विषय प्रवेश : आज विश्व अनेकौँ समस्याबाट आक्रान्त छ । विश्व जतिजति विकसित हुँदै गएको छ, त्यति नै समस्याहरु पनि थपिँदै जाने क्रम चलिरहेको छ । हिजोे र आजैबीच पनि विश्वमा धेरै अन्तरहरु देखिने गर्छन् । भनिन्छ, हिजो शक्तिको राज्य थियो, आज कानुनी छ । हिजो मानिसहरुको पनि वस्तु जस्तै खरिद बिक्री हुन्थ्यो ।
त्यस्तो मान्छेको कुनै अधिकार र अस्तित्व हुँदैनथ्यो । ऊ दास वा कमाराकमारी हुन्थ्यो । कमाराकमारीलाई पशुतुल्य व्यवहार गरिन्थो । भनिन्छ, समय परिवर्तनशील हुन्छ । समयको गतिसँगै हिजोको समाज, परम्परा र प्रथा आजपर्यन्त उस्तै रहेनन् । सबै मानिसहरुको अस्तित्व समान मानिन थालियो । मानव हुनुको नाताले सबैले समान अधिकार पाउने अवधारणाको विकास भयो ।
यस्तो अवधारणागत चिन्तनलाई मानवाधिकार भन्न थालियो । यद्यपि अहिलेको आधुनिक विश्वमा पनि प्राचीन दासत्वको अवशेषको रुपमा विभिन्न प्रकृतिका विसंगति समस्याको रुपमा देखिइ नै रहेका छन् । यी विसंगतिहरुमध्ये मानव बेचबिखन र ओसारपसारसम्बन्धी आधुनिक दासत्वको समस्या विश्वव्यापीरुपमा आज पनि रहिआएको पाइन्छ ।
मानव बेचबिखन भनेको के हो ?
सामान्य अर्थमा कुनै मानिसलाई कसैले रकम लिई बेच्ने र अर्को व्यक्तिले रकम तिरी खरिद गर्ने कार्य गरेमा त्यस्तो कामलाई मानव बेचबिखन भन्न सकिन्छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार मानव बेचबिखन भन्नाले निम्न कुरा भएको हुनुपर्छ :
* उद्देश्य जेसुकै भए पनि मानिस बेच्ने वा किन्ने काम
* फाइदा लिई वा नलिई जुनसुकै किसिमले वेश्यावृत्तिमा लगाउने काम
* कानुनबमोजिम बाहेक गैरकानुनी तरिकाले मानिसको अङ्ग झिक्ने काम
* वेश्यागमन

अधिवक्ता कृष्णप्रसाद भण्डारी
मानव ओसारपसारको भनेको कस्तो अवस्था हो ?
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कसैले कुनै मानिसलाई निम्नबमोजिमका क्रियाकलापहरु गरे भएको अवस्था मानव ओसारपसार भएको अवस्था हो :
* वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने
* कुनै प्रकारले ललाइफकाइ गर्ने
* प्रलोभनमा पार्ने
* झुक्याउने, जालसाजी गर्ने
* प्रपञ्च मिलाउने
* जवर्जस्ती गर्ने
* करकापमा पार्ने
* अपहरण गर्ने
* शरीर बन्धक बनाउने
* नाजाय स्थितिको फाइदा लिने
* बेहोस पार्ने
* पद वा शक्तिको दुरुपयोग गरी अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लाने वा
* आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा
* कुनै स्थानमा राख्ने वा
* नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा
* विदेशमा लैजाने वा
* अरु कसैलाई दिने कार्य भन्ने बुझ्नुपर्दछ ।
के प्रयोजनका लागि मानव ओसारपसारको कार्य हुन सक्छन् ?
देहायका प्रयोजनको लागि मानव तस्करहरुले मानवको ओसारपसार गर्छन् ।
* यौन व्यापार, यौन शोषण (Sex trafficking),
* बलपूर्वक श्रम (Force Labour),
* बाध्यतापूर्वक दास (Involuntary subitude)
* जवर्जस्ती विवाह (Forced marriage),
* ऋण दास वा बाँधा (Debt surbitude),
* मागन्ते, भिखारी (Begging)
* बालबालिका बेचबिखन (Selling children)
* मानव अङ्ग झिक्न (Organ removal)
मानव तस्करहरुले मानव ओसारपसार कहाँ गर्छन् ?
* स्वदेशभित्रै एक ठाउँबाट अर्को ठाउँमा
* अन्य मुलुक (विदेश) मा
मानव तस्करको चङ्गुलमा परेका पीडितहरुको अवस्था कस्तो हुनसक्छ ?
