताल पुगेका थिए । त्यहीँ उनको स्वाव संकलन गरिएको थियो ।
बुधबार यहाँ १ सय ५२ जनाको स्वाव परीक्षण गर्दा १ सय ५१ जनाको रिपोर्ट भने नेगेटिभ देखिएको छ ।