विप्लव काफ्ले
भरतपुर, १५ असार
नेपाल मत्स्य व्यवसायी संघ–चितवनले मागअनुसारको उपकरणमा अनुदान नपाइएको गुनासो गरेको छ । माग गरेका सूचीभन्दा फरक उपकरण मात्रै छनौट गरी सम्झौता गर्न बोलाएपछि माछापालक किसान निराश बनेका छन् । उनीहरुले माछा पोखरीमा चाहिने एरेटेर आवश्यकताअनुसारको नपाइएको बताएका छन् ।
बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय हेटांैडाले कात्तिक १९ गते पशु तथा मत्स्य क्षेत्रका लागि यान्त्रीकरण साझेदारीका लागि प्रस्ताव आह्वान गरेको थियो । संघका उपाध्यक्ष लुलाराज तामाङले किसानले माग गरेका एरेटर नपाउने अवस्था बनेपछि किसान दुःखी बनेको बताए । “हामीले २ र ४ पाइडीलवाला एरेटर मागेका थियौँ, तर सबै किसानलाई ६ पाइडीलवाला एरेटेर मात्र छनौट गरी सम्झौता गर्न बोलाइयो, हामीले महँगो र आवश्यक नभएको उपकरण लिन मानेनौँ ।”
पोखरीमा माछालाई अक्सिजन कमी हुन नदिन एरेटर राखिन्छ । “ठूलो एरेटरले पोखरीको डिल नै भत्काउँछ, जिल्लामा साना तथा मझौला पोखरीमात्रै छन्”, उनले भने, “आवश्यक उपकरण दिनुस् भन्दा पनि सुनवाइ भएन ।” चितवनमा ५ सय बढी हेक्टरमा माछापालन हुन्छ । करिब २ हजार ४ सय पोखरी छन् । करिब १ हजार ३ सय व्यावसायिक किसान छन् । जिल्लामा वार्षिक २७ सय बढी मेट्रिक टन माछा उत्पादन हुन्छ । अधिकांश पोखरी ५ देखि १० कठ्ठा क्षेत्रफलका छन् ।
स्रोतका अनुसार आपूर्तिकर्ताले बजार मूल्यभन्दा बढी मूल्यको दररेट बुझाएका थिए । १ लाख १५ हजार देखि १ लाख २५ हजार पर्ने भनिएको ६ पाइडीलवाला एरेटरको बजार मूल्य करिब ८० हजार, ६० देखि ६५ हजार पर्ने भनिएको २ पाइडीलवालाको बजार मूल्य करिब ४० हजार, ८० देखि ५० हजार पर्ने भनिएको ४ पाइडीलवालाको बजारमूल्य करिब ६५ हजार पर्छ । आपूर्तिकर्ताले भाउ बढाएर दररेट पठाएपछि अनुदानमार्फत उपकरण खरिद गर्दासमेत महँगोमा पर्ने स्थिति सिर्जना भएको थियो ।
किसानले गुनासो गरेपछि निर्देशनालयले ६ पाइडीलवालालाई ८५ हजार, ४ पाइडीलवालालाई ६५ हजार, २ पाइडीलवालालाई ४० हजारमा मूल्य कायम गरेको स्रोतले जानकारी दिएको छ । “धेरै मूल्य पर्ने उपकरण होइन, आवश्यक उपकरण दिनुस् भनिरहेका छौँ”, अध्यक्ष खगेन्द्र सुवेदीले भने, “कार्यविधिमै छैन, दिन मिल्दैन, ६ पाइडीलवालानै लैजानु भन्ने जवाफ आउँछ ।” २–३ जना किसानले मात्रै ६ पाइडीलवाला एरेटर अनुदानमा लिन सम्झौता गरेका छन् । “मत्स्यपालक किसानले ११ प्रकारका उपकरण मागेका थिए, तर ६ पाइडीलवालामात्रै दिने गरी बोलाइयो”, उनले भने, “अनुदान लिन असमर्थ छौँ, आवेदन दिएका करिब ३ सय किसान मारमा परे ।” विद्युत् बढी खपत गर्ने, पोखरी भत्कने र लागत बढी पर्ने कारण कम क्षमताका एरेटर माग गरिएको उनले बताए । “१ विघाभन्दा साना पोखरीमा ६ पाइडीलवाला एरेटर उपयुक्त छैन”, उनले भने, “पोखरीको संरचना अनुसारको अनुदान दिनुपर्दथ्यो ।” निर्देशनालयले २ वा ४ पाइडीलवाला एरेटरमध्ये कुनै लिन सकिने भन्दै आएपनि आपूर्तीकर्ताले सूचीकृत भएका यन्त्रउपकरणमा परेका ती सामग्री उपलब्ध नभएको भन्दै उम्कन खोजेका छन् ।
धेरै किसानले सम्मरसिवल एरेटर (पोखरीभित्रै राख्न मिल्ने), सिल पोलिङ (पोखरीमा बिछ्याउने प्लाष्टिक), महाजाल माग गर्ने किसान धेरै थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय चितवनका प्रमुख दयाराम चपागाईंले यन्त्र उपकरण वितरणमा कार्यालयले सहजीकरण मात्रै गरेको जिकिर गरे । “ निर्देशनालयबाट स्वीकृत योजनाअनुसार पशु तथा मत्स्य क्षेत्रका माग भएका यन्त्र उपकरणका फाइल पठाएका हौँ”, उनले भने, “कुन किसानले के उपकरण पाए, के–के लिएनन् भन्ने जानकारीमा छैन ।” अनुदानमा यन्त्रउपकरण लिनका लागि छनौट भएका किसानसँग मंगलबारसम्म सम्झौता गरेर फाइलहरु पठाइने बताए ।