चितवन, १५ असार । चितवनको भरतपुरमा तीन दिनदेखि बेपत्ता भएका एक वृद्ध बुधबार जङ्गलमा मृत फेला परेका छन् ।
भरतपुरको नवजागृति सामुदायिक वनभित्र बुधबार अपराह्न ४ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–११ प्रसिद्धि टोलका स्थानीयवासी ६० वर्षीय शेरबहादुर कुमाल यही असार ११ गतेदेखि बेपत्ता भएका थिए ।
स्थानीयवासीले दिएको सूचनाका आधारमा खोजी गर्दै जाँदा उनी मृत अवस्थामा फेला परेका हुन् । उनको खोजीका लागि परिवारबाट चितवन प्रहरीमा निवेदनसमेत परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । रासस
Share this:
बिहिबार, असार १५, २०७४
प्रकाशित