भरतपुर/चितवन माविले विद्यालयको आम्दानी बढाएको छ । २०११ सालमा स्थापना भएको विद्यालयको ९ विघा १० कठ्ठा ११ धुर जग्गा छ । जसमध्ये ३ विघा जग्गा व्यावसायिक प्रयोजनमा भाडा लगाएको छ । २०७४ सालपछि आम्दानी दोब्बर बढाएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएपछि डिल्लीराम लामिछाने ‘मिलन’ ले करार सम्झौता अवधि सकेका जग्गा तथा सटरको भाडा दोब्बर बढाउने नेतृत्व लिए । उनी २०७४ चैत ४ गते १४ औं अध्यक्षमा चुनिएका थिए ।
“सुरुमा आउँदा निकै चूनौती थिए, मुद्धाका चाङ थिए”, विगत सम्झदै लामिछानेले भने, “चलनचल्तीको भाडामा लगाउनु निकै गारो थियो ।” उनका अनुसार यो वर्षमात्रै २ करोड २१ लाख भाडा मार्फत विद्यालयले आम्दानी गर्दैछ । २०७४ सालमा विद्यालयले १ करोड १० लाख ९१ हजार भाडा वापत आम्दानी गरेको थियो। “आम्दानी बढ्दा विद्यालयले शैक्षिक गुणस्तरमा पनि सुधार गर्ने अवसर पाएको छ”, उनी भन्छन्, “स्थानीयको रोजाईमा भविष्यमा विद्यालय रोजाईमा पर्ने विश्वास लिएको छु ।” भाडा आम्दानीले विद्यालयले शिक्षक–शिक्षिका, कर्मचारीको तलब, भौतिक पूर्वाधारमा खर्च गर्दै आएको छ ।
अध्यक्ष पदको उनको कार्याकाल सकिएको छ । विद्यालयको आकर्षक मूल भवन रंगरोगन, वीरेन्द्र क्याम्पस चोकको भवनमा ट्रस निर्माण, कन्या कलेज अगाडी राजमार्गसँग जोडिएको जग्गा संरक्षण लगायतका काम भएका छन् । विद्यालयले ३३ वटा सटर, चितवन मेडिकल कलेज, दिवा पेट्रोल पप्प, बुद्ध बजार लगायतलाई भाडा लगाएको छ । चितवन मेडिकल कलेजले वर्षेनी ३९ लाख रुपैयाँ भाडा बुझाउँछ । जग्गा सटर भाडामा लगाउदा, शिक्षक नियुक्ति लगायतका विषयका मुद्धा परेपनि अहिले विचराधिन सबै मुद्धा टुंगिएका छन् । २०७४ साल अघि ४ र पछि ४ मुद्धा परेका थिए । “मुद्धा मामिलाले विद्यालय समस्यामा थियो, अहिले त्यो अवस्था छैन”, उनले भने, “अब सबै ध्यान शैक्षिक गुणस्तर सुधारमा लाग्ने वातावरण बनेको छ ।”
उनका अनुसार विद्यार्थीको चाप पनि बढेको छ । हाल विद्यालयमा ८ सय विद्यार्थी छन् । विद्यालयमा गत वर्ष करिब २ सय बढी नयाँ विद्यार्थी भर्ना भएका थिए । २ वर्ष यता एसईई परीक्षालाई लक्षित गरी आवासीय पढाई समेत चलाएको थियो । “अंगेजी माध्यममा पढाई हुदै आएको छ”, उनले भने, “अंग्रेजी माध्यमका पाठ्यपुस्तक समेत विद्यालयलेनै खरिद गरेर विद्यार्थीलाई उपलब्ध गराउदै आएको छ ।” कक्षा ५ सम्म अंग्रेजी र सो माथि नेपाली र अंग्रेजी दुवै माध्यमको पढाई हुदै आएको छ । “सामुदायीक विद्यालयमै अंग्रेजी माध्यममा पढ्न पाएपछि स्थानीय विद्यार्थी लाभान्वित बनेका छन्”, उनले भने, “महानगरले तोके बाहेकको परीक्षा शुल्क बाहेक कुनै शुल्क लिएका छैनौँ, पूर्णतया निःशुल्क शिक्षा दिदै आएका छौँ ।” झोला, पोशाक, टाई, वेल्ट नेपाली माध्यमका विद्यार्थीलाई सरकारलेनै दिएपनि अंग्रेजी माध्यमका विद्यार्थीलाई समेत विद्यालयलेनै उपलब्ध गराउँदै आएको छ । बालबालिकालाई मन्टेश्वरी शैलीको पढाई समेत चलाउँदै आएको थियो ।
“प्राविधिक शिक्षा सञ्चालनका लागि सिटिइभीटीमा आवेदन दिएका थियौँ, लगत्तै भएको लकडाउनले डिप्लोमा तहको कार्यक्रम चलाउन सकिएन”, लामिछानेले भने, “सम्बन्धन प्राप्तका लागि अबको विद्यालय व्यवस्थापन समितिले सक्रियता देखाउनुपर्छ ।” उनका अनुसार कक्षा ११ मा ‘जनरल ल’ र व्याचलरमा ‘ज्योमेट्रिक इञ्जिनियरिङ’ पढाउने योजना अगाडी बढाइएको थियो । विद्यालयमा रहेको बहिरा तथा सुस्त श्रवण इकाई समेत चलाउँदै आएको छ । अपुग रकम विद्यायलयनले खर्च जुटाउँदै आएको छ । चितवन मावि जिल्लाकै पहिलो शैक्षिक संस्था हो ।
३० लाख भाडा छुट
कोरोना भाइरसको संक्रमण फैलिने डरले चैत ११ देखि लकडाउन भएपछि बन्द भएका व्यवसायलाई चितवन माविले भाडा छुट दिने भएको छ ।
आफ्नो जग्गामा रहेका सटर तथा जग्गा भाडा लिएर व्यवसाय गर्दै आएकालाई डेढ महिनाको भाडा छुट दिने भएको छ । विद्यालयका प्राचार्य मुक्तिनाथ लामिछानेले विद्यालय व्यवस्थापन समितिले करिब ३० लाख बराबरको भाडा छुट दिने निर्णय गरेको जानकारी दिए । यो छुट सुविधा पेट्रोल पप्प र चितवन मेडिकल कलेज बाहेकले पाएका छन् ।
सिएमसीद्वारा उपचारमा छुट
चितवन मेडिकल कलेजले चितवन माविमा पढ्ने विद्यार्थी, उनका अभिभावक र शिक्षकलाई उपचारमा सहुलियत दिदै आएको छ ।
विद्यालयका लेखापाल विशाल चापागाईका अनुसार विद्यार्थीलाई २५, अभिभावक तथा शिक्षक लाई २० प्रतिशत र मेजर अप्रेशनमा ५० प्रतिशतसम्म सहुलियत दिदै आएको छ ।