भरतपुर, १० साउन
भरतपुरको वाल्मीकि शिक्षा सदन स्कूलका विद्यार्थीहरुले ‘अटोमेटिक ह्याण्ड स्यानिटाइजर’ मेसीन तयार पारेका छन् । उक्त स्कूलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको एउटा समूहले मेसीन तयार पारेको हो ।
कोरोना भाइरसको महामारीसँगै अहिले स्यानिटाइजर अनिवार्य बनेको छ । नेपालीहरु पनि स्यानिटाइजरको प्रयोगमा अभ्यस्त बन्दै जाँदा विद्यार्थीहरुले स्वचालित मेसीन तयार पारेका हुन् । उक्त मेसीनमा हात छिराउँदा सेन्सरको माध्यमबाट स्यानिटाइजर आफै खस्छ ।
शुक्रबार आफूले तयार पारेको मेसीन विद्यार्थीहरुले भरतपुर महानगरपालिका कार्यालयलाई हस्तान्तरण गरे । मेसीनको प्रयोग गर्दै मेयर रेनु दाहालले विद्यार्थीहरुले गरेको कामको प्रशंसा गरिन् । “लकडाउनको समयमा विद्यार्थीहरुले असाध्यै राम्रो काम गरेका रहेछन्”, दाहालले भनिन्, “महानगरले उनीहरुको कामलाई प्रोत्सहान गर्नेछ ।” मेयर दाहालले महानगरको कार्यालयसँगै सबै वडा कार्यालयहरुमा पनि यस्तो मेसीन राख्ने बताइन् । हस्तान्तरण कार्यक्रममा सहभागि प्रदेश सांसद विजय सुवेदीले विद्यार्थीहरुलाई यस्ता गतिविधिहरुमा सकृय गराउँदै जान हौसला दिइने बताए ।
सार्वजनिक स्थल तथा कार्यालयहरुका लागि उपयुक्त मानिने यस्तो मेसीन बनाएपछि पहिलो पटक उनीहरुले भरतपुर वडानम्बर ४ को कार्यालयलाई हस्तान्तरण गरेका थिए । विशाल लामिछाने, दिक्षान्त लम्साल, अनिस पाण्डे र अमृत क्षेत्रीको समूहले मेसीन तयार पारेको हो ।
स्कूलका +२ काेर्डिनेटर प्रदिप पौडेलकाअनुसार विद्यार्थीहरुले एउटा मेसीन निर्माण गर्न ६ हजार रुपैयाँ खर्च गरेका छन् । विद्यार्थीहरुले निर्माणका क्रममा लागेको खर्चमै उक्त मेसीन बिक्री गर्ने उनले बताए । उक्त मेसीन आल्मुनियमबाट तयार पारिएको छ । मेसीन सञ्चालन गर्न विद्युत्को आवश्यकता पर्छ । विद्यार्थीहरुले सोलारबाट चल्न सक्ने स्वचालित मेसीन निर्माणको तयारी पनि गरिरहेका छन् ।
यही टिमले केही समयअघि कम्प्युटर एशाेसिएशन नेपाल (क्यान) चितवनले आयाेजना गरेकाे मेलामा भएकाे विज्ञान प्रदर्शनी प्रतियाेगितामा पहिलाे र दाेस्राे स्थान हासिल गरेकाे मेसीनका परिकल्पनाकार ध्रुवप्रसाद पाैडेलले जानकारी दिए ।