खैरहनी, १ साउन
लकडाउनले आर्थिक क्षेत्रमा असर परे पनि चितवनको खैरहनी नगरपालिकाको राजस्व संकलनमा भने प्रभाव परेन । राजस्व संकलनमा अब्वल बन्दै गएको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७६÷०७७ मा १० करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।
यसमा लागत सहभागिता जोडिएको छैन । लागत सहभागितासहित गत आर्थिक वर्षमा १४ करोड २९ लाख २० हजार रुपैयाँ संकलन गरेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए । गत आर्थिक वर्षमा ३ करोड ३६ लाख रुपैयाँ लागत सहभागिताबाट जुटेको थियो । गत आर्थिक वर्षमा खैरहनीले ९ करोड २५ लाख रुपैयाँ आन्तरिक श्रोतबाट संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा झण्डै १८ प्रतिशत बढी रकम संकलन गरेको नगरपालिका प्रमुख चौधरीले बताए ।
आर्थिक वर्ष २०७७÷०७८ मा खैरहनी नगरपालिकाले १० करोड ११ लाख रुपैयाँ आन्तरिक श्रोतबाट संकलन गर्ने अनुमान गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दा बढी घरजग्गा रजिष्ट्रेशनबाट ६ करोड १५ लाख ३२ हजार रुपैयाँ संकलन भएको छ ।
त्यस्तै एकीकृत सम्पत्ती करबाट १ करोड ६८ लाख ४३ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरमार्फत ६८ लाख ५० हजार, घरवहाल करमार्फत ४८ लाख, अन्य दस्तुरबाट ४० लाख ५८ हजार, सिफारीस दस्तुरबाट ३६ लाख २७ हजार रुपैयाँ संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए ।
यसैगरी नक्सापास दस्तुरबाट ३२ लाख, भूमिकर÷मालपोतमार्फत १५ लाख ९१ हजार, प्राकृतिक श्रोतको वाँडफाँटबाट १० लाख २९ हजार रुपैयाँ, नाता प्रमाणित दस्तुर मार्फत ७ लाख ३० हजार, वहाल विटौरी कर मार्फत ७ लाख १८ हजार रुपैयाँ संकलन भएको छ ।
खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले आन्तरिक श्रोतमा अब्वल बन्दै जानु नगर समृद्धीकोे आधार रहेको बताइन् । जनप्रतिनिधि निर्वाचित भएको वर्ष ३ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा तीन वर्षको अवधिमा ७ करोड भन्दा बढी राजस्व संकलन भएको उपप्रमुख थपलियाले बताइन् ।