खैरहनी, १९ असार
यान्त्रिकीकरण र व्यवसायीकरण बिना कृषि क्षेत्रको विकास हुन नसक्ने भएकाले चितवनका किसानले प्रविधि प्रयोगको सुरुआत गरेका छन् । जिल्लाको माडीमा चक्लाबन्दीबाट धानखेतीको सुरुआत भईसकेको छ, त्यो प्रविधिको प्रयोग गरेर खेती सुरुवात गरिएको छ । तर थोरै जमिन भए पनि चितवन खैरहनी १० समनपुरका किसान नविन श्रेष्ठले हाते मेसिनको प्रयोग गरेर धान रोपाई गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवनको सहयोगमा उनले मेसिनको प्रयोग गरेकार धान रोपेका हुन् । धानको बीउ छर्ने देखि रोप्ने बेला सम्म उनलाई परियोजनाले सहयोग गरेको छ । धान जोन लागू भएको पूर्वी चितवनमा उनी जोन संचालक समिति सदस्य पनि हुन् । जोन संचालन भएको क्षेत्रमा प्रविधिको प्रयोग मार्फत धान रोपाई गर्ने उनी एक मात्र हुन । मेसिनको प्रयोग गरेर गरिएको खेतीबाट राम्रो उत्पादन नहुने बुझाई किसानको छ त्यसैले प्रविधिको प्रयोग जिल्लामा छैन ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले पर्याप्त मात्रामा प्रविधिको सुविधा हुन नसक्दा किसानहरु यस तर्फ आकर्षित हुन नसकेको बताउँछन् । “प्रविधिको प्रयोग मार्फत गरिएको खेतीबाट उत्पादन कम हुन्छ भन्ने सोच छ, तर त्यस्तो होइन” ज्ञान केन्द्र प्रमुख ढकालले भने, “यन्त्र उपकरण पर्याप्त मात्रामा उपलब्ध गराउन सके किसानलाई कन्भिन्स गराउन सकिन्छ ।” ढकालका अनुसार जिल्लामा कृषि क्षेत्रमा प्रविधिको प्रयोग खासै छैन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिना प्रविधिको प्रयोगबाट गरिएको खेतीमा उत्पादन नघट्ने दबवी गर्छन् । “सुरुदेखिनै लागत खर्च कम हुन्छ”, परियोजना प्रमुख तिमल्सीनाले भने, “परम्परागत रुपमा गरिएको खेतीको तुलनामा उत्पादन घटे त्यसको जिम्मा परियोजनाले लिन्छ ।” किसानलाई बानी बसाल्न गाह्रो भएकाले पनि प्रविधिको प्रयोगले व्यापकता पाउन नसकेको तिमिल्सिनाको भनाई छ ।
कृषिमा यन्त्र, प्रविधिको प्रयोग बढाई किसानको लागत घटाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको हो । चितवनमा विगत चार वर्षदेखि यो कार्यक्रम लागू छ । परियोजनाले धान जोन, केरा जोन, तरकारी जोन र माछा जोन वनाएर काम गरिरहेको छ ।
धान जोन कार्यक्रम संचालन समिति संयोजक तेजप्रसाद वर्तौलाको अध्यक्षतामा भएको प्रविधि प्रर्दशनी तथा मेसिनबाट धान रोप्ने कार्यको सुभारम्भ कार्यक्रममा परियोजनाका कृषि अधिकृत माधव पौडेल, खैरहनी १० का वडा सदस्य पदमवहादुर चुहानलगायतको सहभागिता रहेको थियो ।