भरतपुर/माडी–९ कुसुमखोलाका चेपाङहरुले उचित बसोबासको माग गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुसुमखोलामा २०४७ सालदेखि बस्ती बसेकोे थियो । तर, निकुञ्जले अतिक्रमण गरेर बसेको भन्दै वर्सेनि हटाउन खाजेको थियो । ३ वर्ष पहिलेको बाढीले बालीनाली सखाप परेपछि उचित बसोबासको माग गर्दै वडा कार्यालय पुगेका थिए ।
“निकुञ्जले कुसुमखोला खाली नगरे घर नै भत्काइदिने चेतवानी सधैँ दिन्थ्यो”, कुसुमखोला सुकुमबासी संघर्ष समितिका अध्यक्ष छविलाल चेपाङ भन्छन्, “नगरपालिकाले घर बनाइदिने आश्वासन दिएपछि विस्तारै बस्ती खाली ग¥यौँ, तर अझै सबैको घर बन्न सकेन ।” लोथर, कोराक, गोरखा, धादिङलगायतबाट आएका चेपाङको कुसुमखोलामा १ सय ६० घर थिए ।
करिब ४ सय विघा जग्गा भोगचलनमा थियो । २०७५ पुसदेखि सो बस्ती खाली हुन थालेको हो । अहिले त्यहाँ करिब १० घर मात्रै छन् । “कुसुमखोलाका सबै घरधुरी एकै क्षेत्रमा सार्न माग गरेका थियौँ”, उनले भने, “अहिले ३ वडामा बाँडिएका छौँ, कैयौं घरवारविहीन छन् ।”
नगरपालिकाले खोलाका किनार, सामुदायिक वन आसपासका क्षेत्रमा १ कठ्ठा बढी भोगचलन नगर्ने गरी घर बनाएर बस्न सुझाएको थियो । कुसुमखोलाबाट ९ नम्बर वडाको राईटोल, खरिकुना, ८ को इन्द्रबस्ती, ७ को देवेन्द्रपुरको परुयु क्षेत्रमा स–साना टहरा बस्न थाले । “सुरुमा स्थानीयले नै घर बनाउन दिएनन्”, उनी सम्झन्छन्, “नगरपालिकाले नै समन्वय गरेपछि खाली जग्गामा घर बनाउन पायौँ ।” छविलालले लालपुर्जासहितको जमिनमा घर बनाएर बस्न नपाएको दुखेसो पोख्छन् । “यता पनि घर बनाउदा निकुञ्जले बनाउन पाइँदैन भन्छ”, उनी भन्छन्, “माडी नै मध्यवर्ती क्षेत्र जस्तो लाग्छ, जहाँ जाउँ निकुञ्जको क्षेत्र हो भन्छन् ।” उनले घर वरपरको जग्गा कमाउने अवस्था समेत नभएकाले जीविका चलाउनै गारो भएको बताउँछन् ।
शनिबार निकुञ्जको बगई पोष्टबाट ७ हात्ती परिचालन गरेर कुसुमखोलामा रहेका ८ घर भत्काइदिएको थियो । २ घरमा आगजानी गरेको स्थानीय बताउँछन् । “पानीको ओत लागेर बसेका थियौँ, दिउसो हात्तीले घर भत्काउन थाल्यो”, स्थानीय दाङबहादुर प्रजा भन्छन्, “धान, मकै पनि माडिदियो, घरमा आगो नै लगाइदिए ।” उनको परिवार ३ वर्ष पहिले खरिकुना सरेका थिए । पछि परुयुतिर घर बनाएका थिए । “घरको काठ कुसुमखोलातिरै थियो, बाली रेखदेख गर्न प्राय आउँथे”, उनी भन्छन्, “वर्षातमा समेत उठिवास लगाउने काम भयो ।” नागरिकता सहितका कागजपत्र, नगद १० हजार रुपैयाँ समेत जलेको उनले बताए । “परुयुतिर सानो घर छ, जमिन यतै भएकाले यताको बाली रेखदेख गर्न बसेको हुँ”, उनले भने, “उचित व्यवस्थापन उतै भएको भए फर्केर किन आउँथे र ?”
