भरतपुर, ५ असार
फोक्सोको क्यान्सरका बिरामी रहेका ७५ वर्षीय जेष्ठनागरिक कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिकाको वडा नम्बर ६ का वृद्ध फोक्सोको क्यान्सरबाट पीडित थिए । फोक्सोको क्यान्सर र केमोथेरापी भइरहेका बिरामीले कोरोना भाइरसको संक्रमणलाई जितेको घटना अत्यन्तै दुर्लभ रहेको विज्ञहरु बताउँछन् । फोक्सोको क्यान्सरको उपचारका लागि छोरासँग भारत गएका वृद्धमा गत जेठ ९ गते कोरोना संक्रमण देखिएको थियो । उनकी ७३ वर्षकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको थियो । उनले श्रीमतीसँगै २९ दिन भरतपुर अस्पतालमा बसेर उपचार गराएका थिए । उनै जेष्ठनागरिकसँग कायाकैरनकर्मी राजेश घिमिरेले कुराकानीको सार यस्तो छ ।
एक महिनाको अवधिमा कोरोना जितेर घर फर्किँदा कस्तो अनुभुति भइरहेको छ ?
–मलाई आनन्द लागिरहेको छ अहिले । कैदमा बसेको जस्तो भएको थियो त्यहाँ । कोठाबाट निस्कनै नमिल्ने । २९ दिन बसें । निस्केर आउँदा निकै खुसी लागेको छ ।
परिवारका तीन जनाले कोरोनालाई जित्नुभयो । के आवश्यक रहेछ जित्नका लागि ?
–कोरोनालाई जित्नका लागि मनोबल गिराउनुहुँदैन । उच्च मनोबल राख्नुपर्छ । सबै स्वास्थ्यकर्मीहरुले हामीलाई उच्च मनोबल दिनुभयो । पोलाइटली कुरा गर्नुभयो । कसैले पनि त्यति नराम्रो गर्नु भएन । म त अर्को बिमारीवाला पनि हो । उताबाट लड्दै लड्दै पैठाजोरी खेलेर आएको हो । यता आएर पनि त्यत्रो दिन संघर्ष गरेर विजयी भएर आएको छु । म सबै नेपालीलाई मनोबल बढाएर कोरानामाथि सफलता प्राप्त गर्नुहुनेछ भन्न चाहन्छु ।
घरमा बासिरहँदा श्रीमान–श्रीमतिलाई नै कोरोना पोजेटिभ भएको खबर आउँदा त्यतिखेरको अवस्थालाई व्यवस्थापन गर्न कत्ति गाह्रो भयो ?
–मलाई केही गाह्रो भएन । मलाई केही चिन्ता भएन । यस्तै हो कोरोना सबै ठीक हुन्छ भनेर सबैलाई सम्झाएँ । म विचलित भइन ।
तपाईलाई पहिलेबाटै रहेको फोक्सोको क्यान्सरको समस्या चाहि कस्तो छ अहिले ?
–मैले पाँच वटा केमो लगाइसकेँ । अब यही क्यान्सर अस्पतालमा फेरी दुई–३ वटा केमो लगाएपछि काठमाडौं जानुपर्छ । कस्तो भयो भनेर हेर्न ।
कोरोना संक्रमण भएर उपचार गरिरहेकाहरुलाई के भन्न चाहनुहुन्छ ?
–उच्च मनोबल राख्ने नै हो मुख्य कुरो । नातागोता सबैबाट राम्रो सन्देश आउँदा पनि मनमा खुसी आउँछ । यसले पनि आत्मविश्वास बढ्छ । होम क्वारेन्टिनमा बस्ने । यस्तै हो । हाम्रो धेरै समस्या थियो । दिल्ली गइयो उपचारका लागि । श्रीमती र छोरालाई पनि संक्रमण भयो । कहाँ लाग्यो थाहा भएन । तर यता बुहारीलाई त्यही समयमा टाउकोको अप्रेसन गर्नुप¥यो । यति हुँदा पनि हामी सफल हुँदै आएका छौं । हाम्रो दुःख हट्दै गयो । हामीलाई भगवानले दिएको टेष्ट पार गर्दै आएका छौं ।
विश्वव्यापीरुपमा कोरोनाको महामारी फैलिरहँदा तपाई यसबाट बच्न कस्ता सुझावहरु दिन चाहनुहुन्छ ?
–सेनिटाइजिङ गर्ने, ग्लव्स, मास्क लगाउने, अरु मान्छेसँग टचिङ नहुने । लकडाउन खोल्ने कुरो पनि राम्रो मान्दिन म । यो बेलामा लकडाउन खोल्दा संक्रमण बढ्छ ।
अडियो अन्तर्वार्ता