कालिका, ५ असार
पूर्वी चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार सुरु भएको नगरपालिकाको छैटौ नगर सभामा नगर प्रमुख खुमनारायण श्रेष्ठले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कालिका नगरपालिका प्रमुख श्रेष्ठले कोरोना भाइरसबाट फैलन सक्ने संभावित महामारीलाई सम्पूर्ण सामाथ्र्य प्रयोग गरिने बताए । कोरोनाका कारण ज्यान गुमाएका वा वैदेशिक रोजगारी गुमाई घर फर्किएका नागरिकलाई रोजगारी सिर्जना गर्ने कार्यलाईसमेत प्राथमिकता दिइएको नगर प्रमुख श्रेष्ठले बताए । भुमिहीन र विपन्न वर्गका लागि मेयर आवास कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस वर्ष कालिका नगरपालिकाले विपन्नका लागि ४० वटा आवास निर्माण गर्दैछ ।
त्यस्तै कृषि उद्यमलाई प्रोत्साहन गर्न समुदायमा आधारित वजार व्यवस्थापन गर्ने, नगरस्तरीय बिक्री केन्द्रहरु निर्माण तथा संचालन गर्ने, उत्कृष्ट कृषकहरुलाई प्रोत्साहनगरी युवा वर्गलाई व्यवसायिक कृषितर्फ आकर्षित गर्ने नीति अवलम्वन गरिएको छ । दुध उत्पादन, माछा, औद्योगिक क्षेत्रको स्थापना र संचालन, नगरपालिका भित्र रहेका सिन्ती झरना, चित्राम झरना, पर्यटन पदमार्ग, उपरदाङगढी सम्मको हाईकिङ, लटेश्वर महादेव मन्दिर, कालिका मन्दिर, भ्युटावर, भीमवली सामुदायिक पार्क, उदयपुर सामुदायिक पार्कलगायतको पर्यटन स्थलको पहिचान र विकास गर्ने नीति नगरपालिकाले लिएको छ ।
यसैगरी, शिक्षा, खेलकुद, संस्कृति प्रर्वद्धन, खानेपानी, स्वास्थ्य तथा लैंगिक समानता र सामाजिक समावेशीकरण, उर्जा, संचार, स्थानीय सडक, पुल,सिंचाई, पूर्वाधार,वातावरण, वन तथा भुसंरक्षण,फोहोरमैला व्यवस्थापन, जलवायू परिवर्तन लगायतका कार्यक्रमलाई समेत आगामी वर्षको निति तथा कार्यक्रममा समावेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए ।
नगर सभामा बोल्दै चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले अहिलेको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै निति,कार्यक्रम र वजेट ल्याउन सुझाव दिए । प्रदेश सभा सदस्य घनश्याम दाहालले जनतालाई उत्पादनसंग जोड्ने, जनतालाई सुरक्षित वनाउने गरि योजना ल्याउनु पर्नेमा जोड दिए । नगरपालिकाको छैटौ नगर सभा आगामी असार १० गते सम्मका लागि स्थगित भएको छ ।