कुसुमखोलाको बस्ती सार्दा पनि असहयोग
निकुञ्जको एक्लो प्रयासले बस्ती खाली नभएपछि माडी नगरपालिकालेनै स्थानीय चेपाङलाई बस्ती खाली गरेर सरे घर बनाइदिने आश्वासन दिएको थियो । मेयर ठाकुरप्रसाद ढकालले बस्ती खाली गर्न खोज्दासमेत निकुञ्ज असहयोगी बनेको आरोप लगाए । “जंगलभित्र छ, यहाँ नापी पनि हुँदैन, बस्न गाह्रो छ, सर्नु भनेपछि उहाँहरु सर्न थाल्नुभयो”, उनले भने, “४ सय विघा जमिन खालि गरिदिएर अन्यत्रै घर बनाउन खोज्दा फेरी अवरोध गर्न थाल्यो ।”
उनका अनुसार १ सय ८० घर बनाउने लक्ष्य छ । “ऐलानी र प्रतिजग्गा खोजेर सुरुक्षित बसोबासको व्यवस्था मिलाउन थालेका थियौँ”, मेयर ढकाल भन्छन्, “कतै सामुदायिक वन पर्दैन । तर, निकुञ्ज सधैँ असहयोगी बन्छ ।” उनका राइटोलमा फागुनबाट घर बनाउन थालिएको थियो । २८ घर बनिसकेका छन्, १३ घरमा टिन राख्न खोज्दा निकुञ्जले रोकेको छ । इन्द्रबस्तीमा २९ र परुयुमा ५३ घर बनाइनेछ । परुयुमा १४ घरमात्रै बनेका छन् ।
नगरपालिकाले जनता आवास कार्यक्रममार्फत २ कोठे घर बनाउन सहयोग गरेको हो । कुसुमखोलाबाट पुरानो घरको संरचना ओसार्नसमेत सहयोग गरेको थियो । “जेठ १६ पछि निकुञ्जले घर बनाउन पनि दिएको छैन”, उनले भने, “यता घर नभएपछि केही कुसुमखोलामै बस्न बाध्य छन् ।” उनले सूचीकृत भएका चेपाङलाई ब्लक र टिनको घर बनाउन नगरपालिकाले सहयोग गर्दै आएको बताए । “शनिबार भत्काइदिएका घर तुरुन्तै बनाउन पहल गर्नेछौँ”, उनले भने, “अमानवीय काम नगर्न निकुञ्जलाई चेतावनी दिएका छौँ ।” वडा–९ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीले चेपाङको घरबास बनाउन निकुञ्जले रोकेको बताए । “तटबन्धन गरेर, शौचालय, खानेपानीलगायतका सुविधासहितको घर बनाउँदै थियौँ”, उनी भन्छन्, “जता सार्न खोजे पनि निकुञ्जले सधै निहुँमात्र खोज्छ ।” असोजसम्म कुसुमखोला खाली नभए निकुञ्जसँगै समन्वय गरेर सार्ने योजना रहे पनि निकुञ्ज प्रशासनले दमनकारी शैली अपनाएको बताए ।
भत्काइएको घर कि झुप्रो ?
शनिबार निकुञ्जले हात्ती लगाएर कुसुमखोलमा घर भत्काएको खबर भोलिपल्ट सार्वजनिक भयो । तर, निकुञ्जले घर नभत्काएको जिकिर गर्छ । “बाली कुर्न बनाइएका झुप्रा भत्काएका हौँ, ती वास्तविक घर होइनन्”, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख नारायण रुपाखेतीले भने, “घर नै भत्कायो, आगो लगायो भनेर अतिरञ्जित भयो, वास्तवमा त्यो सत्य होइन ।” उनले बस्ती सरेर गएकाहरु बाली लगाउन पुनः तिनै झुप्रामा बसेर रेखदेख गरेको जानकारी पाएपछि अटेर गर्नेका झुप्रा भत्काएको स्वीकारे ।
“वर्षातका बेला बसिरहेका घर भत्काउने काम हामीले गरेका होइनौँ”, उनले भने, “अमानवीय क्रुर व्यवहार गरेका छैनौँ, बाली नलगाउनु भनेर साङ्केतिकरुपमा केही अस्थायी टहरा हटाएका हौँ ।” तर, माडी नगरपालिकाले सो ठाउँमा बस्दै आएका घर नै भत्काएको, आगजनी गरेको आरोप लगाएको छ । आइतबार मेयर ढकालद्वारा जारी विज्ञप्तिमा ‘हात्ती लगाएर घरहरु भत्काएमो घोर भत्र्सना’ गरिएको उल्लेख छ । लत्ताकपडा, भाडाकुडा, महत्वपूर्ण कागजात तथा रकमसमेत नष्ट हुने गरी २ वटा घरमा आगो लगाउने तथा ८ घरहरु भत्काउने निकृष्ट काम गरेको आरोप लगाएको छ ।
