भरतपुर, २८ वैशाख ।
दलहरु आज अन्तिम चुनावी सभामा जुट्दैछन् । आजै राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले दलहरुले गर्ने चुनावी प्रचारसम्बन्धी सबै कार्यक्रम आज सक्नुपर्नेछ । मौन अवधि सुरु भएलगत्तै चुनावी सभा, प्रचारप्रसार, विज्ञापन प्रकाशन तथा प्रसारण सबै बन्द गर्नुपर्ने छ ।
सोहीअनुसार आज चितवनमा पनि विभिन्न दलले चुनावी सभाहरु गर्दैछन् । कांग्रेस–मोओवादीको संयुक्त चुनावी आमसभा भरतपुरमा गरिदै छ । स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि कांग्रेस–माओवादी भरतपुर महानगर संयुक्त प्रसारप्रचार कमिटीको आयोजनामा दिउँसो १ बजे गर्ने आमसभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउँदैछन् । नेपाली कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले बिहान ११ः५० बजेको फ्लाइटमा भरतपुर आउने जानकारी दिए ।
माओवादीका वरिष्ठ नेता रामबहादुर थापा (बादल) र कांग्रेस वरिष्ठ नेता बालकृष्ण खाँडले पनि सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भरतपुर महानगरपालिकाको मेयर तथा उपमेयर पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएपछि दुवै पार्टीका शीर्ष नेतृत्व एकै मञ्चबाट सम्बोधन गर्न आउन लागेको माओवादी केन्द्र चितवनका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।
भरतपुर केन्द्रीय बस टर्मिनलको खुल्ला चौरमा बृहत आमसभा गर्ने तयारी पूरा भएको संयुक्त चुनाव प्रचार समितिले जनाएको छ । महानगरका २९ वडाबाट बृहत ¥याली भरतपुरमा केन्द्रीय बसपार्क, हाकिमचोक, चौबिसकोठीचोक, लायन्सचोक, नारायणगढ बजार, शहीदचोक, पुलचोक हुँदै पोखरा बसपार्क, आँपटारी हुँदै बाईपास रोड भई पुनः केन्द्रीय बसपार्कमा आई सभामा परिणत हुनेछ ।
ओलीले ५ सभामा सम्बोधन गर्ने
अन्तिम चुनावी सभाका लागि नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीपनि चुनावी सभाका लागि आजै भरतपुर आउँदैछन् । एमाले भरतपुर महानगर कमिटीको आयोजनामा हुने आमसभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न अध्यक्ष ओली भरतपुर आउन लागेको नेकपा एमाले चितवनले जानकारी दिएको छ ।
अध्यक्ष ओलीसँगै महासचिव ईश्वर पोखरेल पनि आउने एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए । आमसभा आज दिउँसो १२ बजे नारायणगढको पोखरा बसपार्कमा हुनेछ । आमसभाअघि बिहान ११ बजे भरतपुरको चौबिसकोठीबाट नारायणगढको लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पोखरा बसपार्कमा ¥याली निकाल्ने तयारी गरिएको छ । ओलीले पोखरा बसपार्कको सभापछि रत्ननगर, कालिका, खैरहनी र भण्डारामा पनि सम्बोधन गर्ने कार्यतालिका छ ।