होमराज रानाभाट ।
नवलपरासी असार १४ गते ।
नवलपरासीको प्रदेश नं ५ मा रहेका सात वटा स्थानीय तहमा शान्ति पुर्ण रुपमा निर्बाचन सम्पन्न भएको छ ।
तीन नगरपालिका र चार गाउँपालिका रहेको प्रदेश नं ५ मा बिहान सात बजे देखि मतदाताको उत्साहपुर्ण उपस्थिति रहेको थियो भने यहाँ ७० प्रतिशत मतदान भएको निर्बाचन कार्यालयले जनाएको छ । बर्दघाट नगरपालिकामा ८० प्रतिशत,सुनवल,नगरपालिकामा ७५ प्रतिशत मतदान भएको छ भने रामगा्रम नगरपपालिका,सरावल,पाल्हीनन्दन,प्रतापपुर र सुस्ता गाउँपालिकामा ६५ प्रतिशत मतदान भएको छ भने मतदान केन्द्रहरुमा बिहानै देखि मतदाताहरुको लामो लाईन रहेको र मतदानका लागि मतदातामा निकै उत्साह देखिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताउनुभयो ।
सरावल गाउँपालिकाको वडा नं ६ भुजहवा मतदान केन्द्रमा ५५० मतदाता रहेकोमा जम्मा दुई जनाले मात्र मतदान गरि बाँकी मतदाताले निर्बाचन बहिष्कार गरेका छन् ।सो वडालाई राज्य पुर्नंसरंचनमा सरावलमा गाभिएको भन्दै त्यहाँका बासीन्दाले बिरोध स्वरुप मतदानमा भाग नलिएका स्थानीयले बताए । नवलपरासीको आज सम्पन्न स्थानीय तहको निर्बाचनमा तीन नगरपालिकामा ४७ वडा र चार गाउँपालिकामा २७ वडा रहेका छन् भने त्यसबाट चार सय चार प्रतिनिधि निर्बाचित हुने निर्बाचान कार्यालयले जनाएको छ ।
तीन नगरपालिकामा एक लाख ५६९ र चार गाउँपालिकामा ८२ हजार ८४४ गरि एक लाख ८३ हजार १३ मतदाता रहेको निर्बाचन कार्यालयले जनाएको छ । जिल्लामा १२० मतदान स्थल कायम गरिएकोमा २४० मतदान केन्द्र रहेको छ भने १४४० कर्मचारी खटाईएको र त्यसमा अति संबेदनशील केन्द्र ७० ,संबेदनशील २७ र सामान्य २३ केन्द्र रहेको जिल्ला सुुरक्षा समितिले जनाएको छ ।
सो निर्बाचनका लागि एक हजार दुई सय प्रहरी,सात सय सशस्त्र ,४४० नेपाली सेना र एक हजार ८७० म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो ।
निर्बाचनलाई दृष्टिगत गरि चार बख्तरबन्द गाडी र दुई हेलिकोप्टरको गस्ती गराईएको र निर्बाचनका क्रममा कुनै घटना नभएको प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो ।
सात स्थानीय तहमा एक हजार सात सय ६१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।