भरतपुर, ६ साउन
नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो हटाउने काम जारी छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने उक्त ठाउँमा केहीबेरदेखि पानी पर्न रोकिएको मौकामा पहिरो हटाउन थालिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
खनालका अनुसार पहिरो झण्डै ५० मिटर लामो छ । सोमबार विहानैबाट अवरुद्ध सडकखण्ड खुलाउन चारवटा डोजर लगाएर काम भैरहेको छ ।
सोमबार दिउँसो चार बजेतिर पहिरो हटाउने प्रयास गरिए पनि नसकेपछि छाडिएको थियो । पानी रोकिए केही घण्टामा पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गर्न सकिने इन्जिनियर खनालले बताए ।
नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा कतै पहिरो खसेको छ भने कतै सडक भासिएको छ । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका ठूला शहर तथा विभिन्न जिल्लामा जाने सवारी साधानहरु बाटोमा नै रोकिएका छन् । कतिपय सवारी साधनहरुलाई आँपटारी, रामनगरलगायत स्थानमा रोकिएको छ ।
प्रहरीले वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न भने पनि विभिन्न राजमार्गहरुमा पहिरो गएको तथा सडक भत्किएकाले जान सक्ने अवस्था छैन ।
काठमाडौं जान वैकल्पिक मार्गका रुपमा प्रयोग गरिने मकवानपुरको भिमफेदीको सडक पनि पहिरोका कारण अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशिलसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार हेटौंडा–दामन–पालुङ हुँदै नौबिसे निस्कने सडकखण्ड मात्रै सुचारु छ । साना सवारी साधन मात्रै यो सडकखण्ड भएर सहज यात्रा गर्न सक्ने हुँदा ठूला सवारी साधनहरुलाई समस्या भएको प्रहरीको भनाइ छ ।