विप्लव काफ्ले/कायाकैरन
माडी,१६ असार ।चितवनको दक्षिण क्षेत्रमा रहेको माडी नगरपालिकामा पर्यटकीय गन्तव्य विस्तारको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षमा मात्रै नयाँ पर्यटन क्षेत्र विकासका लागि २ करोड २० लाख खर्च हुँदैछ ।
बसाइँ सरेर सदरमुकाम जाने दर नघटेपछि माडीमा पर्यटक चहलपहल बढाएर आत्मनिर्भर बनाउने उद्देश्यले अभियान सुरु गरिएको छ । माडीमा वाल्मीकि आश्रम, गोद्धक क्षेत्र, सोमेश्वरगढी, बैकुण्ठ तालजस्ता पर्यटकीय गन्तव्य छन् । तर, पर्यटकको चहलपहल नभएपछि थप पूर्वाधार विकास गर्दै गन्तव्य विस्तारको काम सुरु गरिएको छ ।
माडी नगरपालिकाका सूचना अधिकारी सन्तोष सुवेदीले पिकनिक स्पट, पार्क, सिंढी, सत्तललगायतका पूर्वाधारमा बजेट विनियोजन गरेर गन्तव्य विस्तारको काम भइरहेको जानकारी दिए । “माडीका साविक गाविसलाई लक्षित गरी पर्यटन पूर्वाधार विकासका काम भइरहेका छन्”, उनले भने, “नयाँ बन्ने पूर्वाधारले पर्यटकलाई माडी आउन प्रोत्साहन गर्नेछ ।”
उनका अनुसार चालु आर्थिक वर्षमा माडी–३, बघौडामा पिकनिक स्पट तथा पार्क निर्माणका लागि ११ लाख रुपैयाँ, माडी–३ इनारबरुवामा रहेको हरियाली सामुदायिक वनमा ३ लाख ६० हजार लागतमा पार्क, वैकुण्ठ क्षेत्रमा पिकनिक स्पट बनाउन २ लाख ४० हजार, गोद्धक क्षेत्रमा सत्तल निर्माण गर्न १३ लाख रुपैयाँ, बघौडा मगुई खोला नजिकै थारु संग्राहलय निर्माण गर्न ५७ लाख, सोमेश्वरगढी जाने बाटोमा सिंढी निर्माण गर्न १ लाख बजेट कार्यान्वयन गर्न धमाधम काम भइरहेका छन् ।
यस्तै इनारबरुवामा रहेको दिवाकर वाटिका निर्माण गर्न ७ लाख रुपैयाँ, माडी–४, सितलपुरमा एकतास्तम्भ निर्माण गर्न ५० लाख रुपैयाँ, माडी–२ सितलपुरमा शहीद पार्क निर्माण गर्न ७५ लाख बजेट विनियोजन भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा घोषणा गरिएको चितवन प्याकेजअन्तर्गत एकता स्तम्भ तथा शहीद पार्क निर्माण, पर्यटन मन्त्रालय र नगरपालिकामार्फत संग्रहालय, पार्क तथा पिकनिक स्पटलगायत काम गर्न बजेट छुट्याइएको थियो । सांसद् विकास कोषअन्तर्गतका बजेटबाट पर्यटन पदमार्ग विस्तारका काम भइरहेका छन् ।
राजनीतिक परिदृश्यको झल्को
माडीमा राजनीतिक परिदृश्य झल्काउने गरी पर्यटन गन्तव्य विस्तारका काम भइरहेका छन् । २०४८ मंसिर ११ देखि २३ गतेसम्म तत्कालीन ५ कम्युनिष्ट पार्टीको चौथो एकता महाधिवेशन भएको स्थलमा एकता स्तम्भ निर्माणको काम भइरहेको छ । राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना गर्ने उद्घोष गर्दै सकिएको महाधिवेशन स्थल माडी–४, सितलपुर वरपर पर्यटकीय गन्तव्य बनाउने काम भइरहेका छन् ।
