असार १३ गते । निर्वाचन आयोगले भोली बुधबार हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदानमा सरिक भई आफूले रोजेका योग्य उम्मेदवारलाई मतदान गर्न पनि सबैमा अपिल गर्नु भएको छ । बुधबार प्रदेश नम्बर १, ५ र ७ अन्तरगतका ३ सय ३४ स्थानमा निर्वाचन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त यादवले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बुधबार विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको पनि बताउनु भयो । निर्वाचन आयोगले राष्ट्रका लागि दुःख सहेर भएपनि मतदानमा सरिक हुन पनि सबै मतदातालाई आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको भरपर्दो व्यवस्था गरेकाले ढुक्क भएर मतदान गर्न पनि सबैलाई आह्वान गर्नु भयो । निर्वाचन आयोगले मतदाता परिचत्र पत्र छुटेकाहरुलाई पनि मतदान गर्ने बैकल्पिक व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले कुनै कारणबस मतदाता परिचय पत्र छुटे वा हराएमा नागरिकता, २०७० सालमा आयोगबाट जारी गरिएको मतदात परिचय पत्र, राहदानी वा सवारी चालक अनुमति पत्र, जग्गाधनी प्रमाण पत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका परिचय पत्रको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भयो । निर्वाचन आयोगले नागरिकतालाई मूल आधार बनाई मतदान गर्न दिने व्यवस्था मिलाउन पनि मतदान अधिकृतहरुलाई निर्देशन पनि दिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्न पनि सबैमा अपिल गरेको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाताका लागि ४ हजार ५ सय ८१ वटा मतदान केन्द्र तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा मतपत्र सुरक्षा गर्न पनि सरोकारवाला सबैमा अपिल गर्नु भयो । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कुनै पनि गतिविधि नगर्न पनि राजनीतिक दलहरुलाई सचेत गराएको छ ।