विप्लव काफ्ले
भरतपुर, १६ असार
माडीमा व्यावसायिक मौरीपालन सुरु भएको छ । माडी–६, स्याउलीबासमा मिराकल गार्डेन प्रालिले मंगलबारदेखि मौरीका घार राखेको छ । माडीका मेयर ठाकुरप्रसाद ढकालले मौरीपालनको उद्घाटन गरे । मौरीपालक किसान दामोदर देवकोटा र पत्रकार नारायणप्रसाद सापकोटाले व्यावसायिक मौरीपालन सुरु गरेका हुन् । मेलिफेरा जातको मौरीपालन सुरु भएको हो ।
“मौरीका लागि माडीमा प्रशस्तै चरन क्षेत्र छन्”, मिराकल गार्डेनका प्रमुख सञ्चालक दामोदर देवकोटाले भने, “मौरीपालनमा स्थानीय अग्रसर हुने आशा लिएका छौँ ।” उनले केही दिनमा थप २१ घार थप गरिने बताए । “हामी सुरुआती चरणमा छौँ, स्थानीयलाई पनि सहजीकरण गर्ने योजना छ”, उनले भने, “मौरीपालनको पकेट क्षेत्रका रुपमा भविष्यमा चिनिनेछ ।”
माडीमा अन्यत्रबाट मौरीलाई चराउन ल्याउने गरिन्थ्यो । तर, व्यावसायिकरुपमा स्थानीयले मौरीपालेका थिएनन् । अर्का सञ्चालक सापकोटाले बिरुवा तथा मौरीको स्रोत केन्द्रका रुपमा गार्डेनलाई विकास गरिने बताए । “फलफुल, फूलका बिरुवा पनि उत्पादन गर्नेछौँ, मौरीका घार पनि स्थानीयलाई उपलब्ध गराउने छौँ”, उनले भने, “बजारीकरणको काममा समेत सघाउने लक्ष्य लिएका छौँ ।” मिराकल गार्डेनले हाल १४ कट्टठा जग्गा लिएको छ । मेयर ढकालले माडीमा व्यावसायिक मौरीपालन सुरु गरेकोमा खुसी व्यक्त गरे । “किसानलाई मौरीपालन गर्न प्रोत्साहन गर्नेछौँ”, उनले भने, “माडीको मह भनेर देशभर चिनाउन नगरपालिकाले सहयोग गर्नेछ ।”
कृषि शाखा माडीका प्रमुख किरणप्रसाद उपाध्याय ‘अनाम किरण’ ले माडीको खेतीमा विषादी कम प्रयोग भएकाले मौरीपालनको सम्भावना रहेको बताए । “१ घार मौरीबाट २० केजीसम्म मह उत्पादन हुन्छ”, उनले भने, “फलफुल, तोरीलगायतको खेतीले गर्दा मौरी चरनमा समस्या छैन ।” उनले जंगल आसपासका क्षेत्रमा मौरीचरन प्रशस्तै रहेको बताए । “वर्षमा ४ पटक मह काट्न सकिन्छ, अन्यबालीको तुलनामा लगानी पनि कम लाग्छ”, उनले भने, “मौरीपालनका तालिम, प्राविधिक सहयोगका कार्यक्रममा नगरपालिकाले बनाउनेछ ।” उनले समूहगत रुपमा मौरीपालन गर्ने किसानलाई अनुदानका दिने लक्ष्य रहेको बताए । माडी नगरपालिकाले कृषि तथा पशु क्षेत्रमा आगामी वर्ष ३ करोड बजेट छुट्टाएको छ ।
चितवनमा ६ सय बढी मौरीपालक किसान छन् । जिल्लामा वार्षिक ८ सय मेट्रिक टन मह उत्पादन हुन्छ । चितवनमा मौरीपालन गर्ने ६०० किसान छन् । लकडाउनले गर्दा मौरीपालनमा ५० प्रतिशत बढी क्षती पुगेको छ । मौरीचरनका लागि घार सार्न नपाउँदा केही महिना किसान मारमा थिए ।