विप्लव काफ्ले
भरतपुर, १८ असार
चितवनमा औषधि उद्योगमा लगानी थपिएको छ । भरतपुर–१८ मा रोयल सासा नेपाल फर्मास्यिुटिकल्स प्रालिले परीक्षण उत्पादन सुरु गरेको छ । चितवनमा एक दर्जन औषधि उद्योग छन् । रोयल सासाले करिब ५० करोड लगानी गरेको छ । त्यहाँ एलोपेथिक औषधि बनाइन्छ । कार्यकारी अध्यक्ष रञ्जन थापाले २४ प्रकारका एण्टिबायोटिक औषधिको परीक्षण उत्पादन सुरु भएको जानकारी दिए ।
“६ महिनासम्म परीक्षण तथा अनुसन्धान हुनेछ”, उनले भने, “त्यसपछि बल्ल हामी बजारमा औषधि पु¥याउने छौँ ।” विश्व स्वास्थ्य संगठनको मापदण्डानुसारका औषधि तयार पारेर धेरै रोगको उपचारमा सहयोग पु¥याइने बताए । “हामी ‘डब्लुएचओ जीएमपी’ प्रमाणीकरण गर्न लागिपर्नेछौँ”, उनले भने, “गुणस्तरीय स्वदेशी औषधि उत्पादनलाई भविष्यमा विस्तार गर्नेछौँ ।”
कार्यकारी निर्देशक अर्जुनप्रसाद पौडेलले अत्याधुनिक प्रविधि र उपकरण जडान गरिएको बताए । “अहिले हामी ‘स्टाविलिटी च्याम्बर’मा बनाएको औषधिबारे अध्ययन अनुसन्धान गर्दैछौँ”, उनले भने, “भविष्यमा मलम, क्याप्सुल, आँखा, नाक, कान, मुटु, डाइवेटिजका औषधि तथा सूईजन्य औषधि उत्पादन गर्नेछौँ ।” निर्देशक शोभाकर पोखरेलले देशकै केन्द्रमा रहेको र ‘मेडिकल हब’का रुपमा चिनिएकाले चितवन रोजिएको बताए । “परीक्षणमा सन्तोषजनक अवस्था आएमा हामी बृहत उत्पादनमा जानेछौँ”, उनले भने, “परनिर्भरता हटाउनसमेत सहयोग पुग्नेछ ।”
उद्योग वार्षिक १५ करोड ट्याबलेट, ५० लाख क्याप्सुल, ५० लाख मलमको ट्युव, पुनर्जलीय पाउडर ६० लाख पुरिया, २५ लाख एन्टीवायोटिक पाउडर उत्पादन क्षमताको छ । उद्योगका प्राविधिक सल्लाहकारले अधिकतम आद्रता र तापक्रममा ६ महिनासम्म औषधिका नमूना राख्दाको गुणस्तरको मूल्यांकनपछि मात्रै बजारीकरण गरिने उनले बताए । “मापदण्डभित्रै रहेर औषधि बनाउनेछौँ, अहिले हामी प्रारम्भिक चरणमै छौँ”, उनले भने, “सफल परीक्षणलगत्तै थप उपकरण जडान गरी बृहत उत्पादन थालिनेछ ।”
चितवनका ३ सहित ९ जना औषधि व्यवसायीले उद्योगमा लगानी गरेका छन् । उद्योगले संरचना विस्तारसमेत गर्दैछ । “धेरै रोगविरुद्धका एलोपेथिक औषधि बनाउने लक्ष्य छ”, उनले भने, “स्वदेशी औषधीप्रतिको विश्वास जित्ने अपेक्षा लिएका छौँ ।” अहिले औषधि निर्माण गर्न आवश्यक कच्चापदार्थको अभाव नरहेको जनाएको छ ।