ध्रुवराज खनाल
रत्ननगर, ७ असार
चितवन खैरहनी–१० खरखुट्टेका किसान कृष्ण अर्याल गतवर्ष गरिमा जातको धानबाट पीडित भए । गएको चैतमा लगाइएको हर्दिनाथ–१ धानबाट पनि त्योभन्दा धेरै पीडा ब्यहोरे । गरिमा धान केही उत्पादन भए पनि हर्दिनाथ भने एक गेडो भित्र्याउन पाएनन् उनले ।
चैतमा लगाइएको हर्दिनाथ धान बाला लागेपछि बोटै समेत सखाप भयो । गरिमाको पीडा भुल्न नपाउँदै हर्दिनाथ भित्र्याउन नपाएका उनले सो धान नलगाउने भन्दै कान समाएका छन् । यसपालि अर्याललाई मात्रै होइन, पूर्वी चितवनका अधिकांश किसानले धान भित्र्याउन पाएनन् । भित्र्याएकाको पनि तीन भागको एक भाग मात्र उत्पादन भयो । किसान अर्यालले २ विघामा लगाएकोमध्ये १५ कठ्ठाको धान शतप्रतिशत क्षति भएको छ । “गरिमा धानको पीडा भुल्न नपाउँदै हर्दिनाथले पीडा थपिदियो”, अर्यालले भने, “हर्दिनाथको विकल्पमा अर्को जातको राम्रो उत्पादन हुने धान पाए त्यही लगाइन्छ ।”
हर्दिनाथमा पहिले पनि समस्या आएको र यसपटक झनै सखापै बनाएको भन्दै अर्यालले बरु खेत बाँझै राख्ने तर हर्दिनाथ नलगाउने बताए । कृषिविज्ञको सल्लाहअनुसार अर्को धान लगाउने उनी बताउँछन् । खैरहनी–१२, सिसहनीकी किसान भगवती सिलवालले १२ कठ्ठामा लगाएको हर्दिनाथ धान पनि यसपालि सखाप भयो । उनको खेतबाट दुई भाग भुस र एक भाग धान मात्र उत्पादन भयो । कृषि विज्ञहरुले उनको खेतमै पुगेर उत्पादनको परिणाम निकालेका थिए ।
‘कम्वाईन हार्भेस्टर’ मेसिनले थे्रसिङ गरेको ५ किलो तौलबाट नाङ्लोले निफन्दा पुष्ट दानाको तौल २.७ किलो र पपटा धानको तौल २.३ किलो रहेको पाइयो । पुष्ट धानको एक हजार दानाको तौल २१.५ ग्राम र पपटा धानको एक हजार दानाको तौल १० ग्राम रहेकोमा पपटा दानाहरु सबै पुष्ट भएको भए त्यसको तौल ४.५९ किलो हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाले बताए ।
धानबाहेक पपटा समेत पुष्ट भएको भए ७.६५ किलो हुने थियो । नमूना लिइएको स्थानका किसानले ६५ प्रतिशत क्षति व्यहोरेको पनि तिमल्सिनाले बताए । यो अनुपातमा पूर्वी चितवनका किसानहरुले यस पटक ठूलो क्षति व्यहोर्नुपरेको छ । किसानले हर्दिनाथ धान नलगाउने बताइरहेका बेला कृषिविज्ञ पनि यो जातको धान नलगाउन सुझाव दिन्छन् । हर्दिनाथको तुलनामा यसपालि पीआर धानमा रोग लागेन । जसका कारण उत्पादन राम्रो भयो । “पीआर राम्रो उत्पादन भयो भन्दैमा यो बिउ नै लगाउँछन् भन्ने छैन”, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत माधव पौडेलले भने, “हर्दिनाथ भन्दा नयाँ जात अथवा ढिलो पाक्ने धान लगाउनुपर्छ ।”
पौडेलका अनुसार पूर्वी चितवनमा केही किसानको धान पूरै सखाप भएको, उत्पादन भएकोमा पनि ६० प्रतिशतभन्दा बढी क्षति भएको छ । चितवनमा ७ हजार हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । त्यसमध्ये ५ हजार ५ सय हेक्टरमा धान जोन कार्यक्रम लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धान जोनको कार्यक्रम सञ्चालनमा रहेको छ ।