भरतपुर/चितवन जिल्लामा धानखेती हुने कुल जमिनको करिब ७० प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ । यस वर्ष आकाशबाट नियमितजसो पानी परेकाले रोपाइँ सजिलो भएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको हो । “जिल्लाभरि धानखेती हुने गरेको जमिनको लगभग सत्तरी प्रतिशत भागमा रोपाइँ सकिएको छ ।
पश्चिम चितवनका केही ठाउँमा मकै थन्काउन बाँकी भएकाले त्यता रोपाइँ सुरु हुन सकेको छैन”, ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले भने । पूर्वी चितवनमा भने रोपाइँ अन्तिम चरण पुगेको उनको भनाइ छ । उनका अनुसार श्रावण महिनाको तेस्रो हप्तासम्ममा जिल्लामा रोपाइँको पूरै काम सकिने छ ।
रोपाइँका लागि आवश्यक पर्ने डीएपी र पोटास पर्याप्त रहे पनि युरिया मलको भने अझै पनि अभाव रहेको ढकालले सुनाए । “अहिले धान रोप्नका लागि चाहिने मल मौज्दातमा रहेको जानकारी पाएका छौँ । पछि झार गोड्ने बेलामा युरिया मलको प्रयोग हुने हो”, उनले थपे, “मल आयात गर्नुहोस् भनेर कृषि सामग्री कम्पनीलाई आग्रह भने गरिरहेका छौँ ।” चितवनमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेसनले मल उपलब्ध गराउँदै आएकामा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण मल आयातमा कठिनाइ भएको उनीहरूको दाबी छ । “कृषि सामग्री लिमिटेडले करिब ५० हजार र साल्ट टे«डिङले साढे २१ हजार मेट्रिक टन युरिया खरिद गरेका छन् । तर, लकडाउनका कारण कहिले आउने हो अन्योल छ”, कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुरका शाखा प्रबन्धक रवीन्द्र गौतमले भने ।
यता जिल्ला भएर बग्ने नदी तथा खोलानालामा पानीको बहाव उच्च रहँदा बाढीको पानी पसेर खेत नै डुबाउने अवस्था पनि आउन सक्नेतर्फ पनि आफूहरू सचेत भएको पनि ज्ञान केन्द्रका प्रमुख ढकालले जानकारी दिए । “लगाएको बालीमा रोग लागेमा के गर्ने, अन्य प्रकोप आइपरेमा के गर्ने भन्ने कुराको योजना बनाउँछौँ । ती कुरालाई विपद्को समितिमा राखेपछि राहतको सवालमा अनि बल्ल निर्णय गर्छाैँ”, ढकालले भने ।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लाभर २७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेती गर्ने गरिएको छ । त्यसमध्ये करिब ७ हजार हेक्टरमा चैते धानको खेती गर्ने गरिएको छ भने बाँकीमा वर्षाकालीन धानखेती गर्ने गरिएको छ । वर्षायाममा गरिने धानखेतीबाट मात्रै जिल्लामा वार्षिक करिब १२ हजार ६ सय टनभन्दा बढी धान उत्पादन हुँदै आएको छ ।
सलह कीराको चिन्ता
धान रोपाइँ सम्पन्न हुनै लाग्दा किसानमा सलह कीराको ठूलो झुण्डले फेरि पनि बालीमा आक्रमण गर्ने हो कि भन्ने शंका उब्जिएको छ । यसअघि स–साना झुण्डमा देखिएका सलह कीराले चितवन तथा मकवानपुर जिल्लामा बढी असर पार्ने भनेर कृषि मन्त्रालयले अनुमान गरेको भए पनि झुण्ड तितरवितर हुँदा खासै असर गरेको पाइएन ।
पश्चिम नेपालबाट पुनः प्रवेश गरेको सलहको अर्काे झुण्ड यहाँसम्म आइपुग्ने हो भने धानका बिरुवा नष्ट हुन सक्ने भन्दै रोकथाम स्वरूप ज्ञान केन्द्रले पूर्वतयारी थालेको जनाएको छ । “यहाँ आइपुगेका सलह बास खोज्दै आएकाजस्तो मात्रै देखिए । त्यसकारण ठूलो क्षति पु¥याउन सकेनन् । आफैँ मरेर सकिए”, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले भने, “फेरि पनि सलह भित्रिएका खण्डमा चुनौती थपिने देखिन्छ । कार्यालयदेखि सर्वसाधारणसम्म सबैलाई जनचेतना फैलाउने काम गरेका छौँ ।” सलह नियन्त्रणका लागि विषादीको प्रयोग गर्नुपर्ने अवस्था आएमा औषधि छर्कन ड्रोनलाई समेत तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।