धु्रवराज खनाल/कायाकैरन
सौराहा,१५ असार ।
नेपालकै तेस्रो पर्यटकीय नगर रत्ननगरस्थित सौराहालाई २४ सै घण्टा सञ्चालन गर्न यहाँका व्यवसायीले माग गरेका छन् । रत्ननगर नगरपालिकाका निर्वाचित जनप्रतिनिधीको स्वागत तथा सम्मानमा बुधबार आयोजित कार्यक्रममा सौराहाका व्यवसायीहरुले व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न पाउनुपर्ने बताए ।
क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष सुमन घिमिरेले चाँडै व्यवसाय बन्द गर्नुपर्दा व्यवसायी मर्कामा परेको बताए । “राति ९÷१० बजे नै व्यवसाय बन्द गर्नुपर्ने अवस्था छ”, संघका अध्यक्ष घिमिरेले भने, “पर्यटन प्रवद्र्धन र यहाँको विकासका लागि २४ सै घण्टा खोलिनुपर्छ ।”
घिमिरेले व्यवसाय सञ्चालनको अवधि बढाउँदै २४ सै घण्टा सञ्चालनका लागि पहल गरिदिन निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । “पोखराको लेकसाइड र काठमाडौंको ठमेलमा यो नियम लागू भइसक्यो”, उनले भने, “तेस्रो गन्तव्यको रुपमा रहेको सौराहालाई पनि त्यहीअनुसार सञ्चालनका लागि बाधा अड्काउ फुकाउन जनप्रतिनिधिले भूमिका निर्वाह गरिदिनोस् ।”
सौराहाको व्यवसाय पुरानै ढर्रामा चलेकाले नयाँ क्रियाकलाप दिएर पर्यटकलाई आकर्षित गर्ने वातावरण बनाउन आवश्यक रहेको घिमिरेले बताए । क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष लालबहादुर भट्टले २४ सै घण्टा व्यवसाय सञ्चालनका लागि सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने बताए ।
२०७२ सालमा गएको भूकम्प, त्यसको पछिको नाकाबन्दी र निर्माणाधीन नारायणगढ–मुग्लिङ सडकखण्डका कारण सौराहाको व्यवसाय धरासायी बनेकोले बाटो तीव्र निर्माणका लागि केन्द्रीय सरकारलाई झकझकाउन जनप्रतिनिधिलाई आग्रह गरे । “नारायणगढ–मुग्लिङ सडकखण्डका कारण यहाँका व्यवसायीले होटल तथा रेष्टुरेण्टमा ताल्चा लगाउनुपर्ने अवस्था छ”, रत्ननगर–७ का वडाध्यक्षसमेत रहेका रेवानका अध्यक्ष भट्टले भने, “यसका लागि यहाँका सरोकारवाला सबै निकाय केन्द्रीय सरकारसमक्ष डेलिगेसन जानुपर्छ ।”
रेवानका प्रथम उपाध्यक्ष गोकर्ण गिरीले सौराहामा सार्वजनिक शौचालय नहुँदा समस्या भएको भन्दै घुम्ती सार्वजनिक शौचालय निर्माणका लागि नगर प्रमुखलाई आग्रह गरे । क्षेत्रीय होटल संघका प्रथम उपाध्यक्ष दीपक भट्टराईले पाँच वर्षभित्र रत्ननगरलाई ‘रत्न’ बनाउन सौराहालाई तेस्रो गन्तव्यबाट दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न जरुरी रहेको आंैल्याए । प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सौराहाको व्यवसाय २४ सै घण्टा सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । “सौराहा आफैमा झिलिमिली छ”, नगर प्रमुख वनले भने, “उज्यालो भएपछि कुनै गलत क्रियाकलाप हुन पाउँदैन, त्यसैले यहाँको व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न आवश्यक छ ।”
विश्वमान चित्रमा पहिचान बनाएको सौराहालाई दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पार गर्नुपर्ने खुड्किला के–के छन्, त्यसबारे विज्ञहरुसँग छलफल गरेर अघि बढ्ने उनले बताए । यहाँ आउने पर्यटकलाई आकर्षित गर्न सौराहाका व्यवसायीले अघि सारेको वाटर किङडम र मिनी जू निर्माणका लागि नगरपालिका सकारात्मक रहेको वनको भनाइ थियो । नगर उपप्रमुख विमलादेवी दवाडीले सौराहाको पर्यटन विकास गरी समृद्ध नगर निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताइन् ।
रत्ननगर–२ का वडाध्यक्ष तिलकराज शर्मा पौडेलले सौराहाको प्राकृतिक सौन्दर्य कायम राख्न सके मात्रै सौराहा रहने बताए । “यहाँको प्राकृतिक वातावरण जोगाउन चुनौती छ”, वडाध्यक्ष शर्माले भने, “वातवारण जोगाए मात्र सौराहा रहन सक्छ ।” रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर–६ का वडाध्यक्ष बलराम दाहाल, ९ का वडाध्यक्ष रोशन आचार्य, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष वीपी चौधरी, रेवान महिला समूहकी अध्यक्ष माला दाहाल, वडा सदस्यहरु किरण महतो, भोलादेवी पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।