यस्ता व्यक्तिहरुलाई बल पूर्वक बेश्याबृत्ति लगायत अन्य ज्यादै निकृष्ट र कष्टपूर्ण काममा लगाइन्छ । काम गरेबापत पारिश्रमिक नदिइने, उनीहरुसँग भएको कागजपत्र खोसिने र पहिचानबिनाको बनाउने कामसमेत हुन्छन् । कुनै उपायले भागेमा मारिदिनेसम्मको डरत्रास र धम्की पनि दिने गरिन्छ । यसरी ओसारपसारको शिकार भएका पीडित मानिसहरुलाई कुनै प्रकारको सहायता पाउन नसक्ने, भाषा नजान्ने मुलुकमा पु¥याइन्छ । यस्ता व्यक्तिहरु कतिपयले कहिल्यै आफ्नो परिवार भेट्न नपाई अन्ततः त्यहीँ मर्न विवश र बाध्यसमेत तुल्याइन्छ ।
विश्व मानव बेचबिखनविरुद्धको दिवस
संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष जुलाई ३० लाई विश्व मानव ओसारपसारविरुद्धको दिवसको रुपमा मनाउने गरेको छ । मानव ओसारपसार विश्वव्यापी समस्या हो । यसको समाधानको लागि विश्वव्यापीरुपमै कार्य गर्नु जरुरी छ । यो समस्याबाट जोगिनको लागि संयुक्त राष्ट्र संघले सचेतना अभिवृद्धिमा जोड दिनुका साथै मानव ओसारपसारबाट सरंक्षण गर्ने, निगरानी गर्न प्रोत्साहित गर्ने, त्यस्ता गिरोहमा संलग्न व्यक्तिलाई कानुनबमोजिम सजाय दिलाउन र विश्वभरि नै पीडितलाई संरक्षण गर्ने कार्यक्रम अघि सारेको छ । यो दिवस मनाउँदै गर्दा बेचखिनमा परेका पीडितहरुको मुक्तिका लागि पनि विश्व समुदायले उत्तिकै सक्रियता र चासोका साथ कार्यक्रमहरु अगाडि ल्याउनु जरुरी छ ।
किनकि समस्या दिनानुदिन बढ्दो छ । प्रत्येक वर्ष विश्वमा मानव ओसारपसार गर्ने मानव तस्करहरुको जालमा हजारांैँ संख्यामा पुरुष, महिला तथा बालबालिका पर्ने गरेका छन् । एकातर्फ यी गिरोहहरुले राम्रो आम्दानी हुने काममा लगाइदिने, जीवनस्तर राम्रो बनाइदिने जस्ता विभिन्न बहानामा विश्वासमा पारेर वा दबाब दिएर वा अपहरण गरेर गरिब परिवारलाई बच्चा बेच्न विवश पारी सोझा सिधा मानिस बेचबिखनमा पर्ने गर्छन् । परिणामतः उनीहरुले आफ्नो पहिचान र अधिकार गुमाउन पुग्छन् र उनीहरु दुरुपयोगमा तथा दूव्र्यसनमा प्रयुक्त हुन पुग्छन् । अर्कातर्फ यस्ता मानव ओसारपसार र बेचबिखनमा संलग्न गिरोहको निमित्त नाफा कमाउने प्रयोजनार्थ मानव बेचबिखन र ओसारपसारको काम लागुऔषध र हातहतियारको कारोबारभन्दा भिन्न हुँदैन । तसर्थ ती उत्तकै सक्रिय रहेका भान हुन्छ ।
राष्ट्रिय मानव ओसारपसार सचेतना दिवस
यो दिवस सन् २०११ देखि प्रारम्भ भएको हो । जनवरी ११ मा अमेरिकी राष्ट्रपति ओवामाले राष्ट्रिय दासत्व र मानव ओसारपसार संरक्षणको लागि घोषणा गरेका थिए । सो घोषणा भएको बार्षिक दिनलाई राष्ट्रिय मानव ओसारपसार सचेतना दिवसको रुपमा प्रत्येक बर्ष जनवरी ११ मा मनाइँदै आएको देखिन्छ । विशेषतः सचेतना कार्यक्रम ग्रासरुटस्तरमा सञ्चालन गरिनुपर्ने हुँदा यस्ता क्रियाकलापका लागि स्थानीय सरकारलाई सक्रियरूपमा परिचालन गर्न सक्नुपर्दछ । ग्रामीण जनसमुदाय चनाखो र सचेत हुन नसक्दासम्म मानव बेचबिखन र ओसारपसार रोगको रूपमा रहिरहन्छ ।
यो कार्यक्रम मानव ओसारपसारविरुद्धको अभियानको अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई विशेष ध्यान दिने, मानिसहरुको पहिचान गर्ने, सहयोग गर्ने, परामर्श दिने, न्याय इन्साफ खोज्ने, अन्याय विरुद्ध चुनौती दिने आदि विषयहरु समेटिएका छन् ।
ब्लु हर्ट अभियान