एकता स्तम्भ निर्माण समितिका अध्यक्ष धर्मलाल देवकोटाले एकताले राजनीतिक सफलता मिल्ने सन्देश दिन गरी पर्यटन पूर्वाधारको काम भइरहेको बताए । “५५ फिट अग्लो एकतास्तम्भ बनाइएको छ”, उनले भने, “वरपर कच्ची सडक बनाइएको छ, पार्क बनाउने जग्गा संरक्षणको काम भइरहेको छ ।” ५ वर्ष पहिलेबाट सुरु स्तम्भमा हालसम्म ३५ लाखको पूर्वाधार निर्माण सकिएको छ । समितिका सचिव डिल्लीराम शर्मा पौडेलले चाँडै होमस्टे, रमणीय पार्क र पोखरी बनाइने बताए । माडीको नेपाल भारतसीमा छुट्याउने पर्यटकीय गन्तव्य सोमेश्वरगढी जाने सडकसमेत यही क्षेत्रबाट जाने गरी बनाइने योजना रहेको उनले बताए ।
एकतास्तम्भ २५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । नेपालको प्रदेश विभाजनको परिदृश्य झल्काउने गरी थप पूर्वाधार बनाइने बताए । चिरौलीदेखि सितलपुर जाने सडक कालोपत्रे गर्ने, स्तम्भ नजिकको आँपेखोलामा तटबन्धन गर्ने, नजिकैको पोखरीलाई विस्तार गरेर बस्न मिल्ने ठाउँ बनाइनेलगायतका लक्ष्य समितिले लिएको छ ।
यस्तै माडीमा रहेर राजनीतिमा होमिएका तत्कालीन जनमोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष स्वर्गीय दिवाकर भुषालको स्मृतिमा दिवाकर वाटिका निर्माण विगत ४ वर्षदेखि भइरहेको छ । माडीको मुख्य बजार बसन्तपुर नजिकैको नयाँ पिपरियामा सो वाटिका निर्माणाधीन छ । माडी माविमा लामो समयसम्म शिक्षण गरेका तथा माडीको शिक्षाको गुणस्तर वृद्धिका लागि खटिएका स्वर्गीय भुषाल माडीबाट दुईपटक संसदीय चुनावमा होमिएका थिए । उनी सादगी नेताका रुपमा परिचित छन् ।
दिवाकर वाटिका संरक्षण समितिका अध्यक्ष जनक भुषालले दिवाकर वाटिकाले पर्यटकलाई माडी ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँछन् । “वाटिका निर्माण गर्न हालसम्म २१ लाख बजेट आएको छ”, उनले भने, “झण्डै साढे ४ कठ्ठा क्षेत्रफलमा फैलिएको वाटिकामा आन्तरिक तथा बाह्य पर्यटक रमाउने गरी पूर्वाधार बन्दैछन् ।” उनका अनुसार थप २० लाख बजेट भएमा आवश्यक पूर्वाधार निर्माण कार्य सकिने बताउँछन् ।
यस्तै द्वन्द्वकालीन अवस्थामा माडीबाट ज्यान गुमाएका माओवादी केन्द्रका कार्यकर्ताको स्मृतिमा माडी–२, सितलपुरमा शहीदपार्क निर्माणको काम भइरहेको छ । रमाइलोडाँडाका तिलक खाँती, भंगताका केशव क्षेत्री, सितलपुरका वासु पौडेल, देवेन्द्रपुरका निलकण्ठ सुवेदीको स्मृतिमा शहीद पार्क बनाउन लागिएको हो ।
पार्कमा ४ वटा शहीद मूर्तिसमेत राखिने योजना छ । शहीद पार्क निर्माण समितिका अध्यक्ष केदारप्रसाद अधिकारीले पार्क क्षेत्रमा सभाहल, शौचालय, प्रवेशद्वार निर्माणको काम भैरहेको जानकारी दिए । “ढिलो गरी बजेट छुट्टाइयो, बजेट परेपनि स्थान फरक पर्दा योजना सच्याउदा थप ढिलाई भयो”, उनले भने, “स्तम्भ बनाउन सकिएन, तर केहि काम भएका छन् ।”
वाल्मीकि आश्रमदेखि बैकुण्ठ जाने गरी स्तरोन्नति हुँदै गरेको पर्यटन मार्गकै आसपासमा गन्तव्य विस्तारका काम भइरहेका हुन् । द्वन्दकालिन समयमा भएको चर्चित बाँदरमुढे घटनामा स्थलवरीपरी भने पर्यटन पूर्वाधार विकास गर्न स्थानीय नगरपालिका सहित सांसदले कुनै चासो देखाएका छैनन् ।