खैरहनी, २० असार
विपन्न समुदायको आयआर्जन वृद्धिका लागि खैरहनी नगरपालिकाले सञ्चालन गरेको बाख्रा पकेट प्याकेज कार्यक्रमको अनुगमन गरिएको छ । नगरपालिकाले विगत तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नम्वर १ नयाँ वस्ती, खैरहनी ३ को सिद्धीपुर र खैरहनी ४ को लेकसाइडमा बाख्रा पकेट प्याकेज सञ्चालन गरेको छ । सोही तीन क्षेत्रमा सञ्चालित कार्यक्रमको शुक्रबार नगर प्रमुख लालमणि चौधरीको नेतृत्वमा अनुगमन गरिएको थियो । नगरपालिकाको पशु सेवा शाखाले विपन्न समुदायका २० परिवारको एक–एक समूह बनाएर कार्यक्रम सञ्चालन गरेको छ ।
यो कार्यक्रममा प्रति परिवार बाख्रा खरिदका लागि ८ हजार रुपैयाँ र गोठ निर्माणका लागि ४ हजार रुपैयाँ अनुदान दिएको छ । बाख्रा खरिद गर्नुका साथै गोठ निर्माण गरेपछि मात्रै नगरपालिकाले अनुगमन गरेर अनुदान दिने गरेको पशु सेवा शाखा प्रमुख रुद्रकुमार श्रेष्ठले जानकारी दिए ।
अघिल्लो दुई वर्षमा नगरपालिकाले एक सय २० परिवारलाई यो कार्यक्रममा समावेश गरिसकेको छ । चालु आर्थिक वर्षको कार्यक्रमको अनुगमनका क्रममा केही परिवारले गोठ निर्माणमा सुधार गर्नुपर्ने देखिएको पशु सेवा शाखा प्रमुख श्रेष्ठले बताए । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बाख्रा पकेट प्याकेज कार्यक्रम सञ्चालन पछि बाख्रापालनतर्फ आकर्षण वढ्नुका साथै आयआर्जनमा समेत टेवा पुग्दै आएको बताए ।
पछिल्लो तीन वर्षमा १०, १० लाखका दरले यो कार्यक्रमलाई बजेट विनियोजन गरिदै आएको छ । आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको र संघीय सरकारले पनि यो कार्यक्रम समावेश गरेको छ ।
बाख्रा पकेट प्याकेज कार्यक्रमको अनुगमनमा नगरपालिका प्रमुख चौधरीसहित प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, आर्थिक विकास समिति संयोजक एवम् खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी, पशु सेवा शाखा प्रमुख रुद्रकुमार श्रेष्ठलगायत पशु प्राविधिकहरुको उपस्थिति रहेको थियो ।