खैरहनी/घटना भएको दुई साता बितिसक्दा पनि खैरहनीको ज्यामिरेमा मोटरसाईकललाई ठक्कर दिने सवारी साधन पत्ता लाग्न सकेको छैन । साउन १ गते राती ११ बजेको समयमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाईकलमा सवार खैरहनी ५ का २२ वर्षीय आशिष सुवेदीको मृत्यु भएको थियो ।
घटना भएको दुई साता बित्दासमेत ठक्कर दिने साधन नियन्त्रणमा लिन नसकेको प्रति मृतकका हजुरवुवा सुरज सुवेदीले आशंका व्यक्त गरेका छन् । सवारी पहिचान गरी कारबाहीको माग गर्दै मृतकका आफन्तले प्रमुख जिल्ला अधिकारी, चितवन प्रहरी प्रमुखलाई ध्यानाकर्षण गराई सकेका छन् ।
“हामीले आफ्नो ठाउँबाट दवाव दिइरहेका छौ”, मृतकका हजुरबुवा सुरज सुवेदीले भने, “प्रहरी प्रशासनले अझ गम्भीर रुपमा लिएको छैन ।” घटना स्थलको सीसीटीभी नभएपनि रातको समयमा सवारी आउने अन्य क्षेत्रको सीसीटीभी फुटेज प्रहरीलाई उपलव्ध गराइएको समेत आफन्तले बताए । यता इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्ती मगरले घटनाका विषयमा अनुसन्धान भईरहेको बताएका छन् । मृतकका आफन्तले उपलव्ध गराएको सीसीटीभी फुटेज मनहरी, हेटौडाको रहेकाले पहिचानमा समस्या रहेको प्रहरी निरीक्षक मगरले बताए ।