वडाध्यक्ष सुवेदीले बसोबास गरिरहेकै घर भत्काएको जिकिर गरे । “गाँस, वास, कपासको उचित व्यवस्था नभए नगरपालिकानै बन्द गरेर आन्दोलनमा होमिन्छौँ”, माडीका चेपाङ अगुवा छविलाल भन्छन्, “बस्ती छाडेर नयाँ ठाउँ सरेकाको घर तुरुन्तै बन्नुपर्छ, रोजगारीको व्यवस्था हुनुपर्छ ।” नेकपा माडी र कांग्रेस माडीले कुसुमखोलामा निकुञ्जले गरेको हस्तक्षेपको भत्र्सना गरेका छन् । बाँदरझुलामा ७ सय घरधुरी छन् । यो क्षेत्रमा बेलाबखत निकुञ्जले बस्ती खाली गराउने भन्दै निगरानी बढाउने गर्छ ।
घटनाको भत्र्सना
निकुञ्जले माडीको कुसुमखोलामा हात्ती लगाएर घर भत्काएको घटनाको तीव्र आलोचना भएको छ । नेकपा चितवन, नेपाली कांग्रेस चितवन, जिल्ला समन्वय समिति चितवनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका छन् । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारद्वारा जारी विद्दप्तिमा ‘वर्षातको समयमा न्यूनतम मानवीयतासमेत नराखी स्थानीय सरकार र राजनीतिक दलहरुसँग परामर्श र समन्वय नगरि यस प्रकारको जनविरोधि हर्कत हामीलाई मान्य नहुने’ उल्लेख छ ।
घटनाको दोषीउपर कडा कारवाही र घरबासविहीन जनताको पुनर्वासका लागि जोडदार मागसमेत गरिएको छ । माडी नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रसमेत हो । प्रचण्डको पहलमा सो बस्तीलाई उचित स्थानान्तरण र पक्की आवास निर्माणको काम माडी नगरपालिकाले गरिराखेको थियो ।
नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा जारी विज्ञप्तिमा ‘अप्रिय र गैरजिम्मेवार घटना’ भनेर आलोचना गरिएको छ । स्थायी बसोबास र जग्गाधनीपुर्जाको माग समेत पुरा गर्न ध्यानाकर्षण गराइएको छ । जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीद्वारा जारी विज्ञप्तिमा ‘उपयुक्त अर्को विकल्प विनै हस्तक्षेप गर्ने निकुञ्ज प्रशासनको निन्दनीय कार्यप्रति खेद व्यक्त’ गरिएको छ ।
भत्काइएको तथा आगजनी गरेका घरको उचित व्यवस्थापन र क्षतिपूर्तिको दिलाउन माग गरिएको छ । यस्तै नेकपा नगर कमिटी माडी अध्यक्ष प्रभुप्रसाद महतो र कांग्रेस नगर समितिका अध्यक्ष कोमलनाथ भुषालले सुकुमबासी समस्या बेलैमा सम्बोधन गरेर उचित बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
यसैबीच कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ समुदायका घरहरुमा साउन ४ गते चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गर्नुका साथै हात्ती लगाएर घरहरु भत्काएकोमा राष्ट्रिय मानवअधिकार आयोग, जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक कमल पाठकले सोमबार एक विज्ञप्ति जारी गरी आम जनताको गाँस, बास र कपासको सम्बन्धमा न्यूनतम मानवअधिकारसमेत ख्याल नगरी निकुञ्ज प्रशासनबाट सीमान्तकृत सुकुम्बासी चेपाङ समुदाय लक्षित निकृष्ट र अमानवीय कार्य भएकोमा आपत्ति जनाएका छन् ।
लामो समयदेखि बस्दै आएको सुकुमबासी बस्तीमा उपयुक्त अर्को विकल्पविनै हस्तक्षेप गर्ने निकुञ्ज प्रशासनको निन्दनीय कार्यप्रति खेद व्यक्त गर्दै घरबारविहीन बनाइएका ती सुकुमबासी चेपाङको उचित व्यवस्थापन र क्षतिपूर्तिको लागी सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइएको छ ।