शिव गौतम
भरतपुर/लगातारको वर्षापछि भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा डुबानका कारण भएको क्षतिको अन्तिम विवरण प्राप्त हुन अझै केही दिन लाग्ने भएको छ । मनसुन सक्रिय हुँदा भरतपुर आसपासका क्षेत्रमा आषाढ महिनाको मध्यदेखि नै निरन्तर वर्षा हुन थालेको थियो । नारायणी तथा राप्ती नदीको सतह बढ्न जाँदा तटीय क्षेत्र डुबाउन सक्ने जोखिम पनि बढ्न पुग्यो ।
सोही क्रममा भरतपुर महानगरपालिकाले श्रावण ९ गते सूचना जारी गर्दै आफ्ना वडाहरूलाई वडा स्तरीय क्षति संकलन समितिको निर्णय सहित एक हप्ताभित्र क्षतिको विवरण पठाउन निर्देशन दिएको थियो । क्षति संकलन समितिमा वडा अध्यक्ष, स्थानीय प्रहरी प्रतिनिधि र रेडक्रस सोसाइटी प्रतिनिधि समावेश हुने महानगरले जनाएको छ ।
“हामीले वडा कार्यालयहरूलाई एक हप्ताभित्र विवरण बुझाउन भनेका थियौँ । कार्यालयहरूले गएको आइतबारदेखि विवरण संकलन गर्न थालेको भन्ने जानकारी आएको छ”, महानगरपालिका विपद् व्यवस्थापन समितिका प्रमुख जीवलाल कुँवरले बताए, “आगामी शुक्रबार अथवा आइतबारसम्ममा सबै विवरण आइपुग्लान् भन्ने सोचेका छौँ । वर्षायामको समयमा जिल्लाभर विपद्का घटना हुनेगरेका भएपनि विगतमा महानगरभित्र डुबानका कारण हुने गरेको क्षतिको लेखाजोखा राख्ने गरिएको भने थिएन । “अगाडिका वर्षमा त्यस्ता प्रकृतिका विपद्को विवरण तयार पार्ने गरेका थिएनौं । यस पटक भने त्यसको आवश्यकता महसूस गरी विवरण तयार पार्न लागेका हौं”, कुँवरले सुनाए । वडा कार्यालयहरूबाट प्राप्त सूचनाका आधारमा प्रतिवेदन तयार भएपछि क्षतिको वस्तुस्थिति आँकलन गर्न सहज हुने उनको भनाइ थियो । महानगरमा विपद् व्यवस्थापन समितिको बैठक बसेपछि मात्रै क्षतिका बारेमा के गर्न सकिन्छ भन्ने बारेमा निर्णय हुने उनले जानकारी दिए ।
विपद् व्यवस्थापनका लागि तोकिएर नै बजेट विनियोजन नहुने गरेको भन्दै हाललाई विपद् कोषमा जम्मा भएको रकम नै त्यसका लागि प्रयोग भइरहेको कुँवरले कायाकैरनलाई बताए । “विपद् कोषमा एक करोड रुपैयाँ जम्मा भएको थियो । त्यसैलाई अहिले कोरोना महामारी रोकथामका लागि भनेर प्रयोग गरिरहेका छौं”, उनले अगाडि थपे, “करोडौँ रुपैयाँ कोरोना नियन्त्रणमा नै खर्च गरिसकेका छौं । विपद् यतिबेला नै आउला भन्ने थाहा हुँदैन । त्यसरी नै विपद् व्यवस्थापनको हकमा हुने खर्चको सीमाना नै हुने गरेको छैन ।”