ब्लू हर्ट मानव ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय प्रतीक चिह्न हो । ब्लु हर्ट अभियानले मानव ओसारपसारविरुद्ध ऐक्यबद्धता दर्शाउँछ । ब्लु हर्टले जो ओसारपसारमा परेका छन्, तिनको पीडा र आफूजस्तै मानवजातिको खरिद बिक्री गर्ने हृदयविहीनता (संवेदनहीनता) स्मरण गराउने विषयको प्रतिनिधित्व गर्छ । ब्लू हर्ट अभियान विश्वव्यापीरूपमा मानव ओसारपसारविरुद्ध लड्ने र यसबाट समाजमा परेको प्रभावबारे सचेतना अभिवृद्धि गराउने अभियान हो । यो अभियानले सरकार, नागरिक समाज, कर्पाेरेट क्षेत्र, व्यक्ति विशेष सबै क्षेत्रका मानीसलाई मानव ओसारपसारविरुद्ध लड्न उत्पे्ररित गर्ने गर्दछ ।
नेपालमा मानव बेचबिखन र ओसारपसारको अवस्था
नेपालमा मानव बेचबिखन तथा ओसारपसार मुलुकभित्र र मुलक बाहिरसमेत हुने गरेको कहालीलाग्दो दृश्य देखिन्छ । मुलुकभित्रको हकमा गाउँका युवती र महिलाहरुलाई गाउँबाट शहरमा यौनशोषणको लागि ल्याउने गरिएको भेटिएको छ । यस्ता युवती र महिलाहरु क्याबिन तथा डान्स रेष्टुरेण्ट, मसाज पार्लरमा संलग्न भएका भेटिन्छन् । त्यस्तै मुलुक बाहिर प्रत्येक वर्ष ५ देखि १० हजार युवती भारतमा पु¥याइन्छन् । हालको अनुमानमा १ देखि २ लाखको संख्यामा नेपाली महिला तथा युवतीहरु भारतमा पु¥याइएका छन् । भारतबाहेकका अन्य मुलुकहरु साउदी अरेबिया, हङकङ, मलेशिया, रसिया, संयुक्त अरब इमिरेट्स र अन्य खाडी मुलुकहरुमा पनि ओसारपसार गरिएका छन् । ती मुलुकहरुमा पु¥याइएकाहरु यौन व्यवसाय तथा घरेलु दासको रूपमा प्रयोग भएका भनिन्छ ।
नेपालमा मानव बेचबिखन तथा ओसारपसार हुनुको मुल कारणमा घरेलु तथा लैङ्गिक हिंसा, बेरोजगारी, सामाजिक बहिस्करण, गरिबी, भ्रष्टाचार, द्वन्द्व, गलत सांस्कृतिक तथा धार्मिक अभ्यास, प्राकृतिक विपद्, जनचेतनाको अभाव आदि मानिएका छन् । रोजगारी अन्य कुरासँग पनि गाँसिएको विषय हो । मुलुकमा रोजगारी सिर्जना गरी मुलुकमा नै आर्थिक गतिविधि बढाउन सकियो भने यी समस्याका अतिरिक्त गरिबी न्यूनीकरणको समस्या समेतलाई सम्बोधन गर्न सकिन्छ । तसर्थ यी मानव बेचबिखन तथा ओसारपसारका कारकहरुलाई समयमै समुचित सम्बोधन गर्नु राज्यको दायित्व हुनाले यसमा राज्य दृृढ संकल्पित भएर लाग्नुपर्दछ ।
नेपालमा मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्य नियन्त्रण गर्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ तर्जुमा गरी लागू गरिएको छ । यो ऐनबमोजिम कसुरदारलाई कसुर अनुसार बढीमा २० वर्ष कैद र दुईलाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधानसमेत रहेको छ । यो दण्डात्मक प्रावधानले निषेधलाई मुखरित गर्ने र सुधारात्मक पद्धतिले आमूल परिवर्तन गर्न सकिन्छ ।
तसर्थ मानव बेचबिखन तथा ओसारपसारको कारणलाई नै सम्बोधन गर्न सकिएमा त्यसको प्रतिफल राम्रो आउने हुनाले पहिचान भएका कारकहरुको यथासमयमा नै सम्बोधन गर्नेतर्फ राज्यले कदम चाल्नुपर्दछ । समयमै सम्बोधन गरिएन भने हामीले यो समस्याबाट पार पाउन कठिन हुनेछ ।
र अन्तमा, अन्तर्राष्ट्रिय मानव ओसारपसारविरुद्धको दिवस मनाउने क्रममा ओसारपसारमा परेका व्यक्तिको पीडा अनुभूत गर्दे आफ्नै मानवजातिको खरिद बिक्रीमा संलग्न संवेदनहीन मानव मात्रको कलङ्कलाई घृणाले स्मरण गरौंँ ।