विप्लव काफ्ले
भरतपुर, १७ असार
शिक्षक कर्मचारीलाई तलब भुक्तानी नगरे संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) चितवनले आन्दोलन थाल्ने चेतावनी दिएको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै इष्टुले ५ महिनासम्म तलब नदिएको भन्दै २० गतेसम्म तलब भुक्तानी नदिए सडक आन्दोलनमा जाने जनाएको छ ।
इष्टुका अनुसार जिल्लामा करिब ६० करोड बराबरको तलब भुक्तानी नीजि विद्यालयले नगरेको आरोप लगाएको छ । शिक्षक कर्मचारी सरदर २० हजारका दरले ६ हजार शिक्षकको प्रति महिना १२ करोड बराबर तलब भुक्तानी गर्नुपर्ने हुन्छ । “विद्यालय सञ्चालकले तलब भुक्तानी गर्न आनाकानी गर्दै आएका छन्”, इष्टु चितवनका अध्यक्ष जनकराज घिमिरेले भने, “माघदेखिकै तलब समेत लिन पाएका छैनौँ, बहाना बनाउँदै तलब नदिने काम रोकिनुपर्छ ।” उनले भरतपुरको मध्य क्षेत्रका केही विद्यालयले चैतसम्मको तलब दिएपनि अधिकाँस विद्यालयले तलब नदिएको गुनासो शिक्षक कर्मचारीले गर्दै आएको बताए । “६ बुँदे माग जेठ ८ र असार १५ गते सम्बन्धित निकायमा बुझाइसकेका छौँ, तर सुनवाई भएन”, उनले भने, “तलब नदिने, तर काममा निरन्तर खटाउने काम हुदै आएको छ ।” चैतदेखि लकडाउन सुरु भएपनि बैशाखमा तलब पाउने आशले सुरुमै आन्दोलित नभएको बताए । इष्टु चितवनका अनुसार चितवनमा १ सय ६५ नीजि विद्यालय छन्, जसमा ६ हजार बढीले काम गर्छन् ।
“जीवनयापननै असहज बनेको छ, आश्रीत परिवारपनि समस्यामा छन्”, उनले भने, “विगतमा विद्यालयले मुनाफा लिदा समेत शिक्षकहरु भागिदार बनेनौँ, अहिले आम्दानी छैन भनेर तलब नदिन खोजिएको छ ।” उनले अभिभावकसँग शैक्षिक शुल्क उठाएर तलब दिनु भनेर माग नगरेको जीकिर गरे । “हामीले अभिभावकसँग होइन, विद्यालय सञ्चालकसँग तलब मागेका हौँ”, उनले भने, “६ महिनासम्म तलब नदिनु गैरजीम्मेवारपन हो, अब हामी चुप बस्दैनौँ ।” सामुदायीक विद्यालय सरह सेवा सुविधा पाउनुपर्ने भएपनि वर्षौदेखि संस्थागत विद्यालयका शिक्षक कर्मचारी न्यून तलबमा काम गर्नुपर्ने अवस्थामा रहेपनि नियमन नभएको दुखेसो पोखे । उनका अनुसार २० प्रतिशतले सामुदायीक विद्यालय सरह सेवा सुविधा पाएको बताए । “कम तलब पाउँदा समेत नियमन निकाय मुखदर्शक बनेको छ”, उनले भने, “तलब पाइएन भनेर गुनासो गर्दा पनि सरकारी संयन्त्रले सुनेन ।”
नीजि विद्यालयले त्रैमासिक रुपमा तलब भुक्तानी गर्दै आएका थिए । तर, कोरोना भाइरसको महामारि नियन्त्रणका लागि गरिएको लकडाउनको कारण देखाउँदै अघिल्लो शैक्षिकसत्रकै तलब समेत दिएका छैनन् । उपाध्यक्ष नवराज तिमिल्सिनाले चैतसम्मको तलब भुक्तानी नपाउने करिब ८० प्रतिशत रहेको बताए । “लकडाउन अवधिमा भर्चुअल अनलाइन कक्षा चलाउने, घरघर पुगेर गृहकार्य दिने, एसईईको आन्तरिक मूल्यांकन तयार पार्ने, वार्षिक परीक्षाको नतिजा निकाल्ने जस्ता काममा खटिदै आइरहेका छौँ”, उनले भने, “मानवीय संवेदना समेत ख्याल गरिएन, तलब दिन आलटाल हुदै आयो ।” इष्टु चितवनले तलब भुक्तानी नगर्ने विद्यालयको कालोसूची सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ । रकम कटौती नगरी साविककै तलब दिनुपर्ने अडान राखेको छ ।
इष्टु राष्ट्रिय समितिका उपाध्यक्ष केशवराज पाठकले देशभर चरणवद्ध आन्दोलन गरिने बताए । “तलब पाउनुप¥यो भन्दै आयौँ, तर सुनवाई भएन”, उनले भने, “हातमुख जोड्नै समस्या भयो, अन्तिम वृहत आन्दोलन गरेर अधिकार खोज्छौँ ।” उनले अनलाइन क्लास समेत बन्द गरेर आन्दोलन थालिने चेतावनी दिए । “सबै महिनाको तलब चाहिन्छ, सेवाबाट निष्काशन गर्ने काम रोकिनुपर्छ”, उनले भने, “१९ गते माइतिघर मण्डलामा प्रर्दशन समेत गर्नेछौँ, स्थानीय तहहरुमा २१ गते ज्ञापनपत्र बुझाइनेछ ।” ‘फेक पे रोल’ बुझाएको पाइए सम्बन्धित निकायको ध्यानाकर्षण गराइने बताए । इष्टुले सबै महिनाको तलब पाउनुपर्ने, सेवाबाट निष्कासन गर्न नपाइने, विगतका सहमति कार्यान्वयन गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्नुपर्ने लगायतका माग राख्दै आइरहेको छ ।