भरतपुर, १६ असार
नारायणगढ–मुग्लिङ सडकखण्डको कालीखोला नजिकै ठूलो पहिरो खसेपछि शुक्रबार दिनभर गाडी पार गर्न सकेनन् । पहिरो हटाउने कार्य नसकिएकोले आज शनिबार पनि दिनभर गाडी पार गर्न नसक्ने भएका छन् ।
नारायणगढ–मुग्लिङ सडक आयोजनाका ईञ्जिनियर शिव खनालका अनुसार यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मिटर मुग्लिङतर्फ पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिङबाट २.५ किमी नारायणगढतर्फको सडकमा यसअघि ठूलो पहिरो खसेर चार प्रहरीसहितको भ्यान र ट्रक बगाएको थियो ।
बिहान खसेको पहिरो पन्छाउन नपाउँदै ठूलो पहिरो खसेको थियो । पहिराले ५० मिटर सडक ढाकेको छ । खनालका अनुसार करिब आठ हजार घनमिटर पहिरो खसेको छ । पहिरो पन्छाउने क्रममा दुई वटै लोडर नारायणगढतर्फ परेकाले एकापट्टिबाट मात्र पहिरो पन्छाउने प्रयास गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको सूचनाअनुसार साँझ सबा ८ बजेसम्म पहिरो हटाएर काम बन्द गरिएको छ । “रातको समयमा काम गर्दा हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर पहिरो हटाउने प्रयास बन्द गरिएको छ”, जिल्ल ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले भने, “रातभर बन्द गरेर बिहान उज्यालो भएसँगै काम थालिनेछ ।” शुक्रबार दिनभर एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम गरिएको थियो । तर, पहिरो फाल्ने र माथिबाट पहिरो झर्ने क्रम सँगै चलेकोले बाटो खोल्न नसकिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
फोटोः नारायणगढ–मुग्लिङ रोड प्रोजेक्टको फेसबुक पेजबाट