विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१५ असार ।
विपद् तयारी तथा प्रतिकार्य योजना निर्माण कार्यलाई स्थानीयस्तरमै बनाउन जिल्ला विपद् व्यवस्थापन समिति चितवनले आग्रह गरेको छ । मनसुन पूर्व तयारीबारे बुधबार भएको छलफलमा स्थानीय तहले आ–आफ्नो वस्तुस्थितिअनुसार पूर्वतयारीमा रहन आग्रह गरिएको छ ।
साउन १५ गतेभित्र विपद् जोखिम न्यूनीकरण गर्ने योजना निर्माण गर्न समितिले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले वडातहमा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउन अनुरोध गरे । “स्थानीय समिति विगतमा पनि थिए, तर निष्क्रिय रहे”, उनले निर्वाचित जनप्रतिनिधिलाई लक्षित गर्दै भने, “अब सक्रिय पार्ने जिम्मा तपाईंहरुको काँधमा छ, विपद् व्यवस्थापनमा लागिपरौं ।” उनले विपद् व्यवस्थापन गर्न विगतमा बनाइएका संरचनालाई चलायमान गराउन भूमिका निर्वाह गर्न अनुरोध गरे ।
“विपद् जोखिमको मूल्यांकन गरी तयारी अवस्थामा बसौं”, उनले भने, “जनशक्ति व्यवस्थापन गरौं, स्थानीय संस्थाहरुलाई पनि परिचालन गरौं ।” विपद्का बेला खटिने स्वयंसेवक अहिल्यै तयार गर्न सकिए क्षति न्यूनीकरण गर्न सघाउने उनको भनाइ थियो । समितिले विपद्मा आवश्यक सामग्रीको व्यवस्थापन गर्न स्थानीय प्रहरी चौकीको समन्वयमा काम गर्न सुझाव दिएको छ ।
“विपद् परेका बेला आवश्यक पर्ने न्यूनतम सामग्री अहिल्यै राखौं”, प्रमुख जिल्ला अधिकारी भट्टले भने, “उद्धार तथा मर्मतमा आवश्यक पर्ने ठूला उपकरण पनि तयारी अवस्थामा राखौं, जसले ठूलो विपद् रोक्न सकोस् ।” विपद्का बेला स्वतः परिचालन हुने गरी नगरस्तरीय विपद् व्यवस्थापन समिति बनाउन सुझाव दिए ।
चितवनमा सबैभन्दा बढी जोखिमयुक्त क्षेत्रका रुपमा निर्माणाधीन नारायणगढ–मुग्लिङ सडकखण्ड रहेकाले सबै पक्षलाई संवेदनशील रहन उनले आग्रह गरे । “ठूला एक्साभेटर तथा रोलर लगाएर पहाडका भित्ता फोरिएका छन्”, उनले भने, “कटिङ छड्के नभई ठाडो छ, जसले गर्दा जोखिम बढेको छ ।” व्यवस्थापिका संसद् विकास समितिलाई सडकखण्डको अवस्थाबारे जानकारी गराइसकिएको उनले बताए । “जेठ १५ गतेभित्र स्ट्रक्चरल काम सक्ने भनिएको थियो, सुरक्षाका उपाय अपनाइने भनेर निर्णय गरिएको थियो”, उनले भने, “ती निर्णय कार्यान्वयन भएनन्, वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने अवस्था छ ।”
पहिरो, सवारी दुर्घटनाको उच्च जोखिम क्षेत्र भएकाले इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका १ र २९ का वडाध्यक्षसहितको नियमित अनुगमन गर्ने गरी समिति बनाइएको जानकारी दिए । सो सडक क्षेत्रमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटीलाई समितिले आग्रह गरेको छ । चितवनमा रेडक्रसमार्फत २० वटा एम्बुलेन्स सञ्चालनमा छन् ।
बाढी, पहिरो, जंगली जनावरको आक्रमण, सवारी दुर्घटनाजस्ता विपद्को उच्च जोखिम बढी भएकाले स्थानीय तहले विपद् व्यवस्थापनमा कदम चाल्नुपर्ने अवस्था आएको समितिको ठहर छ । विपद्को समयमा आवश्यक परेमा सरकारी गाडी उद्धार तथा राहत वितरणमा परिचालन गर्ने गरी तयारी अवस्थामा रहन जिल्लास्थित सरकारी कार्यालय प्रमुखलाई अनुरोध गरेको छ । माडी, पूर्वीचितवन, पहाडी क्षेत्र र पश्चिम चितवनमा चिकित्सक उद्धार, राहत व्यवस्थापन र सूचना सञ्जाललाई तयारी अवस्थामा राख्ने र प्रयोगमा ल्याउने गरी संयन्त्र विकास गर्न समितिले अनुरोध गरेको छ ।