विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१४ असार।
निर्माणाधीन नारायणगढ–मुग्लिङ सडकमा पहिरोको उच्च जोखिम छ । वर्षासँगै दिनहुँजसो खस्ने पहिरोले जोखिम बढेको हो । व्यवस्थापिका संसद् विकास समितिले मंगलबार सो सडकखण्डको स्थलगत निरीक्षण गरेको छ ।
समितिका सभापति रवीन्द्र अधिकारीले सडक निर्माणमा भएको ढिलाइबारे निर्माण कम्पनीसँग जानकारीसमेत लिएका छन् । भरतपुरमा सरोकारवाला पक्षबीच भएको छलफलमा उनले नारायणगढ–मुग्लिङ सडकखण्डको सुरक्षा उपायसहितको प्रतिवेदन तयार गर्न आयोजनालाई निर्देशन दिएका छन् । “बाटोको डिजाइन र सुरक्षाका लागि अपनाउन सकिने उपाय समेटेर १५ दिनभित्र प्रतिवेदन समितिलाई पेश गर्नुस्”, आयोजनाका पदाकारीलाई निर्देशन दिदै भने, “सुरक्षित सडक बनाउन आवश्यक कुरा समेटेर प्रतिवेदन बुझाउनुस्, हामी सरकारको ध्यानाकर्षण गर्छौँ ।”
उनले पहिरो खस्ने क्रम जारी रहेकाले राती यात्रा निकै जोखिमपूर्ण भएको भन्दै रात्रीकालीन यातायात सञ्चालनमा रोक लगाउने गरी काम अघि बढाइने बताए । “राति गाडी चलाउनुपनि सुरक्षित छैन”, उनले भने, “सवारी बन्द भएका बेला सुरक्षित ठाउँमा निर्माण कामपनि थाल्ने गरी अध्ययन थाल्नुपर्छ, योबारे जिल्ला प्रशासनले नेतृत्व लिनुपर्छ ।” अध्ययन गरी रात्रि यातायात सञ्चालनमा रोक लगाएर निर्माण काम गर्ने व्यवस्था कार्यान्वयन गर्ने प्रक्रिया थाल्न चितवनका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए । “सडक अवस्थाबारे नियमित जानकारी लिन दिन स्थानीय स्तरको समिति बनाउनुप¥यो”, उनले भने, “वर्षायाममा हप्तामा कम्तिमा १ पटक बाटोको अनुगमन होस्, निर्माण कार्यलाई गति दिन निगरानी बढाइयोस् ।”
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति बनाउन निर्देशन दिए । सडक अवस्थाबारेको नियमित सूचना सर्वसाधरणले पाउने गरी व्यवस्थापन गर्न आयोजनालाई आग्रह गरे । यात्रुलाई सुरक्षित यात्राका लागि अपनाउनुपर्ने विषयमा सरोकारवाला पक्षले हातेमालो गर्न अनुरोध गरे । “राजधानीसँग जोडिने लाइफलाइन बाटो हो”, उनले भने, “समयमै काम सम्पन्न गर्नुपर्छ, कुनै बहानामा काममा ढिलाइ गर्ने काम गरिनु हँुदैन ।”
स्थलगत निरीक्षणमा आएको समितिको टोली मंगलबार दिउँसो इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित टोपेखोला नजिकै खसेको पहिरोका कारण केहीबेर अलपत्र परेको थियो । स्थलगत निरीक्षणको प्रतिवेदन चाँडै तयार गरेर सरकारलाई बुझाइने उनले बताए । टोलीमा सांसद प्रकाश पौडेल, गुरु बुर्लाकोटी लगायतका सांसदहरु, सडक विभागका पदाधिकारी सहितको सहभागिता रहेको थियो । विकास समितिका सदस्य प्रकाश पौडेलले यहि हालतमा सडक निर्माण कार्य ५ वर्षमा पनि पूरा नहुने जिकिर गरे । “कटिङ निरन्तर बगिरहेको छ”, उनले भने, “सडक बनेपनि सुरक्षित बन्ने देखिदैन, बैलेमा सोच्नुपर्छ ।”
काम तोकिएकै समयमा हुन्छः सडक विभाग
सडक विभागका महानिर्देशक गोपाल सिग्देलले बढी समय लाग्ने काम सकिएकाले अब चाँडै निर्माण सकिने बताए । “बढी समय लाग्ने काम सकिएका छन्, तर बढी रकमको काम बाँकी छन्”, उनले भने, “थपिएको म्यादभित्रै काम पुरा हुने देखिन्छ ।” उनका अनुसार आँपटारीदेखि दासढुंगा सडक खण्डमा ५० प्रतिशत, दासढुंगादेखि सिमलतालसम्म ५६ प्रतिशत, सिमलतालदेखि मुग्लिङसम्म ४७ प्रतिशत भौतिक प्रगति भएको छ । तीन खण्डमा विभाजन गरेर सडक निर्माणको काम चलिरहेको छ । “संसोधित अवधिमा काम पूरा हुने आँकलन गरेका छौँ”, उनले भने, “निर्माणकर्ताले कामलाई थप गति दिनुप¥यो ।”
नारायणगढ मुग्लिङ सडकखण्ड करिव २ अर्ब ९० करोड लागतमा निर्माणाधिन छ । विश्व बैंकको सहयोगमा सो सडक निर्माणको काम चलेको हो । २०७२ वैशाखमा सडक निर्माणका लागि सम्झौता भएको थियो । लगत्तै आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले झण्डै ९ महिना आयोजनाले गति लिनै सकेन । सडक विभागका उपनिर्दशक तथा आयोजनाका संयोजक सञ्जय कुमार श्रेष्ठले सवारी सञ्चालन भैरहदा निर्माणकार्यमा केहि ढिलाई भएको बताए । “ट्राफिक सुचारु चूनौतिपूर्ण छ”, उनले भने, “कुनै अवरोध विना काम गर्नुपर्छ, तर त्यो वातावरण बनेको छैन ।” उनले सो सडकखण्डमा पर्ने १८ पुल मध्ये चाँडै ४ पुल निर्माणका लागि टेण्डर हुने जानकारी दिए । ७ वटा पुलको चौडाई बढाउने काम गरिने बताए । “बेलीब्रिज खरिद प्रक्रिया अघि बढेको छ”, उनले भने, “अब पुलका कारण देशभर कतै सवारी रोकिदैनन्, समस्या आएको एक हप्ताभित्र बेलीब्रिज राखेर यातायात सुचारु गरिन्छ ।” उनका अनुसार नारायणगढ मुग्लिङ सडकखण्डमा बेलीब्रीज मार्फत सवारी सुचारु गरेर पुललाई फराकिलो पारिने बताए ।