भरतपुर, ७ असार
कोरोनाबाट बच्न भन्दै विभिन्न ठाउँमा पूजा अर्चना हुन थालेपछि सरकारले त्यसो नगर्न आग्रह गरेको छ । नियमित प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले पूजा गरेर कोरोना संक्रमणबाट बच्न सकिन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।
देशका विभिन्न स्थानमा कोरोना रोक्न पूजा भएको र नदी आसपासमा ठूलो संख्यामा मान्छे भेला भएर कोरोना देवीको पूजा गरेको खबर आएको भन्दै डा.गौतमले यस्ता भ्रमका कारण जोखिम थप बढ्ने भन्दै सचेत हुन आग्रह गरेका छन् । समूहमा रहँदा संक्रमणको जोखिम हुने भन्दै उनले भ्रम त्याग्न आग्रह गरे ।
कोरोना भाइरसको विषयमा विश्वभरका वैज्ञानिकहरुले अनुसन्धान गरिरहेको र नेपाल सरकारले पनि आफ्नै तवरबाट यसको नियन्त्रणको प्रयास गरिरहेको भन्दै प्रबक्ता गौतमले सरकारको आग्रहलाई मान्न आग्रह गरे ।
तराइका विभिन्न ठाउँमा केही दिन यता कोरोना भाइरसको संक्रमणका लागि कोरोना देवीको पूजा भन्दै महिलाहरु भेला हुने गरेको समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्ट पारेको हो ।
फोटोःपहिलोपोष्ट डटकमबाट