विप्लव काफ्ले
भरतपुर, २५ असार
इच्छाकामना –२, तोलाङका मोतिमान र कमला गुरुङ बारीमा लगाइएको तरकारी हेरचाहमा व्यस्त छन् । बारीमा काउली, गोलभेंडा, धनियाँ खेती छ । लकडाउनले गर्दा तरकारी बारीमै कुहिएपछि अहिले फक्रँदै गरेका काउली स्याहारसुसारमा जुटेका छन् उनीहरु । “पहिले घरलाई चाहिने तरकारी लगाइन्थ्यो, केही वर्षयता बजारमा पनि बेच्न लगिन्छ”, मोतिमान भन्छन्, “लकडाउनले गर्दा झण्डै २ महिना तरकारी बिक्री भएन, फलेका तरकारी नै मल बन्यो ।” उनले असारमा करिब ३० हजारको काउली बेचे ।
“डोकामा फिस्लिङ लान्थ्यौँ, अहिले गाडी घरमै आइपुग्छ”, उनले भने, “बजार भाउ नपाएपनि बेच्नुपरेको छ ।” गतवर्ष १ सय बढीमा बेचेको काउली अहिले मुस्किलले ३० रुपैयाँ पर्छ । “दुःख गरी लगायो, मूल्य पाइँदैन”, उनी भन्छन्, “लगानी नउठ्ने हो कि भनेर चिन्ता लाग्छ ।” उनीहरुले करिब १ विघामा तरकारी लगाएका छन् । “तरकारी लिन व्यापारी गाउँ प्राय छिर्दैनन्”, कमलाले भनिन्, “हामी नै बेच्न बजार झर्नुपर्छ ।”
गाउँकै एकजनाले बोलेरो किनेपछि आजकल त्यही गाडीमा राखेर बेच्न बजारसम्म झर्नुपर्ने बताइन् । तरकारी हेरचाहका लागि ३ जना कामदार राखेका छन् । “सिँचाईको असुविधा छ, आकाशे पानीको भरमा खेती गर्नुपर्छ”, मोतिमानले भने, “खोलाको पानी लिफ्ट गरेर ल्याउने हो भने धेरै किसानलाई राहत पुग्थ्यो ।” उनले खेतमा पानी दिन घरमा ४–५ वटा ठुला प्लाष्टिकका ट्याङ्की राखेका छन् । छानाबाट झर्ने पानी पाइपबाट ट्याङ्कीमा जम्मा पार्छन् । पिउने पानी करिब १० मिनेट तल झरेर तोलाङ पँधेराबाट ल्याउँछन् ।
तोलाङकै युवा विकास गुरुङको पनि ७ कठ्ठामा तरकारी छ । काउली, बोडी, काँक्रो, धनियाँ लटरम्म फलेका छन् । तयार भइसकेका काँक्रो र धनिया बारीमै कुहिन थालेका छन् । “बजारमा चहलपहल बढ्न थालेपछि बल्ल बेच्न पाएका छौँ”, उनले भने, “पहाडको तरकारी बजारमा पु¥याउन निकै गारो छ ।” फिस्लिङबाट करिब १४ किमि उकालो लागेपछि तोलाङ पुगिन्छ । पहाड फोरेर मोटर बाटो बनाएपछि तोलाङका किसान व्यावसायिक तरकारी खेतीमा अग्रसर बनेका हुन् । खानेपानीकै समस्यासँग जुद्धै आएका स्थानीयहरु पानी पर्दा खुसी बन्छन् । खेतमा लगाइएका तरकारीलाई चाहिने पानी जम्मा पार्न कस्सिन्छन् ।
वडाध्यक्ष पञ्चबहादुर चेपाङ झण्डै आधा घरधुरी तरकारी खेतीमा लागेको बताउँछन् । “आम्दानीको स्रोत नै तरकारी र बाख्रापालन हो”, उनले भने, “तर, सिँचाईको असुविधा छ, भिराला जग्गामा कुलोबाट पानी लैजान गारो छ ।” उनले आकाशे पानी जम्मा पार्न ट्याङ्कीको व्यवस्थापन गरि खेतखेतमा पु¥याउने योजना आगामी वर्ष कार्यान्वयन गरिने बताए । “ज्याङती र जुंगे खोला तल छ, माथिल्लो भेगमा पानीको हाहाकार छ”, उनले भने, “लिफ्ट गरेर पानी पु¥याउन बजेट धेरै लाग्छ, अब तत्काललाई ट्याङ्कीमा वर्षभरि पानी जम्मा गर्ने योजना लागु हुन्छ ।” वर्षायाममा समस्या नभएपनि हिउँदमा भने स्थानीयलाई पीउने र सिँचाईका लागि पानीको निकै समस्या हुन्छ । तोलाङमा खोल्साका कुवाबाट पानी ल्याउनुपर्ने अवस्था छ । सडक सञ्जाल विस्तार तीव्र भएपनि सिँचाईमा गाउँपालिकाले प्रगती गर्न सकेको छैन ।
गाउँपालिकाको फिस्लिङ, मुग्लिङ तरकारीको मुख्य बजार हो । भिरपाखामा दुःख गरी उत्पादन भएका तरकारीले राम्रो भाउ नपाउँदा पनि यहाँका किसान हरेश खाएका छैनन् । थोरै खेती गर्नेहरु डोकामा बोकेर आँफै बजारसम्म आइपुग्छन् । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले फिस्लिङमा तरकारी तथा फलफुल केन्द्र निर्माणाधिन रहेको बताए । “बजारीकरणको समस्या हल गर्न संकलन केन्द्र बनाउँदै छौँ”, उनले भने, “बजारमूल्य दिलाउन लागिपरेका छौँ, गाउँ पुग्ने सडक सञ्जाल पनि स्तरोन्नती गर्दैछौँ ।”
बाँझो जमिन प्रयोगमा ल्याउनेलाई ५० प्रतिशतसम्म अनुदान, फलफुल–तरकारी खेती सम्बन्धि तालिमलाई विशेष महत्व दिने गरिएको बताए । “विचौलिया विनाको कृषि बजार बनाउन ७ वटै वडामा संकलन केन्द्र बनाउदै छौँ”, उनले भने, “सहकारी तथा नीजि क्षेत्रसँग सहकार्य गरी बजारीकरणको समस्या हल गरिनेछ ।”
सबै वडाको माटो परीक्षण गरी सुहाउँदो खेती गरी पकेट क्षेत्र घोषणा गरिने बताए । एक गाउँ एक उत्पादनको नीतिका लागि खेतीमा आर्कषण बढाइने बताए । एक वडा एक नर्सरी स्थापना, कृषि सापटी अनुदानका कार्यक्रमलाई निरन्तरता दिइएको बताए । कृषिजन्य स्थानीय उत्पादनलाइ बिक्रि वितरण गर्ने व्यवसायमा २५ प्रतिशत व्यवसाय कर छुट गराइने बताए । इच्छाकामनाको १, २ र ३ नम्बर वडा धेरै तरकारी खेती हुने वडाहरु हुन् ।
(फोटोः बजार लैजान काउली टिप्दै गरेकी तोलाङकी कमला गुरुङलाई सघाउँदै स्थानीय)