भरतपुर, ५ असार
फिजिसियन डाक्टरका रुपमा काम गर्न थालेको ७ वर्ष बढी भैसक्यो । विश्वभर कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि हामीपनि निकै सतर्क थियौँ । उपचारमा आउने बिरामीलाई पनि सावधानि अपनाउन भनिरहेका हुन्थ्यौँ । जेठ २६ गते म नियमित ड्युटीमै थिएँ । अस्पतालमा बिरामी चेकजाँच गर्दै थिए । दिउसो १ बजे डाक्टर साथीको फोन आयो । म झसंग भएँ । ‘तपाईको रिपोर्टमा कोरोना संक्रमण देखियो, छुट्टै बस्नुस’ भन्ने सुनेपछि तुरुन्तै चेकजाँच नै छाडेर आफ्नो फ्ल्याटमा पुगेँ ।
मनभरी अनेक प्रश्नहरु उब्जिए । करिब ९ दिन सेल्फ आइसोलेसनमै बसेँ । एक्लै बस्दा निकै गारो हुदो रहेछ । त्यसपछि मेरो २ पटक थप परीक्षण भए । असार २ गते संक्रमणमुक्त भएको खबर पाएपछि मन हलुका भयो । निकै खुशी लाग्यो । घरपरिवारलाई सम्झेँ । घरपरिवारलाई संक्रमणमुक्त भएको छु भन्ने जानकारी गराएँ । त्यसपछि म एक्लै आफ्नो घरको क्वारेन्टिनमा बस्दै आएको छु । अझै २ हप्ता आराम गरेर बस्छु । २ हप्तापछि मात्रै बिरामीको उपचारमा जानेछु ।
मलाई कोरोनाका कुनै लक्षण देखिएका थिएनन्, अहिलेपनि छैन । दिनहुँ सयौँ बिरामीसँग घुलमिल हुनुपर्छ एकपटक चेकजाँच गर्नुस् भन्ने सल्लाहमै चेकजाँच गराएको थिएँ । तर, रिपोर्ट पोजेटिभ आयो । कोरोना लाग्दैमा कोही मरिहाल्ने होइन । तर, समाजमा यो भाइरससँग धेरै त्रसिद छन् । सावधानि अपनाउनु राम्रै हो । तर, अनावश्यक भ्रम राखेर संक्रमितप्रति नराम्रो व्यवहार गर्नुहुदैन । एक्लै बस्दा जोकोहीलाई एक्लो महसुस हुन्छ, मानसीक तनाव हुन्छ । संक्रमितलाई गर्ने व्यवहार राम्रो नभएको मैले प्रत्यक्ष भोगे । कुनै व्यक्ति विशेषलाई भन्न खोजेको होइन । जतिखेर मलाई संक्रमण भएको पुष्टी भयो, त्यसपछाडी नकारात्मक कुरा हुन थालेको मेरो परिवार छिमेकीबाट जानकारी पाएँ ।
मान्छेहरुमा अझै भ्रम रहेछ भन्ने लाग्यो । सामाजिक दुरी कायम ग¥यो भने कोरोना सजिलै सर्दैन । सामाजिक दुरी कायम गर्दै सावधानि अपनाएर व्यक्तिलाई भेट्दा, कुरा गर्दैमा संक्रिमत व्यक्तिबाट तुरुन्तै भाइरस सरिहाल्दैन । कुनै व्यक्ति संक्रमित हुने वित्तिकै गाउँमै संक्रमण फैलिने भयो भन्ने जस्ता नकारात्मक टिप्पणी गर्दा संक्रमितको मनोबल पनि घट्छ । संक्रमितलाई ‘इमोसनल सपोर्ट’ चाहिन्छ । फोन वा सामाजिक सञ्जालबाट ‘पोजेटिभ थिङकिङ’ ल्याउने कुरा गर्नुपर्छ । उ एक्लो अनुभव हुन पाउँदैन र नकारात्मक सोच आउदैन ।
कोरोनाबाट बच्ने तरिकाबारे धेरैलाई जानकारी छदैछ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा छिटाहरु अगाडी बस्नेलाई लाग्न सक्छ । हाछ्यु गर्दा वा निस्केको छिटा वरिपरी भएका व्यक्तिको हातको माध्यमबाट नाक, मुख, आँखामा पुग्यो भने सजिलै भित्र छिर्छ र संक्रमण गराउँछ । बच्ने मुख्य उपाय सामाजिक दुरीनै हो । मास्क नियमित लगाउने, पटक–पटक हात धुने, खोक्दा वा हाँछ्यु गर्दा टिस्यु पेपर वा रुमालको प्रयोग गर्ने बानीनै बसालौँ । प्रयोग गरेका टिस्यु पेपर तुरुन्तै फाल्ने वा रुमाल तुरुन्तै धुने हो भने कोरोना भाइरस फैलिने जोखिम कम हुन्छ ।
लकडाउनले संक्रमण विस्तार हुन ‘चेन’ टुटाउन सहयोगथ गर्छनै । यो खोल्दा जोखिम बढ्ने सम्भावना हुन्छनै । लकडाउन गरेकै तीन महिना हुन थालिसकेको छ । यसैगरि लकडाउनलाई लम्बाउँदा देशको आर्थिक अवस्थादेखि अरु विभिन्न कुरामा प्रत्यक्षरुपमा असर पार्ने भएकाले लकडाउन विस्तारै खुकुलो पार्दै लैजानुपर्छ । त्योसँगै सामाजिक दुरीका कुरा पनि कायम गर्नुपर्छ । मास्क लगाउने, पटक पटक हात धुने जस्ता स्वास्थ्य सुरक्षाका क्रियाकलाप गर्न छाड्नुहुदैन । जसले गर्दा लकडाउनले हुने असर पनि कम हुन्छ र संक्रमण फैलिने ‘चेन अफ ट्रान्समिसन’ पनि केही मात्रामा कम गर्न सकिन्छ ।
सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने भीडभाड नगर्ने, छोक्दा हाँछ्यु गर्दा मुख छोप्ने जस्ता क्रियाकलापलाई ‘फलो’ गर्नैपर्छ । यी कुरा पालना गरिएन भने संक्रमण झन बढ्ने सम्भावना रहन्छ । सरकारले लकडाउन एकैचोटी होइन चरणवद्ध खोल्नुपर्छ । लकडाउन चरणवद्ध खोलेपनि स्वास्थ्य सुरक्षामा विशेष ख्याल गर्नुपर्छ, तबमात्र संक्रमणको दरलाई कम गर्न सकिन्छ । संख्या बढेपनि बिरामीले पाउने सेवालाई निरन्तरता दिन सकिन्छ ।
(कायाकैरनकर्मी विप्लव काफ्लेले कोरोना संक्रमणमुक्त भएका चितवनका फिजिसियन डाक्टरसँग गरेको टेलिफोन कुराकानीमा आधरित)
टेलिफोन कुराकानी