चितवन, १७ असार । नारायणगढ– मुग्लिन सडक खण्डमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ११ः४५ बजे सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी त्रिशूली नदीमा खसेर बेपत्ता हुनुभएको हो ।
सो सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्यालीबजारबाट चौधरी एक सय मिटर तल त्रिशूलीमा खस्नु भएको हो । सो सडकको मुग्लिनबाट २ दशमलव पाँच किलोमिटर नारायणगढ तर्फ शुक्रबार बिहानबाट पहिरो खसेर सडक अवरुद्ध भएपछि पैदल हिँड्दै आउनुभएका चौधरी त्रिशूलीमा खस्नुभएको हो ।
पोखराबाट घरतर्फ जान आउँदै गर्दा तनहँुको आँबुखैरहनीमा बसबाट झरेर हिँड्दै आउने क्रममा घटना भएको प्रहरीले जनाएको छ । पहिरो कटेर बस चढ्ने योजना बनाउनुभएका चौधरी बीचबाटोमानै त्रिशूलीमा खस्नुभएको हो । उहाँको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजीकार्य जारी राखेको छ । सोही सडकमा थप पहिरो आएपछि भाग्ने क्रममा हिजो पनि एक जनाको त्रिशूलीमा खसेर मृत्यु भएको थियो ।