भरतपुर, ३१ असार
चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ । फोब्र्सले प्रकाशित गर्ने विश्वका अर्बपतिहरुको सूचीमा समेत परेका व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो । सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो ।
चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत होस् भनेर भाडा छुटको निर्देशन दिएका हुन् । लकडाउनकै समयमा यहाँ आइपुग्नुभएका उनले मलका व्यवसायीको मर्का बुझेर स्वतःस्फूर्त रुपमा लकडाउन अवधिभरको भाडा नलिन निर्देशन दिएको सिजी ल्याण्डमार्कले जनाएको छ ।
उक्त मल व्यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी (बिएमसी)का सञ्चालक, राजेन्द्र अर्यालले भाडा छुटबारे व्यवसायीलाई जानकारी गराए । चौधरीको यो निर्णयबाट मलका व्यवसायी निकै उत्साहित भएका छन् । मलमा व्यवसाय सञ्चालन गरिरहेका विदुर पौडेलले पलायनको खतरा टरेको प्रतिक्रिया दिए । “कारोबार गर्न नपाएको चार महिना बितिसक्यो । यस्तोमा भाडा तिर्नुपरेको भए पलायन हुनुपर्ने अवस्था आउँथ्यो,” पौडेलले भने, “माननीय चौधरीको कदमबाट हामीले ठूलो राहत महसुस गरेका छौं । व्यवसायका चुनौती र समस्या राम्ररी बुझेको मान्छे हुनुको फाइदा यही रहेछ ।”
मलमा पपुलर युनिसेक्स सलोन सञ्चालन गर्दै आएका व्यवसायी सुलभ सिग्देलले भाडा छुटको निर्णयले व्यवसायलाई अघि बढाउन सहयोग पुग्ने बताए । उनले यो निर्णयले धेरै व्यवसायीहरुले राहत महसुस गरेको प्रतिकृया दिए ।
मलका अर्का व्यवसायी रोशन तिवारीले पनि भाडा छुटको निर्णयबाट आफू निकै हौसिएको बताए । मलका म्यानेजर उज्ज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन् । सरकारले सपिङ कम्प्लेक्सहरु सञ्चालन गर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको केसीको भनाइ छ । सामाजिक दूरी, मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीको व्यवस्था लगायत स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गरे÷नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सूक्ष्म रुपमा निगरानी गरे ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाएको म्यानेजर केसीले जानकारी दिए ।
मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा निःसंक्रमित गर्ने गरेको उनको भनाइ छ ।