भरतपुर, ६ साउन
नारायणी र राप्ती नदी पानीको सतह निकै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीले खतराको तह पार गरेको छ भने, राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ ।
नारायणी नदीको जलसतह देवघाटमा ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह ९.६३ मिटर पुगेको छ । जल सतह अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नारायणी नदी बढ्दा भरतपुर महानगरपालिका वडा नम्बर २६ का विभिन्न स्थानमा कटान र डुबान हुन थालेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार वडाको कोइला, सिसैँ, भगडिलगायतका ठाउँ सबैभन्दा बढी जोखिममा छन् । सो ठाउँका झण्डै ३० घर परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष खनालले बताए । उनले जुनसुकै बेला पनि कटान गरेर नदी बस्तीमा पस्ने खतरा रहेको बताए । वडा नम्बर २७ को न्यूरेचोक पनि उत्तिकै जोखिममा छ ।
यसैगरी चितवनको नारायणगढस्थित नारायणी नदी पुलमा पनि बाढीले सतर्कताको तह पार गरेको छ । नारायणगढ पुलमा ११ मिटरसम्म सतर्कताको तह मानिन्छ, तर अहिले जलसतह १२.४३ मिटर पुगेको छ ।
यस्तै चितवनको पूर्वमा बग्ने राप्ती नदीमा पनि जलसतह बढेको छ । पूर्वी राप्ती नदीको बाढी मापनकेन्द्र रजैयामा जलसतह चेतावनीको तहभन्दा माथि गएको छ । रजैयामा ३.३० मिटरमा चेतावनीको तह मानिन्छ । अहिले पानीको सतह ३.३६ पुगेको छ ।
नदीमा पानीको सतह खतराको तह ३.३७ मिटर नजिक पुगेको छ । यसको ट्रेण्ड बढ्ने देखिएको छ । राप्ती नदीमा पानी बढ्दा त्यसको मार पर्यटकीय क्षेत्रमा पर्न सक्छ । यही नदी बढ्दा पटक–पटक सौराहा डुबानमा पार्दै आएको छ । पटिहानी र जगतपुर क्षेत्र पनि जोखिममा पर्ने खतरा हुन्छ ।
नारायणी र राप्ती नदीमा जलसतह बढ्नेक्रममा रहेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले उक्त क्षेत्रका वासिन्दाहरुको मोबाइलमा म्यासेज समेत पठाएर सतर्क रहन भनेको छ ।