भरतपुर, ६ साउन
पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ ।
कार्यालयका प्रमुख ई. कृष्णराज अधिकारीले मंगलबार दिनभर र रातभर पनि काम गरिएको बताए । मौवाखोलामा पुलको एक भाग नै बगेपछि ग्याबिन जालीमा ढुङ्गा भरेर गाडी पार गराउने प्रयास गरिएको छ । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले ढिला गरी ल्याइएको छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने भएकोले ग्याबिन भर्न लागिएको उनले बताए । मंगलबार बेलुकी साढे ७ बजे फोनमा कायाकैरनसँग बोल्दै उनले सामान्य अवस्था रहे बुधबार बेलुकिसम्म गाडी पार गराउन सक्ने आशा व्यक्त गरे । “थप पानी नपरिदिए फटाफट काम गर्न सक्छौँ”, उनले भने, “अहिले हामी पानी तर्काउँदै छौँ, दुईवटा एक्जाभेटर प्रयोग गरिएका छन् । सामान्य अवस्था रह्यो भने भोलि(बुधबार) बेलुकिसम्म केही प्रगति देखिन्छ होला ।”
त्यसका लागि स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग छलफल गरी काम अघि बढाइएको हो । “सुरक्षा पनि अपनाउनु प¥यो”, अधिकारीले भने, “सबै व्यवस्था गरेर हामी निरन्तर खटिरहेका छौँ ।”
मुग्लिङ–नौबिसे खण्डमा मंगलबार पनि ठाउँ–ठाउँमा पहिरो खसेका थिए । तिनीहरु हटाउन पनि मंगलबार दिनभर प्रयास गरिएको उनले बताए । अरु ठाउँमा लगभग एकतर्फी चल्न सक्ने बनाएको उनले बताए । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको थियो ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताएका थिए । उनले भने, “पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि दुई दिन हामीलाई लाग्छ ।” अन्य खुला रहेका सडक प्रयोग गर्न उनले सुझाव दिए । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ ।