मिलन समीर विशेषगरी कविता, मुक्तक र गजल सिर्जना गर्छन् । निबन्ध लेखन र समालोचना पनि उनको रुचि हो । कायाकैरन दैनिकको साप्ताहिक साहित्य परिशिष्टाङ्क ‘साहित्य सकुन’को चैतको दुई साता र असारका सबै आइतबार उनलाई पाहुना बनाइएको थियो । त्यसअन्तर्गत असारको अन्तिम आइतबार २८ गते उनको अन्तरवार्ता प्रकाशन गरिएको थियो । प्रस्तुत छ लेखराम सापकोटाले उनीसँग गरेको अन्तरवार्ता :
लकडाउनको समयलाई कसरी सदुपयोग गरिरहनुभएको छ ?
लकडाउनको अहिलेसम्मको केही अपवादबाहेक सम्पूर्ण समयलाई मैले साहित्यिक अध्ययन र लेखनको निरन्तरतासँगै साहित्यिक गतिविधिमै पूर्णरूपमा सदुपयोग गरिरहेको छु । मेरो आफ्नो व्यक्तिगत साहित्यिक इतिहासको सन्दर्भमा यतिबेलाको यो लकडाउनको समय स्वर्णिम युगको रूपमा सुरक्षित रहने छ भन्ने कुरामा म ढुक्क छु । किनकि विशेष साहित्यिक अध्ययन र सार्थक लेखनको निरन्तरतासँगै जुन किसिमको विशेष साहित्यिक गतिविधिमा यतिबेला म व्यस्त भइरहेको छु नि ! प्रिय मित्र लेखराम जी, त्यसको अर्थपूर्ण महत्त्व रहेको छ भन्ने कुरामा म निश्चिन्त छु । त्यसैले लकडाउनको यति धेरै लामो समय कुनै दिकदारीबिना सजिलै बितिरहेको छ ।
सिर्जनासँगै साहित्य पठनमा पनि रुचि देखिन्छ यहाँको । विशेषगरी कुन–कुन विधाका किताब पढ्न रुचाउनुहुन्छ ?
साहित्य सिर्जनासँगै साहित्यको गम्भीर अध्ययनमा भएको मेरो रुचि पुरानै हो । स्कुले जीवनदेखि नै शिलान्यास भएको थियोे मेरो साहित्य सिर्जनासँगै साहित्य पठनको सन्दर्भ । साहित्य पठनको सन्दर्भमा खासगरी कविता, आख्यान र निबन्धलगाय विधा केन्द्रित उत्कृष्ट कृतिहरु खोजी–खोजी पढ्न रुचाउँछु । त्यसैगरी समसामयिक विषय सन्दर्भमा केन्द्रित रहेर लेखिएका उत्कृष्ट कृतिहरु पनि मेरो विशेष रोजाइमा पर्छन् ।
किताब छनोट गर्ने आधार केलाई बनाउनुहुन्छ ?
किताब छनोट गर्ने सन्दर्भमा चाहिँ म अलि कठोर छु कि जस्तो लाग्छ । प्रकाशन भएर सार्वजनिक हुनासाथ व्यापकरूपमा हल्लाखल्ला मच्चाउँदै गरेका किताबहरु मैले झ्याप्पै किनिहाल्दिन । हरेक हिसाबले उत्कृष्ट प्रमाणित भएका पुराना किताबहरु मैले खोजी–खोजी किनेर पढिरहेको हुन्छु । अग्रज र समकालीन युवा सहृदयी सिर्जनशील प्रिय पाठक मित्रहरु, जसले सिफारिस गरेका किताबहरु कहिल्यै झुर हुँदैनन् भन्ने कुरामा म विश्वस्त भएको छु भने यसलाई पनि मैले किताब छनोट गर्ने आधार बनाइरहेको हुन्छु ।
खासगरी एउटा किताब कति बसाइमा पढिसक्नुहुन्छ ?
अनुकूल समय मिलाएर मन परेको किताब पढ्न सुरु गरिएको अवस्थामा उस्तै परे एकै बसाइमा पनि पढिसकिन्छ । पढ्न बसिसकेपछिको अवस्थामा अचानक जरुरी काम आइलागेको अवस्था पनि हुनसक्छ कहिले फेरि । त्यस्तो अवस्थामा निकै मन परेको किताब हुँदाहुँदै पनि धेरै बसाइ लिनसक्ने हुन्छ ।
किताब पढ्न रुचि राख्ने तर किताब छनोट गर्न नसक्नेलाई तपाईंको सुझाव के रहन्छ ?
किताब पढ्न रुचि राख्नुहुने तर किताब छनोट गर्न नसक्नु हुने सहृदयी सिर्जनशील प्रिय पाठक मनहरुलाई मैले सुझावको रूपमा के भन्न चाहन्छु भने हतारिएर किताब कहिल्यै पनि नकिन्नुहोला । लेखकको नाम हेरेर मात्रै पनि किताब नकिन्नुहोला । किताबको आवरण र शीर्षक मात्रै हेरेर पनि कहिल्यै नकिन्नुहोला । निकै पुराना भएर पनि महत्त्वपूर्ण छन् भन्ने तथ्य स्थापित भएका किताबहरु आँखा चिम्लेरै किन्नुभए हुन्छ । तपाईंले विश्वास गर्नसक्ने अध्ययनशील अग्रज तथा समकालीन साथीहरूको सल्लाह लिएर पनि किताब किन्न सक्नुहुन्छ । कुनै पनि किताबको विषय र सन्दर्भ केमा आधारित र केन्द्रित छ भन्ने कुरा राम्रोसँग बुझिसक्नुभएपछि किनिएका कुनै पनि किताब कहिल्यै झुर हुनै सक्दैनन् ।
युवा पुस्ताले पढ्नैपर्ने किताब कुन–कुन होलान् ?
म आफैं पनि युवा पुस्ताको सिकारु लेखक भएको हुनाले यो प्रश्न मेरा लागि पनि सान्दर्भिक देखिन्छ । निकै पुराना र पुरानासँगै निकै नयाँ र नयाँ उत्कृष्ट कृतिहरु सबै खोजी–खोजी पढ्नैपर्छ भन्छु । पढेको कुरा कहिल्यै खेर जादैन । पढेको कुराले कहिल्यै हानी–नोक्सानी गर्दैन । पढेकै कारण कहिल्यै पछुताउनु पर्दैन । पढाइको सन्दर्भमा गरिएको पैसा र समयको लगानी कहिल्यै डुब्दैन । त्यसैले पनि उत्कृष्ट किताबहरु जहिले, जहाँ र जस्तोसुकै अवस्थामा पनि खोजी–खोजी पढ्नैपर्छ ।
स्याङ्जामा साहित्यिक गतिविधिको अवस्था कस्तो छ ?
स्याङ्जामा साहित्यिक गतिविधिको अवस्था पछिल्लो समयमा आइपुग्ने क्रमसँगै क्रमशः विकसित र विस्तारित हुँदै गएको देखिन्छ । पछिल्लो समयमा स्याङ्जाको साहित्यिक गतिविधि निकै फराकिलो हुँदै गएको छ । स्याङ्जा साहित्य प्रतिष्ठान, ज्याग्दीखोला साहित्य प्रतिष्ठान, जगत्रदेवी साहित्य सङ्गम, भेषजराज साहित्य प्रतिष्ठान, स्याङ्जा साहित्य सङ्गम, गुप्ततारा स्मृति प्रतिष्ठान, वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जालगायतका साहित्यिक संघ संस्थाहरुले नियमितरूपमा स्याङ्जामा साहित्यिक गतिविधिहरुलाई निरन्तरता दिँदै आइरहेका छन् । ‘रजस्थल’ र ‘ज्याग्दीखोलाको तरङ्ग’ साहित्यिक त्रैमासिक पत्रिका नियमितरूपमा प्रकाशित हुँदै आएका छन् अहिलेसम्म । राम्रै नगद राशीसहितका थुप्रै साहित्यिक पुरस्कारहरुको स्थापनासँगै नियमितरूपमा समर्पण गर्ने क्रमले निरन्तरता प्राप्त गरिरहेको अवस्था छ । त्यसैले पनि पछिल्लो समयको स्याङ्जाको साहित्यिक गतिविधि फराकिलो हुँदै गइरहेको छ भन्न सकिन्छ ।
स्याङ्जामा साहित्यिक गतिविधिको संरक्षण र विकासका लागि भइसकेका राम्रा काम के–के हुन् ?
स्याङ्जामा साहित्यिक गतिविधिको संरक्षण र विकासका लागि केही न केही कामहरु त भइसकेका छन् । माथि उल्लेख गरिएका साहित्यिक संघ संस्थाहरु संस्थागतसँगै आर्थिक हिसाबले सक्षम र सबल हुने दिशामा अग्रसर देखिन्छन् । यिनै साहित्यिक संघ संस्थाको मुखपत्रको रूपमा प्रकाशित हुँदै आएका त्रैमासिक पत्रिकाहरुले पनि स्तरीयतासँगै निरन्तरतामा समेत आफूलाई खरो सावित गर्ने कोसिसलाई जारी नै राखेको पाइन्छ । केही पालिकाहरुले यी साहित्यिक संघ संस्थाहरुलाई नियमितरूपमा विशेष आर्थिक सहयोग समेत गर्न थालिसकेका छन् । ‘कवितामा बा’ र ‘समकालीन नेपाली प्रतिनिधि लघुकथा’ जस्तो नेपाली लघुकथा साहित्यको इतिहासमा अर्थपूर्ण महत्त्व राख्ने किसिमको कृति प्रकाशित भइसकेको छ । गण्डकी प्रदेशमै सर्वप्रथम र अहिलेसम्मकै सन्दर्भमा एक मात्र स्थानीय प्रज्ञा प्रतिष्ठानको रूपमा स्याङ्जाको वालिङ नगरपालिकामा नगर प्रमुख दिलीपप्रताप खाणज्यूको विशेष अग्रसरतामा वालिङ प्रज्ञा प्रतिष्ठानको तदर्थ समिति गठन भएको छ र त्यसले आफ्नो गतिविधिलाई अगाडि बढाउन लागिरहेको छ भने यी र यस्तै किसिमका सिर्जनशील कामहरुको सुरुआत भइसकेको अवस्था छ अहिलेसम्मको सन्दर्भमा ।
स्याङ्जामा आगामी दिनमा के–के गर्ने योजना बनाउनुभएको छ ?
स्याङ्जाली साहित्यको स्तरोन्नतिसँगै विकास र विस्तार गर्दै अझै अगाडि बढाउँदै लैजानुपर्ने अवस्था टड्कारो देखिन्छ । त्यसैका लागि वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आवश्यकता महसुस गरिएको हो । वैकल्पिक बाटो पृथक पाइलाले हरेक तेस्रो महिनाको तेस्रो शनिबारका दिन अर्थात् असार, असोज, पुस र चैत महिनाको तेस्रो शनिबारका दिन नियमितरूपमा विशेष साहित्यिक शृंखलात्मक कार्यक्रम गर्दै आएको छ । स्याङ्जाली साहित्यको इतिहासमा अर्थपूर्ण महत्त्व रहने किसिमका २ वटा विशेष साहित्यिक शृंखला अत्यन्तै सभ्य र भव्यरूपमा सम्पन्न गरिसकिएको छ । लकडाउनको कारण गत चैत र यही असारको तेस्रो शनिबार हुनुपर्ने शृंखलालाई चाहेर पनि गर्न सकिएन । असोजको तेस्रो शनिबारको शृंखलालाई अत्यन्तै भव्य र सभ्यरूपमा आयोजना गर्ने सोच बनाइसकेका छौँ । वैकल्पिक बाटो पृथक पाइलाद्वारा स्याङ्जाली साहित्यकार व्यक्तित्वहरुलाई क्रमशः पुरस्कृत र सम्मानित गर्दै जाने प्रयोजनका लागि स्याङ्जाली प्रतिभा पुरस्कारको स्थापना गर्ने सोच पनि बनाइरहेका छौँ । आगामी दिनमा नियमितरूपमा वैकल्पिक बाटो पृथक पाइलाको माध्यमबाट स्याङ्जाली साहित्यलाई अझै थप उचाइमा पुय¥याउनका लागि विशेष किसिमका अर्थपूर्ण साहित्यिक कार्यक्रमहरुको आयोजना गर्दै निरन्तर अगाडि बढ्ने योजना बनाइरहेका छौं । गुप्ततारा स्मृति प्रतिष्ठानद्वारा प्रकाशित हुँदै गरेको ‘समकालीन नेपाली प्रतिनिधि कविता’ कृतिको तयारीमा पनि जुटिरहेका छौँ भने स्याङ्जाली अग्रज साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारिएको विशेष ग्रन्थको तयारीमा पनि लागिरहेका छौँ ।
तपाईं शिक्षक पनि हुनुहुन्छ । आफ्ना विद्यार्थी भाइबहिनीसँग साहित्य र सिर्जनाका सम्बन्धमा कसरी प्रस्तुत हुनुहुन्छ ?
म पेशाले शिक्षण सहजकर्ता हो भन्दै गर्दा मलाई साच्चिकै गर्व लागिरहेको हुन्छ । शिक्षण मेरो रुचिको पेशा हो । मेरो जिन्दगीको रोजाइको पेशा पनि हो । त्यसैले म शिक्षण पेशामा प्रवेश गरेको हुँ । मलाई प्रिय विद्यार्थी भाइबहिनीहरुसँग समय बिताउन निकै रमाइलो लाग्छ । केही अपवादबाहेक मेरा प्रिय विद्यार्थी भाइबहिनीहरु पनि मसँग खुसी भएको र रमाइलो मानिरहेको मैले अनुभूति गरेको छु अहिलेसम्म । म आफ्ना प्रिय विद्यार्थी भाइबहिनीहरुसँग साहित्य र सिर्जनाका सन्दर्भमा खुलेर प्रस्तुत भइरहेको हुन्छु । जसले पनि विद्यार्थी भाइबहिनीहरु र मेरो सम्बन्धलाई निकट बनाइरहेको हुन्छ । मैले साहित्य सिर्जना गर्छु भन्ने कुरा उनीहरू सबैलाई थाहा छ । शिक्षण सिकाइ क्रियाकलापको क्रममा कक्षाकोठामा मात्रै नभएर अरु विविध सन्दर्भमा आयोजना गरिने कार्यक्रमहरुमा समेत मैले उनीहरूकै लागि भए पनि गजल र मुक्तक नसुनाइ सुखै पाउँदिन । उनीहरू पनि खुसी भएर उत्सुकताका साथ मेरा गजल र मुक्तकहरु सुन्न लालायित हुन्छन् । उनीहरूको यही मनोविज्ञान बुझेर मैले प्रायः शिक्षण सिकाइ क्रियाकलापमा उनीहरूको ध्यानाकर्षण गर्नैका लागि पनि गजल र मुक्तकहरु सुनाइरहेको हुन्छु । जसले शिक्षण सिकाइ क्रियाकलापलाई थप प्रभावकारी बनाइरहेको मैले अनुभव गरेको छु ।