विप्लव काफ्ले
भरतपुर, १३ असार
नारायणगढ–मुग्लिङ सडकखण्डको निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले पहिरो हटाउने बजेट नपाउँदा सडक निर्माणको काममा अवरोध आएको बताएका छन् । व्यवस्थापिका संसद् विकास समितिसँग गुनासो गर्दै उनीहरुले सम्झौतामा पहिरो हटाउनेबारे कुनै बजेट व्यवस्था नभएपनि काम गर्नुपरेको बताएका छन् ।
कन्ट्रयाक्ट म्यानेजर रविन्द्र श्रेष्ठले पहिरो व्यवस्थापनका भएको खर्च नपाएको दुखेसो गरे । “ठेक्कामा पहिरो आउँछ, रोक्नुपर्छ भनेर कुनै डिजाइनै छैन”, उनले भने, “५० औँ हजार घनमिटर पहिरो फाल्यौँ, तर पैसा पाएका छैनौँ, तर हामीले काम रोकेनौँ ।” अर्का कन्ट्र्याक्टर म्यानेजर शिशिर कन्दङवाले पहिरो खस्दा पहिरो नहटाएसम्म पीचको काम गर्नै नसकिएको बताउँछन् ।
निर्माणकर्ताहरुले सवारी चलिरहदा निर्माणको काम नियमति अघि बढाउन नपाएको बताए । ८ घण्टा काम गर्न नपाउँदा ढिलाई भएको बताए । उनीहरुले विद्युत पोल, खानेपानीका पाइपलाइन जस्ता संरचना सम्बन्धित निकायले समयमै नसार्दा निर्माण कार्यमा अवरोध भएको दुखेसो सुनाए ।
सांसद कृष्णभक्त पोखरेलले पहाड काटेर सडक बनाउने काममा पहिरो व्यवस्थपनबारे बजेटनै नपारिनु अनौठो भएको बताए । उनले यात्रुलाई सहज रुपमा यात्रा गर्ने वातावरण तयार गर्न सबैले चासो दिनुपर्ने बताए ।